स्वास्थ्य

‘श्रीमानलाई कसरी बचाउनू ? भगवान् भरोसामा छु’

मेची कोभिड अस्पतालमा छैनन् जनशक्ति र अक्सिजन

बैशाख २६, २०७८

    झापा : कोरोना संक्रमित श्रीमानलाई कसरी बचाउनु भन्दै उनका श्रीमती अहिले कोभिड उपचार केन्द्रमै छटपटाइरहेकी छन्।

    भद्रपुर नगरपालिका-१० निवासी ५० वर्षीय श्रीमानलाई उनकी श्रीमती माया आफैंले शनिबार बेलुका साढे ७ बजे भद्रपुर ८ स्थित मेची कोभिड-१९ उपचार केन्द्रसम्म लिएर आएकी थिइन्।

    हिजो बेलुका श्रीमानलाई उपचार केन्द्रमा ल्याए पनि अहिलेसम्म केन्द्रमा खटिने चिकित्सक तथा नर्सको टोलीले आएर नहेरिँदा उनी तनावमा छिन्। श्रीमानको उपचारमा कोही नआएपछि श्रीमानसँगै कुरुवा बसेकी मायाले अन्ततः सञ्चारकर्मीलाई गुहार्न पुगिन्। त्यसपछि उनी थाहाकर्मीको सम्पर्क आइन्।

    थाहाकर्मीसँगको फोन वार्तालापमा मायाले रुँदै व्यथा सुनाइन्। ‘मेरो श्रीमानलाई कसरी बचाउनू, अब भगवान् भरोसामा छौँ, मेरो जस्ता पीडा अरू कसैले पनि भोग्नु नपरोस्,’ उनी भक्कानिन थालिन्।

    सात दिनअघि श्रीमानलाई ज्वरो आएपछि मेची अस्पतालका चिकित्सकलाई देखाएर घर ल्याएको उनी बताउँछिन्। भनिन्, ‘ज्वरो जाती नभई झन् बल्झिँदै गएपछि मेची अस्पतालमा लगेर श्रीमानको पिसिआर परीक्षण गराएका थियौँ, तीन दिनपछि आएको पिसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो, कोरोना पुष्टि भएपछि श्रीमानलाई एक दिन होम आइसोलेसनमै राखेर रेखदेख गर्यौं,' उनले भनिन्।

    ‘होम आइसोलेसनमा राख्दा श्रीमानको श्वासप्रश्वास समस्या आएपछि म अत्तालिएँ, त्यसपछि मेचीको कोभिड उपचार केन्द्रमा भर्ना गर्नुपर्‍यो भनेर सबैतिर सोधपुछ गर्न थालें, अस्पतालले सङ्क्रमितका लागि बेड छैन भनिदियो, त्यसपछि मेयर सा'बलाई फोन गरें, उहाँले पनि मेचीमा बेड छैन, अन्यत्र लैजानुस् भनिदिनुभयो,’ उनले,' उनले रुँदै सुनाइन्। 

    उनी थप्दै गइन्, ‘त्यसो भनेपछि म झन् अतालिएँ, म जे हुन्छ होस् भन्दै एम्बुलेन्सलाई फोन गरें, दिउँसो २ बजे फोन गरेको एम्बुलेन्स बेलुका ७ बजे घर आइपुग्यो, त्यसपछि एम्बुलेन्समा हालेर श्रीमानसँगै म पनि मेची कोभिड उपचार केन्द्र पुगें, अस्पतालको नयाँ भवनमा कोभिड उपचार केन्द्र बनाइएको छ। एम्बुलेन्सले उपचार केन्द्रको गेटमै लगेर छाडिदियो, त्यहाँबाट उनलाई दुईतले बेडसम्म पुर्‍याउने कोही थिएन, आफैंले श्रीमानलाई जसोतसो सिँढीमा घिसार्दै बेडसम्म पुर्‍याएँ,' उनले हमीसँग दुःख बिसाइन्। 

    उनका अनुसार श्रीमानलाई राखिएको ठाउँमा १३ वटा बेड खाली थियो, उनले एउटामा श्रीमानलाई राखिन्। श्रीमानलाई अक्सिजनको खाँचो भयो। कुनै बेडमा पनि अक्सिजन थिएन। अक्सिजनका लागि हारगुहार माग्न थालिन्।

    छेउमै रहेको एक महिला सङ्क्रमितको अक्सिजन सिलिण्डर थियो। संक्रमित महिलाका छोराले त्यो सिलिण्डर मायाका श्रीमानलाई लगाइदिए। त्यसपछि श्रीमानलाई केही सन्चो महसुस भयो।

    ‘अक्सिजन नहुनु, अक्सिजन लगाउने मान्छे नहुनु, चिकित्सक तथा नर्स नआउनु यस्तो पीडा मैले कहिल्यै भोगेकी थिइनँ,’ उनले रुँदै भनिन्।’

    उनका अनुसार बेलुका ७ बजेदेखि दिउँसो १२ बजेसम्म श्रीमानलाई हेर्नसमेत कोही आएनन्। ‘यस्तो हरिबजोक र हेलचेक्र्याइँबीच कसरी सङ्क्रमितको उपचार भइरहेको छ, म आफैं छक्क परिरहेको छु, योभन्दा राम्रो त घरमै सङ्क्रमितको उपचार गराउनु ठिक हो, मेरो जस्तो पीडा अरू कसैले पनि यहाँ आएर भोग्नु नपरोस्,’ उनले थपिन्।

    खानाको पनि व्यवस्था रहेनछ, घरबाट छोरालाई दिएर खाना मगाइरहेका छौ, संक्रमित श्रीमानलाई आफैंले हेरचाह गरिरहेको उनले बताइन्। चिकित्सकलाई फोन गर्दा उल्टै हप्काउने गरेका उनी बताउँछिन्।  

    त्यस्तै मेचीनगर नगरपालिका-२ का एक संक्रमित महिलाको पनि व्यथा त्यस्तै छ। उनको हेरचाहका लागि उपचार केन्द्रमा कोही नभइदिएपछि उनकै १० वर्षीया छोरा अहिले आमाको हेरचाह गरिरहेका छन्।

    ‘सात दिन भइसक्यो आमाको हेरचाह म आफैंले गरिरहेको छु,’ बालकले भने, ‘चिकित्सक कहिले आउँछन्, कहिले जान्छन् थाहा पनि हुँदैन, यहाँ अक्सिजनको पनि समस्या छ, धन्न मैले अक्सिजन लगाउन र खोल्न जानेको छु, त्यही भएर त्यहाँ बसेका अन्य सङ्क्रमितलाई पनि सहज भइरहेको छ,' उनले भने। 

    मेची कोभिड उपचार केन्द्र ७५ शय्या र २५ वटा अक्सिजन सिलिन्डर रहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए। ७५ शय्यामा हाल ६१ जना कोभिडका बिरामी रहेका उनले बताए।

    ‘केन्द्रमा रहेका बिरामीको उपचारमा एक जना मेडिकल अफिसर खटाइएको छ,’ उनले भने, ‘त्यो पनि बिहान र बेलुका र आवश्यकता परेमा मात्र जान्छन्।’ नर्सको अभाव रहेकोले उपचार केन्द्रमा चाहिने अनुसारको नर्स खटाउन नसकिरहेको उनले जनाए।

पार्थ मण्डल

मण्डल थाहा खबरका झापा (भद्रपुर) समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]