राजनीति

भक्तपुरमा नेकपाको अवस्था : सत्तामा रहेकाहरू ओली पक्षमा, नरहेकाहरू विपक्षमा

दुवै पक्ष बहुमत जुटाउने कसरत गर्दै

पुस १५, २०७७

    भक्तपुर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अनौपचारिक विभाजनसँगै भक्तपुरमा पनि बहुमत र अल्पमतको कसरत शुरू भएको छ।

    नेकपाका ओली र प्रचण्ड–माधव दुवै पक्ष अहिले आ–आफ्नो पक्षमा नेता कार्यकर्ता तान्ने होडबाजीमा लागेका छन्‌। दुवै पक्ष नगर, वडा र टोलटोलमा समेत भेला, गोप्य बैठक गर्दै जिल्लाका अगुवा कार्यकर्ता नेताहरूलाई विभिन्न प्रलोभन समेत दिएर आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन्‌।

    यो दौडमा नेकपा भक्तपुरका कतिपय नेता कार्यकर्ताहरू कित्ताकाट गरेर खुलेर पक्ष-विपक्षमा लागे पनि केही नेताहरू भने अझै 'पर्ख र हेर'को अवस्थामा छन्‌।

    दुवै पक्ष बहुमत दाबी गर्दै

    नेकपा भक्तपुरमा १४५ सदस्यीय जिल्ला समिति रहेको थियो। त्यसमा एक सदस्य सन्तोष राजभण्डारीको मृत्यु भएका कारण हाल १४४ सदस्य बाँकी छन्‌।

    ​जिल्ला समितिमा तत्कालिन नेकपा एमालेका ८३ र नेकपा माओवादी केन्द्रका ६२ जना मनोनित भएका थिए। विभाजनपछि कार्यसमितिमा दुवै पक्षले बहुमत भएको दावी गरेका छन्‌। 

    नेकपाको जिल्ला अध्यक्ष वचन देउजा पूर्व एमालेका हुन्। उनी अहिले पनि ओली पक्षमा छन्‌। जिल्ला सचिव डिपी ढकाल पूर्व माओवादी पक्षका हुन्। उनी प्रचण्ड–माधव पक्षमा छन्‌। देउजाले ओली पक्ष र ढकालले प्रचण्ड–माधव पक्षबाट संगठन विस्तारको नेतृत्व गरिरहेका छन्‌।

    भक्तपुरमा नेकपा विभाजनसँगै पूर्व माओवादीका नेताहरू प्रायः एक ठाउँमा उभिएका छन्‌। उनीहरू नेकपाको प्रचण्ड–माधव पक्षमा खुलेका हुन्‌‌।

    ​भक्तपुरका पूर्व माओवादी पक्षका नेता कार्यकर्ताहरू मध्ये गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ नजिकका केही नेता ओली पक्षमा लागेको स्रोतको दावी छ।

    पूर्व एमालेका नेताहरू भने दुवैतर्फ बाँडिएका छन्‌। पूर्व एमाले तर्फका नेता माधवकुमार नेपाल पक्षधर भनी चिनिएका जिल्ला कार्यसमिति सदस्यहरू रजन केसी, श्याम बस्नेत, अनिल श्रेष्ठ, दिपक विशुंके, पुरुषोत्तम लामिछाने, माइलाबाबु देउला, शिव बाला, प्रेमानन्द श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ र दीपेन्द्र थापालगायतका नेताहरू प्रचण्ड–माधव पक्षमा देखिएका हुन्‌।

    भक्तपुरमा प्रचण्ड-माधव पक्षले आफ्नो खेमामा जिल्ला कार्यसमितिका ८० सदस्य रहेको दावी गरेका छन्‌। उनीहरूले पूर्व माओवादीका ६२ र पूर्व एमालेका करिव दुई दर्जन गरी ८० को हाराहारीमा जिल्ला सदस्य आफ्नो पक्षमा रहेको दावी गरेका हुन्‌‌। 

    केन्द्रीय सदस्य महेश बस्नेतको दबदबा र उनको पेलाइका कारण पनि भक्तपुरका केही नेता कार्यकर्ताहरू आफ्नो पक्षमा आउन चाहेको, तर अहिले नै स्पष्टसँग खुल्न नचाहेको दावी प्रचण्ड–माधव पक्षको छ।

    उनीहरू पनि आफ्नो पक्षमा आए आफ्नो संख्या अझै बढ्नसक्ने प्रचण्ड–माधव पक्षका नेताहरूले दावी गरेका छन्‌।

    नेकपा फुटेपछि जिल्लाको अवस्था को कहाँ भनेर अहिलेसम्म खुलिनसकेको अवस्था भएपनि प्रचण्ड–माधव पक्षमा ७६ देखि ८० जना जिल्ला सदस्य आउने देखिएको डिपी ढकालले दावी गरे। उनले भने, ‘जिल्लामा ओली र प्रचण्ड पक्षको कुनै औपचारिक बैठक बसेको छैन। त्यही भएर अहिले नै को नेता कुन पक्षमा हो भनेर स्पष्ट खुलेको छैन। को कहाँ जाने भनेर निधो लगाउन अझै एक दुई दिन लाग्न सक्छ। यद्यपी हाम्रो खेमामा जिल्ला कार्यसमितिका ७५ भन्दा बढी ८० को हाराहारीमा आउने छ।’

    त्यसैगरी, ओली पक्षले पनि आफ्नो पक्षमा बहुमत भएको दावी गरेको छ। यो समूहले जिल्लाका अधिकांश पुराना र वरिष्ठ नेताहरू आफ्नो पक्षका रहेको भन्दै बहुमत भएको दावी गरेको हो। जिल्लामा पूर्व एमालेको अवस्था र पछिल्लो प्रभाव नै आफ्नो पक्षमा बहुमत भएको आधार रहेको यो पक्षको दावी छ।

    नेकपा जिल्ला अध्यक्ष समेत रहेका ओली पक्षका नेता वचन देउजाले विभाजनपछि सबैले आफ्नो पक्षमा बहुमत छ भन्नु स्वभाविक भएपनि भक्तपुरमा सबै नेता कार्यकर्ता कुन पक्षमा लाग्ने भन्ने नखुलेकाले यस्तै अवस्था छ भन्ने स्थित अहिले नभएको प्रतिक्रिया दिए।

    उनले पार्टी एकीकरणपछि पूर्व एमालेका कतिपय नेताहरूले पदीय जिम्मेवारी नपाएका कारण पनि अहिलेको परिस्थितिमा जिल्लाका धेरै पुराना नेताहरू मौन बसिरहेको जानकारी दिए। ‘उहाँहरूको मौनताका कारण पनि कुन पक्षको अवस्था कस्तो छ भन्ने बारे अहिले नै भन्न सकिने अवस्था छैन। केही दिनमा स्पष्ट होला,’ उनले भने।

    तीन केन्द्रीय सदस्य तीनतिर 

    साविक नेकपामा भक्तपुरका तीन जना केन्द्रीय सदस्य थिए। अहिले ती तीन सदस्य तीनतिर लागेका छन्‌।

    ​तत्कालिन नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रहेका सोमप्रसाद मिश्र र माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका दिलीपकुमार प्रजापति पार्टी एकीकरणसँगै केन्द्रीय सदस्य बनेका थिए। एकीकरणपछि केन्द्रीय सदस्य थप गर्ने क्रममा महेश बस्नेत पनि केन्द्रीय सदस्य बने। 

    जसमध्ये केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य बस्नेत ओली र जिल्ला इन्चार्ज समेत रहेका अर्का केन्द्रीय सदस्य प्रजापति प्रचण्ड–माधव पक्षमा लागेका छन्‌।

    ​जिल्ला सह इन्चार्जसमेत रहेका अर्का केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र भने खुलेका छैनन्। साविक एमाले छँदा माधव नेपाल पक्षीय नेता मिश्र अहिले मौन छन्।

    जनप्रतिनिधिको बहुमत ओलीको पक्षमा

    तत्कालिन नेकपा एमाले र माओवादीबाट निर्वाचित तीन तहका जनप्रतिनिधिहरूमध्ये अधिकांश ओली पक्षमा देखिएका छन्‌। प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, बागमती प्रदेशसभाका चार सदस्यमध्ये दुई र स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरू ओलीको पक्षमा देखिएका हुन्‌।

    भक्तपुरका ४ स्थानीय तह र जिल्ला समन्वय समिति मध्ये तीन नगरपालिकामा नेकपाका मेयर निर्वाचित छन्‌। दुई नगरपालिकाका उपप्रमुख पनि नेकपाका छन्‌ भने जिल्ला समन्वय समितिमा नेकपाको एकलौटी छ।

    नेकपाका तीन मेयरमध्ये दुई, सूर्यविनायकका बासुदेव थापा र मध्यपुर थिमिका मदनसुन्दर श्रेष्ठ ओली पक्षमा खुलेका छन्‌। तर, चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र कुनै पक्षमा खुलेका छैनन्। उनी 'पर्ख र हेर'को अवस्थामा देखिन्छन्‌।

    उपमेयरहरू सूर्यविनायकका जुना बस्नेत र चाँगुनारायणका विणा बास्तोला ओली समूहमा लागेका छन्‌। जिससका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवरलगायतका सदस्यहरू पनि ओली पक्षमै देखिएका छन्‌। नेकपा स्रोतका अनुसार भक्तपुरमा प्रचण्ड–माधव पक्षमा दुई जना प्रदेशसभा सदस्य र एकाध नगर सभा सदस्य बाहेक प्रायः जनप्रतिनिधि ओली पक्षमा देखिएका हुन्‌‌।

    भक्तपुरमा प्रदेशसभामा नेकपाका चार जना सांसदहरू छन्‌। ती मध्ये दुई जना प्रचण्ड–माधव र दुई जना ओली पक्षमा लागेका छन्‌। प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ प्रचण्ड पक्षमा लागेका छन्‌ भने शशिजंग थापा र सरस्वती बाटी ओली पक्षमा लागेका छन्‌। 

    तोड्ने भन्दा जोड्ने प्रयत्नमा छु : मिश्र

    केन्द्रीय सदस्य समेत रहेका चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र पार्टी विभाजनपछिको परिस्थितीमा मौन बसेका छन्‌। उनी कुनैपनि पक्षमा खुलेर लागेका छैनन्‌। नेकपा स्रोतका अनुसार उनलाई आफूतर्फ तान्न दुवै पक्षले प्रयास गरेपनि उनले तत्काल कुनै पक्षमा नखुल्ने बताउँदै आएका छन्‌। 

    उनी पहिले माधव नेपाल पक्षका हुन्। उनी नेपालकै कारण पूर्व एमालेमा वैकल्पिक केन्द्रीय सदस्य मनोनित भएका थिए। पार्टी एकतापछि उनी स्वतः केन्द्रीय सदस्य भए। उनी भक्तपुरबाट नेकपा एमालेको केन्द्रीय सदस्य हुने पहिलो नेता समेत हुनु। तर अहिले उनको अर्थपूर्ण मौनतालाई माधव नेपाल पक्षले पनि शंकाको घेरामा राखेको छ।

    त्यसैले नेकपाको प्रचण्ड–माधव पक्षले अहिले तत्कालको लागि मिश्रलाई आफ्नो पक्षमा आउन दवाब नदिने रणनीति लिएको नेकपा स्रोतले बताएको छ। मिश्रलाई केही समय दिएर स्वतन्त्रपूर्वक निर्णय लिन दिन नेकपा बाग्मती प्रदेश इन्चार्ज समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्यले भक्तपुरका नेताहरूलाई निर्देशन समेत दिएको स्रोतको दावी छ।

    मिश्रको मौनताले नेकपाका दुई पक्षलाई जिल्ला समितिका बहुमत पुर्‍याउन समेत सकस परेको नेकपा स्रोतले बताएको छ। मिश्रसँगै जिल्ला समितिका करिव एक दर्जन नेताहरू समेत नेकपाको विभाजनमा मौन बसेको स्रोतले बतायो।

    मिश्र स्वयंले भने आफू पार्टी एकतामा अडिग भएको प्रतिक्रिया दिएको छ। पार्टी विभाजनपछिको परिस्थिती र उनको आफ्नै पोजिसनबारे थाहाखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले भने, ‘नेकपा फुटेपछि ओली र माधव पक्ष लिने भन्दा पनि म जोड्ने पक्षमा छु। अन्तिमसम्म पनि जोड्ने कसरतमै लाग्नेछु।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]