स्वास्थ्य

कोरोना परीक्षणको रिपोर्ट कुर्दाकुर्दै दुई जनाको मृत्यु

स्वास्थ्य शाखा प्रमुख भन्छन् : बिहेपछि कन्ट्याक ट्रेसिङमा पर्नुभएको थियो

बैशाख ३१, २०७८

    गोरखा : शुक्रबार पालुङटार नगरपालिका-२ सिमपानीका ६५ वर्षीय रामचन्द्र बस्नेतलाई करिब १ बजेदेखि श्वासप्रश्वासमा समस्या देखियो।

    परिवारका सदस्यले करिब १ः ४५ बजे आँपपिपल अस्पताल पुर्‍याए। एक्कासि स्वास फेर्न अप्ठ्यारो भयो भनेपछि उनलाई अस्पताल लगिएको थियो। तर बस्नेतलाई करिब २ः४० बजे अस्पतालले मृत घोषणा गरिदियो।

    पालुङटार नगरपालिकाका स्वास्थ्य शाखाका दिपेन्द्र गिरी भन्छन्, ‘वैशाख २७ गते पिसिआर परीक्षणका लागि प्रदेश स्वास्थ्य निर्देशनालयमा उहाँको स्वाब पठाएका थियौँ। तर, अहिलेसम्म रिपोर्ट आइसकेको छैन। उहाँ उच्च रक्तचाप र मुधुमेहको बिरामी पनि हुनुहुँदो रहेछ।’

    गिरीका अनुसार बस्नेत हप्ता दिनअघि गाउँमा भएको एक बिहेमा सहभागी थिए। उक्त बिहेमा जन्ती आएका काठमाडाैं, चितवनका मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस गाउँका मानिसहरुको स्वाब संकलन गरिएको थियो।

    ‘बिहेमा आएका ८-१० जनालाई कोरोना लागेको भन्ने सुुनेपछि हामीले त्यस गाउँका मानिसको स्वाब संकलन गरेका थियौँ। ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। रामचन्द्रजीको पनि रिपोर्ट आउन बाँकी नै छ। तर, डाक्टरले हृदयघातका कारण मृत्यु भएको भनेका छन्। हामीले स्वास्थ्य निर्देशनालयमा खबर गरेका छौँ। कोरोना संक्रमण भएको थियो या थिएन रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’

    बस्नेतको शव अन्त्येष्टिका लागि कोरोना परीक्षणको रिपोर्ट कुरिरहेको उनले जानकारी दिए।

    बस्नेतको जस्तै शहीदलखन गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय बाबुराम लामिछानेको पनि कोरोना रिपोर्ट नआउँदै आज उपचार क्रममा मृत्यु भएको छ। परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि गत वैशाख २८ गते उनले स्वाब दिएका थिए।

    तर, स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडाैंको टेकु अस्पताल पुगेका उनको मृत्युपछि मात्रै कोरोना रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि लामिछाने उपचारका लागि गत २९ गते काठमाडाैं पुगेका थिए। 

    स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ भन्छन्, ‘उहाँको परिवारका सदस्य उपचारका लागि चितवनमा जाँदा कोरोना संक्रमित हुनुभएछ। त्यसपछि उहाँको कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो। तर, मृत्यु भइसकेपछि मात्रै रिपोर्ट पोजेटिभ आयो।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]