अर्थ

बाँकेमा सहकारीको बेथिति; दर्ता छन्, बित्तिय र ब्यवसायीक कारोबार छैन

Photo: pokharanews.com
साउन २, २०७३
    • विश्वराज पछल्डङ्ग्या
     

नेपालगञ्ज: सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेले ३३ वटा सहकारी संस्था खारेज गरेको छ। सक्रिय हुन पटक-पटक सूचना जारी गरेपनि अँटेर गरेका ३३ सहकारी संस्था खारेज गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य प्रकाशराज पौडेलले बताए। उनले अनुगमन, निरीक्षण, पत्राचार, पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत सक्रिय नभएका सहकारी संस्थालाई खारेज गरेको बताए। ‘हदैसम्मको लचकता अपनायौँ, तर सक्रिय हुन नमानेपछि संस्था खारेज गर्न बाध्य भयौँ,’ प्राचार्य पौडेलले भने। गत आवमा पनि ३० वटा सहकारी खारेज भएका थिए। 

लगातार २ बर्षसम्म साधारण सभा नगरेको, लेखा परिक्षण नगराएको, सहकारी डिभिजनलाई वार्षिक रुपमा बुझाउनुपर्ने प्रतिवेदन नबुझाएको, संस्थाको वित्तिय एवम् ब्यवसायिक कारोबार सन्तोषजनक नभएकोले सहकारी ऐन २०४८ को १४(३) र सहकारी संस्था दर्ता लेखापरिक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड २०६८ बमोजिम संस्था दर्ता खारेज गरिएको उनले बताए। ‘नीति, नियम र कानूनको परिधिभन्दा बाहिर रहेका सहकारी संस्थालाई जोगाई राख्न उचित नदेखिएपछि खारेज गर्ने निर्णय भएको छ,’ उनले भने। 

दर्ता खारेज भएका सहकारीमा सहरका भन्दा गाउँका बढि रहेका छन्। नेपालगञ्ज उपमहानगरपालिका भित्र संचालनमा रहेका ५ वटा सहकारी संस्था खारेजीमा परेका छन् । पौडेलका अनुसार नेपागञ्जका बाँके युनेस्को कृषि सहकारी संस्था लि, त्रिवेणी स्वास्थ्य सहकारी संस्था लि, मेहरवान उपभोक्ता सहकारी संस्था लि, सिभिल बचत तथा ऋण सहकारी संस्था र डायमण्ड बचत तथा ऋण सहकारी संस्था लि. को संस्था दर्ता खारेज गरिएको छ। उनले भने, ‘दर्ता गराएर नविकरण नगराउने, सरकारलाई राजस्व ठग्ने, उद्देश्य र लक्ष्यबिहिन भएका सहकारीको खोजी गरी कारवाही प्रक्रिया स्वरुप संस्था दर्ता खारेज गरेका छौँ, निस्कृय सहकारी संस्था खोज्ने क्रम जारी छ, फेला परे तिनिहरुलाई पनि कारवाही गर्छौँ।’

बाँकेमा ३९५ वटा सहकारी दर्ता छन् । तीमध्ये जिल्लामा हाल २१४ वटा सहकारी संस्थान सक्रिय रहेको र केही सुधारोन्मुख र केही निस्कृय रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ । ‘निस्कृय सहकारीलाई सक्रिय हुन र समस्याग्रस्त सहकारीलाई सुधारोन्मुख बनाउन सचेत गराएका छौँ, सुधारको समय दिएर सच्चिन निर्देशन दिइएको छ,’ प्राचार्य पौडेलले भने, ‘तोकिएको समयभित्र नसच्चिए संस्था दर्ता खारेजी प्रक्रिया अगाडी बढाइने छ ।’

बाँकेमा सबैभन्दा धेरै १७३ वटा साना किसान कृषि सहकारी संस्था दर्ता भएकोमा ८७ वटामात्र सक्रिय भएको डिभिजन कार्यालयले जनाएको छ। साना किसान सहकारीमध्ये २६ वटा सुधारोन्मुख, ५९ वटा निस्कृय र एउटा समस्याग्रस्त अवस्थामा रहेको पौडेलले बताए। निस्कृयको सूचीमा पर्ने बहुउद्देश्यीय सहकारी संस्थापनि धेरै छन्। सहकारी डिभिजन कार्यालयका अनुसार ८८ वटा बहुउद्देश्यीय सहकारी संस्था मध्ये ५५ वटामात्र सक्रिय छन्। 

बाँकेमा बचत तथा ऋण सहकारी संस्था खुलेपनि निस्कृय भएका कारण सर्वसाधारणलाई सेवा दिन नसकेर बन्द हुने क्रम जारी छ। निस्कृय भएका ६ वटा बचत तथा ऋण सहकारी संस्थालाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले दर्ता खारेज गरेको छ । ८३ वटा बचत तथा ऋण सहकारी संस्था मध्ये ४२ वटा ऋण सहकारी संस्था बन्द हुने अवस्थामा पुगेका छन्। 

पौडेलका अनुसार हाल १३ वटा बचत तथा ऋण सहकारी संस्था सुधारोन्मुख, २५ वटा निस्कृय र ४ वटा समस्याग्रस्त अवस्थामा पुगेका छन्। ‘काम नगरी सरकारी सेवा लिने सहकारी संस्थालाई कुनै पनि मानेमा छुट दिइने छैन,’ प्राचार्य पौडेलले भने, ‘धेरैजस्तो सहकारी संस्थाहरू नविकरण, आर्थिक प्रतिवेदन नबुझाएर सरकारी सेवा लिएको पाइयो, अब त्यस्तालाई छुट दिइने छैन।’ बाँकेमा दर्ता भएका ५ वटा दुग्ध सहकारी संस्था मध्ये २ वटामात्र सक्रिय छन्।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]