राजनीति

'बालुवाटारको बालुवा पेल्दा बरु तेल निस्केला तर ओली सुध्रेनन्'

निरंकुश बाटो समातेका ओली एण्ड कम्पनीकाे आयु पुग्यो : नेता नेपाल

पुस १४, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निरङ्कुश बाटो समातेका केपी ओली प्रवृत्तिको आयु पूरा भइसकेको बताएका छन्। संसद् विघटनविरुद्ध सडकमा उत्रिएको दाहाल–नेपाल समूहको विरोध प्रदर्शनमा उत्रिएका नेपालले राजतन्त्रको आयु सकिए जसरी नै निरङ्कुश बाटो समातेको केपी ओलीको आयु पुगेको बताएका हुन्।   

    ‘जसरी राजतन्त्रको आयु पुग्यो त्यसरी नै निरङ्कुश बाटो समातेका केपी ओली एण्ड कम्पनीको आयु पुग्यो,’ नेपालले भने, ‘पुस ५ गते वामपन्थी, कम्युनिष्ट पार्टीका एक नेताले जनताले बनाएका संविधानलाई खुट्टाले कुल्चेर प्रतिनिधिसभाको विघटन गरे। के त्यो राजनीतिक हिसाबले उचित छ? के त्यो संवैधानिक, जनभावनाको, राजनीतिक पार्टीको भावनाअनुरूप छ? के त्यो नेकपाको निर्णयअनुरूप छ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम हामीलाई स्वीकार्य छैन, जनतालाई, संविधानलाई स्वीकार्य छैन।’ 

    गणतन्त्रको विषयमा केपी ओलीले सधैँ खिसिट्यूरी गर्ने गरेको नेपालको आरोप छ। उनले प्रतिनिधिसभा भंग गरेकोप्रति नेकपाले आन्दोलनको उद्घोष गरेको पनि दाबी गरे। ‘यसैको विरोधमा हामीले आन्दोलनको उद्घोष गरेका छौँ। कमरेड केपी शर्मा ओलीले गणतन्त्रको सन्दर्भमा खिसिट्युरी गरेका थिए,’ उनले भने, ‘
    बयल गाडा चढेर वासिङटन पुग्न सकिँदैन। सडकमा सानो स्वरको आवाजले राजतन्त्र फाल्न सकिँदैन महामहिम केपी ओलीज्यूले भन्नुभएको थियो। उहाँलाई गणतन्त्रप्रति माया छैन।’

    पूर्व-प्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री ओलीले एकपछि अर्काे अनुचित कदम चालेको भन्दै आपत्ति जनाए। ‘एकपछि अर्काे अनुचित कदम चाल्नुभएको छ। संविधानको, लोकतन्त्रको मूल्य र मान्यताको विरुद्धमा, जनचाहनाको विरुद्धमा उहाँले कदम चाल्नुभएको छ। त्यसो हुनाले जनता सडकमा उत्रिएका छन्,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा उत्रिसकेको छ। जसपा पनि संसदमा उत्रिसकेको छ। साझा विवेकशील, वामपन्थी मोर्चा सबै वर्ग तप्का, बुद्धिजीवी, मजदुर किसान, विद्यार्थी सबै क्षेत्र उत्रिसकेको छ।’ 

    ओलीले पार्टीको बैठक, जनताको हित, निर्णय केही कुरामा पनि मतलब नगरेको उनको आरोप छ।  ‘स्वेच्छाचारी हाबी, भएको छ। गुटवादी प्रवृत्ति हाबी भएको छ। उहाँमा कम्युनिष्टमा हुनुपर्ने गुणहरू पनि छैनन्’ उनले भने, ‘नेकपाको तर्फबाट उहाँले अवैधानिक कदम चाल्नुभयो। पार्टीले अनुशासनको कारबाही गर्‍यो, अध्यक्षबाट हटायो अझै पनि सुध्रिनु हुन्छ कि भन्ने विश्वास छ। अझै पनि केन्द्रीय सदस्यबाट, हटाएका छैनौँ।’ उनले पार्टीका केही सदस्यहरूले ओलीलाई सुधार्न सकिन्छ भनेर प्रयास गरिरहेको पनि स्मरण गरे। तर, उनले ओली सच्चिनेमा आफूलाई विश्वास नभएको पनि संकेत गरे। 

    ‘बालुवाटारको बालुवा पेल्दा पेल्दा तेल निस्किन्छ कि तेल निस्किए म स्याबास भन्छु,’ उनले भने, ‘बांगो पुच्छरलाई तेल घस्दा घस्दा सोझो बनाउन सके म स्याबास भन्छु।’ ओलीले आफूले गल्ती गरेको स्वीकार गरेर आए आफूहरूले सबै कुरा बिर्सने नेता नेपालको भनाइ छ।  ‘उहाँले पश्चाताप, गल्ती भएको स्वीकार गर्नुहुन्छ भने हामी सबै कुरा बिर्सन्छौं,’ उनले भने, ‘त्यही बाटो अवलम्बन गर्नुहुन्छ भने भीरबाट खस्ने गाईलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।’  
    देशमा राजनीतिक सुनामीको संकेत देखिएको नेपालको भनाइ छ। 

    ‘सुनामीको संकेतहरू देखिँदै छन्। ज्ञानेन्द्र राजाको भइसक्यो। अब केपी ओली र केपी वंशको नाश भई छोड्नेछ । हाम्रो यो लडाइँ व्यक्तिविरुद्ध होइन’ उनले भने।  प्रतिनिधिसभा भंग भइसकेपछि प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति कसरी प्रधानमन्त्री भइरहन सक्छ? भन्दै उनले प्रश्न पनि गरे।

     ‘प्रतिनिधिसभा भंग भइसकेपछि प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैनन्। हाम्रो संविधानमा लेखेको छ। त्यो काम चलाउ मात्रै हुन्छ,’ उनले आपत्ति जनाउँदै भने, ‘प्रधानमन्त्रीले पदको ललिपप बाँडिरहेका छन्। मान्छेहरू र्‍याल चुहाउन थाल्छन्। म सुन्दैछु मेयर बनाउँछु, टिकट दिन्छु, राजनीतिक नियुक्ति दिन्छु भनेर लोभ बाँडिरहेका छन्।’ 

    उनले प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठक नेकपाको नभई गुटको भएको पनि बताए।  ‘सूर्य चिह्‍न नेपाल कम्युनिष्ट पार्टी जहाँ छ त्यहीँ छ बालुवाटारमा छैन,’ उनले भने, ‘प्रतिनिधिसभाको पुनःस्थापना हुन्छ हुन्छ हुन्छ।’ उनले केपी ओलीलाई सद्मुद्धि मिलोस् भन्दै शुभकामना पनि दिए।

    ‘सपूत भइदेऊन् भन्ने चाहना हुन्छ। सद्बुद्धि मिलोस् समयमै सच्चिनुभएन भने कसैले पर्खिने वाला छैन,’ उनले भने, ‘समयले कडा भन्दा कडा सजाय दिन्छ। प्रधानमन्त्री भइसकेपछि सुख कम दु:ख ज्यादा दिनुभएको छ। लोकतान्त्रिक आचरण, न कम्युनिष्ट संस्कार।’ तत्कालीन राजा ज्ञानेन्द्र र केपी ओलीको शैली एकै भएको र ढिलो चाँडो सकिएर जाने नेपालको भनाइ छ।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]