स्थानीय निर्वाचन-२०७९

विवाह भोजले बाग्लुङमा फैलायो कोरोना, एक सातामा एकै घरका चारजनाको मृत्यु

जेठ २, २०७८

    बाग्लुङ : बाग्लुङमा अहिले कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भइसकेको छ। एक साताअघिसम्म सक्रिय संक्रमितको संख्या १०० सेरोफेरो थियो। संक्रमितको संख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन्। 

    वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा संक्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो। 

    वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो। संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना संक्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो। परिवारका अन्य सदस्य पनि संक्रमित भएका छन्। थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा संक्रमण पुष्टि भयो। यसले संक्रमण बढाउने कारण विवाह रहेको पुष्टिसमेत गर्दछ। 

    संक्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको संक्रमणकै कारण मृत्यु भएको हो। वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घटना भएको स्थानीयवासीसमेत बताउँछन्। 

    अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका चारजनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो। मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो। उनकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार रातिनै मृत्यु भएको छ। यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ। 

    अधिकांश संक्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका कारण बडिगाड–४ मा अत्यधिक मात्रामा संक्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए। यद्यपि, सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो। 

    यस क्रममै लापरवाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बाग्लुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो  सातजना मात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो। 

    त्यसपछि सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब संकलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बाग्लुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए। सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जनाको परीक्षणमा १५ जनामा संक्रमण फैलिएको छ। 

    ‘जिल्लामा संक्रमणको दर तीव्ररूपमा फैलनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो,’ जिसीले भने, ‘सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म समस्या हुन्छ, राज्यको नियम उल्लङ्घन हुँदा समस्या हुन्छ।’

    ताराखोलामा समेत विवाह भोजकै कारण कोरोना बढी फैलिएको पाइएको छ। जिल्लामा कोरोनाको दोस्रो लहर शुरु भएर संक्रमण तीव्र फैलिन थालेपछि आगामी जेठ १५ सम्म निषेधाज्ञा गरिएको छ। कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन्।

    ‘कोरोना संक्रमण फैलिँदो क्रममा छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिदिनुस् भनेर बारम्बार निर्देशन र अनुरोध गरिरह्यौँ तर नागरिकले बेवास्ता र लापरवाही गर्दै भिडभाड हुने कार्य गरेकैले अहिले डरलाग्दो अवस्था आएको छ,’ प्रजिअ कार्कीले भने, ‘अब जेठ १ गतेदेखि विवाह घरमै सीमित राख्न निर्देशन गरिएको छ, अटेरी गरेमा तुरुन्तै कारबाही गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]