समाज

सतुवा खेतीबाट मनग्य आम्दानी

पुस १०, २०७७

    भोजपुर : स्वदेशमा सम्भावना नदेखेर धेरै युवाहरु रोजगारीका लागि दिन प्रतिदिन विदेश गइरहेका छन्। तर, भोजपुर तिम्माका संगम राईले भने जडीबुटी खेतीबाट गाउँमै मनग्य आम्दानी गरिरहेका छन्। 

    संगमले गाउँमा नै सतुवा र अन्य जडीबुटी खेतीबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उनले ४५ लाख रुपैयाँ लगानीमा जडीबुटी खेती गरेका हुन्। ‘मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु,’ उनले भने, ‘जडीबुटीको  बिक्रीबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ। स्वदेशमा व्यवसायिक बन्न सके विदेशभन्दा धेरै आम्दानी गर्न सकिन्छ।’

    उनले संगम जडीबुटी उद्योग दर्ता गरेर विगत १० वर्षदेखि जडीबुटी खेती गरिरहेका छन्। करिब पाँच रोपनी क्षेत्रमा सतुवाको ३५ हजार विरुवा लगाएका छन्। सुतवा हाल प्रतिकिलो दश हजार रुपैयाँमा बिक्री हुने र विरुवा प्रतिगोटा २० देखि १०० रुपैयाँसम्म  बिक्री हुने राईको भनाइ छ।

    ‘अहिले बजारमा सतुवाको माग धेरै छ। मैले वर्षमा दुई लाखभन्दा बढी विरुवा अन्य ठाउँमा पठाउँदै आएको छु,’ संगमले सुनाए, ‘विगतमा प्रतिकिलो २२ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको सतुवाको मूल्य केही वर्षअघिबाट घटेको छ। यसपाली दश हजारसम्म बिक्री भइरहेको छ। बीउ प्रतिकिलो एक लाख रुपैयाँमा बिक्री हुन्छ।’

    सतुवाको खेतीमा संगमले पाएको सफलतापछि तिम्माका अधिकांश स्थानीय त्यसतर्फ आकर्षित छन्। उक्त व्यवसायमा लाग्ने अन्य किसानलाई आफूले सिकेको ज्ञान दिएर व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएको उनको भनाइ छ। उनले स्थानीयले उत्पादन गरेका जडीबुटीलाई संकलन गरेर बजारसम्म पु¥याउनको लागि सहयोग समेत गर्दै आएका छन्।

    तिम्माका ६५ भन्दा बढी घरपरिवारले सामान्य रुपमा तिराइतो, लोड सल्ला, सतुवा बिखुम्वालगायत जडीबुटीको खेती गरिरहेका छन्। यहाँ उत्पादित जडीबुटी बजारीकरणको जिम्मा समेत राईले नै लिएका छन्। उत्पादित बस्तु आफ्नै घरबाट बिक्री गर्न पाउँदा खुसी भएको स्थानीय खेमराज राउतले बताए।

    ‘हाम्रो क्षेत्रमा अधिकांश स्थानीयले सामान्य रुपमा भए पनि विभिन्न खाले जडीबुटी लगाएका छन्। सरकारले जडीबुटीको बजारीकरणमा खास ध्यान नदिएको भए पनि संगम जडीबुटी उद्योगले उत्पादित बस्तुलाई खरिद गरेर बजारीकरणमा सहयोग गर्दै आएको छ,’ राउतले भने, ‘यसले पनि हामीलाई व्यवसायमा लाग्न टेवा मिलेको छ, उत्पादन भएको जडीबुटी उहाँले नै घरमा नै आएर खरिद गरिदिनु हुन्छ।’

    वडाध्यक्ष नरबहादुर राईले वडा कार्यालयले पनि जडीबुटीको खेतीको विषयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाइरहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]