राजनीति

प्रचण्ड–नेपाल समूहकाे दाैडधुप : माइतीघर–निर्वाचन आयोग–बबरमहलसम्म

पुस १०, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आजदेखि संसद विघटनविरुद्ध सडक आन्दोलन सुरु गरेको छ।

    आज बिहान काठमाडौंको माइतीघर मण्डलाको सडकमै बसेर नाराबाजी गरेका उनीहरुले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड बोकेका थिए। प्रदर्शनका क्रममा उनीहरुले संसद अधिवेशन सुरु गर्, संवैधानिक सर्वोच्चता कायम गर्, असंवैधानिक कदम खारेज गरगायत नारा लगाएका थिए। प्रदर्शनमा अध्यक्षद्वय प्रचण्ड र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ता सहभागी भए।

    लगत्तै जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष प्रचण्डले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको थियो। पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र ओली समुहका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुर्‍याउँदैमा वैधानिकता नपाउने प्रचण्डको तर्क छ। सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाम र चुनाव चिह्न सूर्यमा कसैले आँखा लगाउन नसक्ने बताए।

    त्यस क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई वैधानिकता दाबी गर्दै गरिएको हस्ताक्षर बुझाइएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने विश्वास दिलाए। निर्वाचन आयोग परिसरमा कार्यकर्तालाई सम्बोधन गर्दै नेता योगेश भट्टराईले संसद पुनस्र्थापना नभएसम्म र आफूहरुले चुनेका प्रधानमन्त्री नभएसम्म सडक नछाड्ने उद्घोष गरे।

    निर्वाचन आयोगको कार्यालयबाट सीधै बबरमहलस्थित कार्की ब्याङ्केटमा आएर पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने काम गरेको आरोप लगाए।

    आफूहरु गणतन्त्रका लागि लडिरहेका बेला गणतन्त्र असम्भव छ भन्ने ओलीले अहिले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र राष्ट्रपतिले स्वीकार गरेपछि अहिले चुनौतीपूर्ण अवस्था सिर्जना भएको उनले बताए।  

    सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको कदम संविधान विपरित छ भन्नेमा सबैको एकमत भएकाले त्यसअनुसार सडकमा संघर्षहरु भइरहेको उल्लेख गरे। ७ दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी जोगाउन सर्वोच्च अदालतले पनि सही निर्णय दिनेछ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डले सुनाए।  

    यो समूहले संसद विघटनविरुद्ध पुष २५ गतेसम्म आन्दोलन घोषणा गर्दै संघर्षका कार्यक्रम सार्वजनिकसमेत गरेको छ। जस अन्तरगत भोलि सातै प्रदेशका कमिटीको बैठक गर्ने, पर्सी १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला र १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने तय भएको छ।

    यसैगरी पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुनेछ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन्।

    यसैगरी पुस १४ गतेसम्ममा सबै जनवर्गिय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र आवश्यकताअनुसारको भेला आयोजना हुने तथा यसबीचमा राजधानीसहित देशभर स्थानीय कार्यक्रमहरु स्थानीय कमिटी र पक्षले आयोजना गर्ने बताइएको छ।

    नेकपाले प्रवक्ता नारायाणकाजी श्रेष्ठको नेतृत्वको नेतृत्वमा संघर्ष समिति गठन भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]