अर्थ

निषेधाज्ञामा पनि आयात निर्यात कायमै, वीरगञ्जबाट मात्रै ७ हजार १४१ सवारी नेपाल प्रवेश

९९६ वटा मात्र मालवाहक सवारी बाहिरिए

जेठ २, २०७८

    पर्सा  : आयातमा निर्भर मुलुकको प्रमुख स्थलमार्गबाट निषेधाज्ञाको समयमा पनि ठूलो संख्यामा मालवाहक सवारी नेपाल भित्रिएका छन्। अरू जिल्लामा निषेधाज्ञा लगाएर सुनसान भए पनि पर्सा जिल्ला भने आयात निर्यातको कारण अन्य जिल्लाको तुलनामा सुनसान नभएको हो।   

    दोस्रो लहरको कोरोना संक्रमण उल्टिएर आएपछि अन्य जिल्लामा जस्तै पर्सा जिल्लामा पनि निषेधाज्ञा भने जारी नै राखिएको छ। तथापि यो जिल्ला चकमन्न भने हुन पाएको छैन। मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज र सुख्खा बन्दरगाह जिल्लाको सदरमुकाम वीरगन्जसँगै छ। आयात निर्यात निर्वाध रुपमा यहीँबाट निषेधाज्ञाको समयमा पनि चलिरहेको व्यवसायीहरुले बताए। 

    भन्सारका एक कर्मचारीसमेत निधन

    आयातमुखी अर्थतन्त्र बोकेको मुलुकको प्रमुख प्रवेशद्वार तथा देशको धमनी वीरगन्जस्थित नेपाल भारत एकीकृत भन्सार जाँच चौकी (आइसिपी) बाट निषेधाज्ञाको १६ दिनमा पनि मालवाहक सवारीमा खाद्यान्नलगायत उद्योगका कच्चा पदार्थ र उपभोग्य विभिन्न मालवस्तु आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए।

    नेपाल प्रवेश गरेका ती भारवहन सवारीको भन्सार जाँचपास गराउन, सम्बन्धित ठाउँमा पठाउन निषेधाज्ञामा यो जिल्लालाई चुपचाप बस्न छुट छैन। कोरोनाको दोस्रो संक्रमणकालमा भन्सारमा नियमित काम गर्नैपर्ने भएपछि संक्रमित भएका वीरगन्ज भन्सारका १९ कर्मचारीमध्ये ५५ वर्षीय एक कर्मचारीको त गएको वैशाख २८ गते निधन पनि भएको छ। 

    आयात निर्यात निरन्तरताका लागि केन्द्रको सधैं दबाब

    केन्द्र सरकारले नै जिल्ला प्रशासन कार्यालयलाई आयात निर्यात नियमित राख्न जस्तोसुकै समयमा पनि निर्देशन दिने गरेको छ। राजधानी काठमाण्डौभन्दा नजिकको नाका भएर पनि यो नाका रहेको ठाउँमा केन्द्रको दबाब अन्य जिल्लाको तुलनामा बढी पर्छ। मधेश आन्दोलनको ६ महिने बन्दीमा सेना परिचालन गरी वीरगन्ज भन्सार र सुख्खा बन्दरगाहबाट आयात निर्यात निरन्तर गरिएको कारण पनि यही भएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले खुलासा गरे।

    १६ दिनमा ७ हजार १४१ मालवाहक सवारी प्रवेश

    वीरगन्जमा अवस्थित नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी) बाट निषेधाज्ञा जारी भएको गएको वैशाख १६ गतेदेखि १६ दिनमा नै ७ हजार १ सय ४१ मालवाहक सवारी नेपाल भित्रिएको आइसिपीको व्यवस्थापन हेरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले बताए। निषेधाज्ञा सुरु भएका १६ दिनमा सबैभन्दा बढी गएको वैशाख १७ गते ६ सय ३५ वटा मालवाहक सवारी नेपाल भित्रिए उनले भने।

    त्योसँगै वैशाख २१ गते ५ सय ४३ वटा, २४ गते वैशाखमा ५ सय ३१ वटा, १९ गते वैशाखमा ५ सय २५ वटा, बैशाख २८ गते ५ सय २० वटा मालवाहक सवारी नेपाल भित्रिए आइसिपीको व्यवस्थापन प्रमुख ज्ञवालीले बताए। निषेधाज्ञाका समयमा अन्य समयमाभन्दा थोरै मात्र कम मालवाहक सवारी भित्रिएको उनको भनाइ छ।

    अन्य समयमा ७ सयसम्म भित्रिन्थे

    सामान्य अवस्थामा दैनिक पाँच सयदेखि ७ सयको हाराहारीमा मालवाहक सवारी मुलुक भित्रिँदै थिए। निषेधाज्ञाको समयमा थोरै कम मालवाहक सवारी मुलुक भित्रिँदै छन्। यो समयमा वीरगन्ज नाकाको आइसिपीबाट ८३ वटा नयाँ सवारी पनि नेपाल भित्रिएका छन्। तीमध्ये वैशाख २८ देखि ३१ गतेको बीचमा मात्र ८ वटा त एम्बुलेन्स मात्र भित्रिएको आइसिपीको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। 

    ९९६ वटा मात्र मालवाहक सवारी बाहिरिए

    नेपालबाट भारततर्फ भने यो अवधिमा कुल ९ सय ९६ वटा मात्र मालवाहक सवारी बाहिरिएका छन्। आयात निर्यातको तुलना गर्ने हो भने मुलुकको प्रमुख भन्सार नाकाबाट बाहिरिएका मालवाहक सवारी भित्रिएकाभन्दा ७ सय १६ दशमलव ९६ प्रतिशत कम भएको आइसिपीको इन्टरमोडल यातायात विकास समितिको तथ्यांकले पुष्टि गरेको छ। यो तथ्यांकले मुलुक आयातमा मात्र निर्भर छ भन्ने पुष्टि गरेको वीरगज उद्योग वाणिज्य संघले पनि जनाएको छ।  

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]