समाज

१२ वर्ष विदेशमा बिताए, घर फर्किएर बट्टाई पालनमा रमाए

छोटो समय र कम मिहिनेतमै राम्रो आम्दानीको स्रोत

पुस १५, २०७७

    धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालका तेजबहादुर चन्दले व्यावसायिक रूपमै बट्टाई चरा पालन थालेका छन्। ७ वर्ष साउदी अरब र ५ वर्ष अफगानिस्थानमा काम गरेका उनी कोरोना महामारीको बीचमा स्वदेश फर्किएर बट्टाई पालन सुरु गरेका हुन्।

    विदेशमा लामो समय दुःख गरेका चन्द स्वदेशमै व्यवसाय गर्ने र घर परिवारसँग बस्ने सोच बनाएका छन्। झण्डै तीन लाख बढी लागतमा बट्टाई पालन सुरु गरेका चन्दले यसलाई व्यावसायिकरूप दिन थालेका हुन्।

    पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी २ सय वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा चल्लाबाटै व्यवसाय शुरु गरेको उनको भनाइ छ।

    चन्द भन्छन्, ‘राम्रो हुँदै गएको छ, केही दिनमै यो व्यवसायलाई विस्तार गर्दै लाने तयारीमा छु, थप पाँच सय चल्लाको चल्ला अट्ने खोर निमार्णको तयारी भइरहेको छ। अहिले दुई सय चल्ला ठूलो भएर अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरणसमेत शुरु भइसकेको छ।’

    लकडाउनको समयमा स्वदेश फर्किएका चन्दलाई बट्टाई पालन सुरु गर्न डिमेघा कैलालीले सञ्चालन गरेको ‘कोभिड–१९ प्रभावितका लागि सामाजिक आर्थिक पुनरुत्थान कार्यक्रम’ ले ठूलो सहयोग गरेको सुनाए।

    युएनडिपीको आर्थिक सहयोग तथा भीमदत्त नगरपालिकाको समन्वयमा डिमेघा कैलालीद्धारा सञ्चालन भएको उक्त कार्यक्रममा ५ दिने उद्यमशीलता तालिम लिएको उनले सुनाए।

    तालिमपश्चात् चन्दलाई बट्टाई पालन व्यवसाय सुरु गर्न डिमेघा कैलालीले थप ५ दिने सीप विकास तालिम प्रदान गर्‍यो। दुवै तालिम लिएपछि उनी पूर्णरुपमा बट्टाई पालन व्यवसायमा होमिएका छन्। अहिले आफैँले ब्रुडिङ घर निर्माण गरी बट्टाईका चल्ला उत्पादनमा जोड दिएका छन्।

    आफ्नै सीप र स्थानीय स्रोतबाट तयार गरेको ब्रुडरबाट एक पटकमा ५ हजार चल्ला उत्पादन गर्ने क्षमता रहेको उनी सुनाउँछन्।  

    यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायोग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थालेका हुन्। अन्य व्यवसायभन्दा सजिलो, थोरै मिहिनेतमा धेरै आम्दानी लिन सकिने भएका कारण बट्टाई पालनमा आकर्षण भएको सुनाए।

    कुखुराको अण्डाभन्दा चार गुणा बढी पौष्टिक तत्व बट्टाईको अण्डामा पाइने हुनाले यसको अण्डा खान मानव स्वास्थ्यका लागि ज्यादै उपयुक्त हुने उनको भनाइ छ। मानव स्वास्थ्यका लागि औषधिको रुपमा समेत बट्टाईको अण्डा उपयोगी मानिएको र हाडजोर्नी दुःख्ने जस्ता समस्याबाट मुक्त हुने फाइदा रहेको उनले सुनाए।

    अहिले बट्टाईको अण्डा प्रतिगोटा रू १० देखि रू १५सम्म पर्छ। त्यस्तै, एक जोडी माउको रू ५०० पर्छ। बट्टाईको अण्डा तथा मासु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो।

    अहिले बट्टाई चराको अण्डाको माग बढी भएकाले किन्न आउने ग्राहकलाई पुर्‍याउन नसकिएको चन्दले बताए।

    के हो बट्टाई?

    बट्टाई एक प्रकारको चरा हो। अण्डा पनि चराको जस्तै सानो–सानो र छिर्केबिर्के रंगको हुन्छ। बट्टाइको मासु र अण्डाले दम, बाथ, युरिक एसिड, निमोनिया, सुगर, प्रेसर नियन्त्रणका साथै तेज दिमाग, शारीरिक वृद्धि, छालाको सुरक्षा र सुत्केरीका लागि विशेष फाइदा पुर्‍याउने गर्छ।

    यसको अण्डा नियमित रूपमा खाने गर्नाले तौल सन्तुलन, स्मरण शक्ति बढ्ने, हड्डी बलियो बनाउने जस्ता फाइदा हुन्छ। २५ देखि ३५ डिग्री सेल्सियसबीचको तापक्रममा बाच्ने बट्टाई पाँच हप्तामा मासु खानयोग्य हुन्छ भने चार हप्ताबाट अण्डा पार्न थाल्छ। दुई वर्षसम्म बाँच्ने बट्टाईले एक वर्षमा करिब तीन सयसम्म अण्डा दिन्छ।

    भालेलाई पाँच हप्तादेखि नै मासुका रूपमा प्रयोग गरिए पनि पोथीलाई भने अण्डाका लागि ५–६ महिनासम्म पाल्ने गरिन्छ। जिउँदो चराको एक रुपैयाँ प्रतिग्राम पाइने यो चरा २८ दिनदेखि बेच्न योग्य हुने र औसत तौल एक सय ५० ग्रामदेखि दुई सय ग्रामसम्मको हुन्छ। बट्टाईले एक महिना पुगेपछि नै अण्डा दिन थाल्छ।

    पक्षीपालनका लागि ७० प्रतिशत लगानी दानामा लागे पनि यसको दानामा लागत खर्च पनि निकै कम रहेको छ। बालकदेखि वृद्धसम्मले यसको मासु र अण्डाको स्वाद रुचाउने गर्छन्। यसको मासु र अण्डामा क्यालसियमको मात्रा प्रचूर हुने भएकाले मानिसले यसको प्रोटिन सहजै पचाउन पनि सक्छन्। हड्डी कमजोर भएका तथा वायुको समस्या भएकालाई पनि यो लाभदायी हुन्छ।

    जेपोनिका निकोट्रिक्स वैज्ञानिक नाम रहेको यो चरा सामान्यतया एक सय ९० देखि दुई सय १० ग्रामसम्मको हुन्छ। तराईका खेतबारीमा खुला रुपमा चर्न आउने यो चराको पछिल्लो समय व्यावसायिक पालन बढेको छ।

    तराईदेखि उच्च पहाडी जलवायुमा पनि यसको सहजै पालन गर्न सकिन्छ। मासुको स्वादका पारखीले यसको मासु र अण्डा दुवै रुचाउँछन्। यसको अण्डाको तौल १० देखि १२ ग्राम मात्र हुन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]