राजनीति

काठमाडाैंमा प्रचण्ड–नेपालको विरोध, काभ्रेमा अध्यक्ष र सचिवको पद गयो

नेकपा काभ्रे (ओली समुह)का अध्यक्षमा व्यञ्जु र सचिवमा पाण्डे

पुस १४, २०७७

    काभ्रे : नेकपा (प्रचण्ड–नेपाल) पक्षले काठमाडौँमा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध शक्ति प्रदर्शन गरेकै दिन काभ्रेमा भने नेकपा जिल्ला अध्यक्ष र सचिवलाई पदमुक्त गरिएको छ।

    नेकपा (ओली समूह) काभ्रेको मंगलबार बसेको जिल्ला कमिटी बैठकले पार्टी अध्यक्ष रुकु चौलागाईं र सचिव टोकबहादुर वाइबालाई पदमुक्त गर्ने निर्णय गरेको हो।  

    पदमुक्त गरेसँगै बैठकले नेकपा काभ्रेको अध्यक्षमा अशोक कुमार व्याञ्जु र सचिवमा नारायण पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको हो। धुलिखेल नगरपालिकाको मेयरसमेत रहेका व्याञ्जु र पाण्डे ओली समूहको नेकपाका केन्द्रीय सदस्य हुन्। उनीहरु गत ७ पुसमा ओलीले थप गरेको केन्द्रीय सदस्यहरुमा समेटिएका थिए।

    बैठकबाट पार्टी अध्यक्ष चयन बनेका अशोक व्यञ्जुले पार्टीको नेतृत्व गर्नुको सट्टा गुटगत गतिविधि गर्ने र गुटगत भेला आयोजना गरी पार्टी एकतालाई भाँड्नेलगायत संगठनात्मक पद्धतिविरोधी कार्यमा संलग्न भएका कारण जिल्ला कमिटी अध्यक्ष चौलागाई र सचिव टोकबहादुर वाइबालाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए।

    चौलागाई र वाइबाको असक्षमताका कारण पार्टीको समग्र कमिटी प्रणाली र पार्टी जीवन नै अवरुद्ध भएको आरोपसमेत लगाए। त्यस्तै, सचिव पाण्डेले १ सय २६ सदस्यीय जिल्ला कमिटीमा २ जनाको निधन र १ जना वैदेशिक रोजगारमा रहेकाले ६४ जना बैठकमा सहभागी भएको जानकारी दिए। 

    पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको अध्यक्षतामा बनेपाको उग्रचण्डी होटलमा सम्पन्न बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रीय कमिटीका सदस्य र बाग्मती प्रदेश कमिटीका सदस्यहरु उपस्थिति रहेका थिए। 

    अविश्वास प्रस्तावप्रति खेद व्यक्त, निर्वाचनसम्बन्धी ओलीको निर्णयको स्वागत 

    बैठकले पार्टी एकताको भावना र विधानविपरीत गुटबन्दी गरी बहुमत अल्पमतको आधारमा आफ्नै बहुमतको सरकार ढाल्न पार्टीभित्रैबाट अविश्वास प्रस्ताव दर्ता गर्ने कार्यप्रति खेद व्यक्त गरेका छन्।

    राजनीतिक अस्थिरता सिर्जना गरी मुलुकको समेत भविष्य अन्धकारतर्फ धकेल्ने प्रचण्ड–नेपाल गुटले फैलाएको भ्रममा नपरी कम्युनिष्ट आन्दोलनलाई संगठित र एकताबद्ध रहन जनता र सिंगो पार्टीपंक्तिमा अपिल गर्ने निर्णय गरेको छ।

    त्यस्तै, बैठकले नयाँ जनादेशको लागि संसद विघटन गरी प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्री ओलीको निर्णयको स्वागत गरेका छन्। साथै बैठकले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा केन्द्रित हुनसमेत आह्वान गरेको छ। 

    अध्यक्ष व्याञ्जुको अनुसार बैठकले काभ्रे जिल्लाबाट केन्द्रीय सदस्य भएका १२ जनालाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ। असामयिक निधन भएका पार्टी जिल्ला कमिटी सदस्यहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]