राजनीति

प्रेस काउन्सिलले प्रकाशन गर्‍यो विभिन्न भाषाका शैली पुस्तिका

पुस १४, २०७७

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस काउन्सिल नेपालले प्रकाशन गरेका विभिन्न भाषाका आचारसंहिताले पत्रकार मात्र नभई नागरिकलाई समेत सजग बनाउने बताएका छन्।

    सोमबार प्रेस काउन्सिल नेपालका प्रकाशनहरू शैली पुस्तिका, आचारसंहिता (मैथिली र नेपालभाषा) तथा नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तक सार्वजनिक गर्दै मन्त्री गुरुङले आम नागरिकले मातृभाषामा नै आचारसंहिता अध्ययन गर्न पाउँदा यसको प्रभावकारिता बढ्ने बताए।

    काउन्सिलले नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्दै आएको आचारसंहिता मैथिली र नेपालभाषामा समेत अनुवाद गरेर प्रकाशन गरेको हो। यस्तै मन्त्री गुरुङले नेपालमा मैथिली पत्रकारिताको इतिहास खोतल्ने कार्य पहिलोपटक भएको भन्दै नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास ऐतिहासिक पुस्तक भएको बताए। उनले यस पुस्तकले पत्रकार मात्रै नभई आमनागरिक र भावी पुस्तालाई समेत इतिहास बुझ्न सहज हुने बताए। शैली पुस्तिकाले भाषागत त्रुटि कम गराउने उनको विश्वास थियो।

    मन्त्री गुरुङले आचारसंहिता प्रकाशनसँगै कार्यान्वयनको पनि अनुगमन गर्नेतर्फ ध्यानाकर्षण गराए। काउन्सिलले आफ्नो काम र उद्देश्यअनुरुप प्रकाशित पुस्तकले आचारसंहिताको अनुगमनलाई नै सघाउने मन्त्री गुरुङको भनाइ थियो। मन्त्री गुरुङले पत्रकारितामा स्वतन्त्रताको उपभोगसँगै कर्तव्यको पनि पालना गर्न आग्रह गरे। 

    प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा ५ र ७ अनुसार आमसञ्चार माध्यमहरूका लागि आचारसंहिता निमार्ण गरी अनुगमन गर्दै आइरहेको स्मरण गराए।  कार्यवाहक अध्यक्ष बुढाथोकीले भाषाशैलीमा एकरुपता नहुँदा एउटै संस्थाका विभिन्न प्रकाशनमा पनि फरक फरक भाषा शैलीको प्रयोग हुने र यसले संस्थागत गरिमालाई कमजोर बनाउने हुँदा काउन्सिलले शैली पुस्तिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको बताए। 

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलले भाषामा एकरुपता ल्याउनकै लागि शैली पुस्तिकाको प्रकाशन गरेको चर्चा गरे।  कार्यक्रममा बोल्दै नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तकका लेखक तथा आचारसंहिता मैथिली भाषा अनुवादक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मैथिली पत्रकारिताको इतिहास पुस्तक काउन्सिलको ऐतिहासिक प्रकाशन भएको उल्लेख गरे। 

    आचारसंहिता नेपालभाषाका अनुवादक, पत्रकार सुरेश मानन्धरले मातृभाषामा आचारसंहिता आउनु नै सवल पक्ष भन्दै सम्बन्धित भाषिका लागि आचारसंहिताको पालना र कार्यान्वयन अब झनै प्रभावकारी हुने विस्वास व्यक्त गरे।

    भाषाविज्ञ सह–प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीले नेपाली भाषाको हिजोको परम्परालाई नियमन गर्न समस्या भएकाले प्रेस काउन्सिलको शैली पुस्तिका र विभिन्न भाषामा प्रकाशित आचारसंहिताले भाषा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। 

    कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे, निर्वतमान सदस्य चेतनाथ धमला, नेपाल प्रेस इन्स्टिच्युटका पूर्व अध्यक्ष तीर्थ कोईराला, सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक ईश्वरराज दाहाल लगायतको उपस्थिति थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]