काठमाडौँ: शून्य संख्यामा झरेको कोभिड -१९ का संक्रमित पुनः बढ्न थालेका छन्। पछिल्लो एक हप्तायता मात्रै काठमाडौँ उपत्यकामा दर्जनभन्दा ब...
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक आइतबार राति दूरबिनबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो।
अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा.तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट एपेन्डेक्टोमी शल्यक्रिया गरेको हो।
एपेन्डेक्टोमी भनेको एपेन्डिक्स हटाउने मध्यम शल्यक्रिया हो। एपेन्डिसाइटिस भएपछि एपेन्डेक्टोमी शल्यक्रिया गरेर उपचार गरिन्छ।
डडेल्धुरा अस्पतालमा पहिलो पटक दूरबिनबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको उनले बताए। अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो। तर, दूरबिनबाट अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको यो पहिलो पटक हो।
२० वर्षीया महिलाको एपेन्डिक्स हटाउने एपेन्डेक्टोमी शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले जानकारी दिए। ‘एक दिन अगाडि पेट दुख्यो भनेर अस्पताल आएपछि उहाँलाई हामीले चेकजाँच गरेका थियौँ।’ उनले भने, ‘चेकजाँच गर्दा एपेन्डिसाइटिस भएको थाहा पायौं र दूरबिन प्रविधिबाट उहाँको सफल शल्यक्रिया भयो।’
के हो एपेन्डिसाइटिस?
ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेन्डिक्स’ भनिन्छ। एपेन्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पीप भरिने हुन्छ।
समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। एपेन्डिक्स फुट्नु अगावै यसको शल्यक्रिया गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुने चिकित्सकहरू बताउँछन्।
एपेन्डिसाइटिस आकस्मिक रुपमा देखा पर्ने रोग हो। यो रोगले कुनै पनि बेला मानिसलाई च्याप्न सक्छ। यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले मानिसको ज्यानै जान साक्छ।
एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ र एपेन्डिक्सलाई शल्यक्रिया गरेर हटाउनु नै यसको उपचार हो।
यसको लक्षणको कुरा गर्दा नाइटो वरपर अचानक पीडा हुन्छ र तल्लो पेटको दाहिनेतिर पीडा सर्छ। अनि खोक्दा, हिँड्दा वा जिउ थतर्किंदा पनि पीडा बढ्छ। त्यसपछि चक्कर आउने, बान्ता आउने, खाना खान मन नलाग्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने जनरल सर्जन डा. श्रेष्ठ बताउँछन्।
एपेन्डिसाइटिसको उपचार नगर्दा गम्भीर जटिलता आउन सक्छ। एपेन्डिक्स फुटेमा पेटमा संक्रमण हुन सक्छ। त्यसो भएमा तत्कालै शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनुपर्छ र पेटको क्याभिटी सफा गर्नुपर्छ। एपेन्डिक्स फुटेमा पेटमा पीप जमेर संक्रमण हुन सक्छ। संक्रमण सफा गरेपछि शल्यक्रिया गरेर एपेन्डिक्स हटाइन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।