स्थानीय निर्वाचन-२०७९

कचनकवलमा छैन परीक्षण किट र अक्सिजन सिलिन्डर, जाँच्न पनि अन्यत्र जाँदैछन्‌ स्थानीय

जेठ ३, २०७८

    झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा एन्टिजेन किट, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री अभाव भएको छ। 

    पहिलो लहरमा कोरोना भाइरसको ‘हटस्पट’ बनेको जिल्लाकै कचनकवलमा यसपटक स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको हो। अहिले संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न त्यहाँका स्वास्थ्यकर्मीहरूले समस्या भोगिरहेका छन्‌।

    ​करिब दुई महिनाअघि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय झापामार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई १०० थान एन्टिजेन किट उपलब्ध गराएको थियो। 

    १०० थान एन्टिजेन किट सकिएको १५ दिन बित्न लाग्दासमेत किट नपाउँदा संक्रमित भएका व्यक्तिको परिवारजनको कोरोना  परीक्षण गर्न समस्या उत्पन्न भएको स्वास्थ्य शाखाका प्रमुख जागेश्वर यादवले जानकारी दिए। एन्टिजेन किट नहुँदा अहिले पालिकावासी मेची अञ्चल अस्पताल भद्रपुर धाइरहेका छन्।

    'गाउँपालिकामा एन्टिजेन किट हुँदा शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरी दुई घण्टाभित्रै रिपोर्ट उपलब्ध गराउन सक्थ्यौँ,' शाखा प्रमुख यादवले भने, ‘अहिले त्यो अवस्था गाउँपालिकासँग छैन, मेची  अस्पताल पुगेर पीसीआर परीक्षण गर्नु परेको छ, त्यहाँको रिपोर्ट दुई/तीन दिनमा आउँछ, यसले संक्रमित पहिचानमा ढिला भइरहेको छ।’ 

    जिल्लामा पूर्ण निषेधाज्ञा जारी भएकोले शंकास्पद व्यक्ति पीसीआर परीक्षणका लागि स्वास्थ्य शाखाको सम्पर्कमा आउने गरेको बताउँदै उनले भने, ‘एक दिनमा ५/६ जना निरन्तर सम्पर्कमा आइरहेका छन्, एन्टिजेन किट भएको भए उनीहरूलाई अन्यत्र पठाउन पर्दैनन् थियो।’

    किटका लागि प्रदेश तथा संघीय सरकारलाई पत्राचार गरिरहेको उनले बताए। ‘सरकारसँगै किट अभाव छ, गाउँपालिकाले खरिद गर्ने निर्णय गरे पनि झापाका सर्जिकल पसलमा पनि छैन,’ उनले भने।

    गाउँपालिकामा हालसम्म ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। एक जना बिएण्डसी अस्पताल बिर्तामोड र दुई जना मेची कोभिड उपचार केन्द्रमा उपचाररत रहेका छन्। त्यसमध्ये १० जना निको भइसकेका छन्। ३३ जना होम आइसोलेसनमा बसेका छन्। एक जनाको मृत्यु भएको छ।

    संक्रमित पुष्टि भएका सबै स्थानीय हुन्। पहिलो चरणमा गाउँपालिकाभित्र १९३ जनामा संक्रमण पुष्टि भएकोमा दुई जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।

    छैन गाउँपालिकामा अक्सिजन सिलिन्डर

    दोस्रो लहरको संक्रमण फैलिएसँगै गाउँपालिकाले सङ्क्रमितका लागि पाठामारी स्वास्थ्य चौकीमा १६ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ।

    त्यो आइसोलेसन सेन्टर पनि नाम मात्रको छ। न त त्यहाँ अक्सिजन सिलिन्डर छ, न त आवश्यक स्वास्थ्य सामग्री नै! प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सानो तीनवटा अक्सिजन सिलिन्डर मात्रै छ, स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले भने, ‘स्वास्थ्य केन्द्रमा रहेको सिलिन्डरले मात्र पुग्दैन, आइसोलेसन सेन्टरमा एउटा पनि सिलिन्डर छैन।’

    अक्सिजन सिलिन्डर मागको लागि गाउँपालिकाले प्रयास गरिरहेको बताउँदै उनले भने, ‘हालसम्म कहिँकतैबाट सिलिन्डर उपलब्ध हुन सकेको छैन, केही सङ्ख्यामा सिलिन्डर कहीँ कतैबाट सहयोग पर्याप्त भएको भए गाउँवासीलाई सहज हुने थियो।’ उनका अनुसार अहिले सङ्क्रमितको सङ्ख्या न्यून छ, ह्वातै बढेको अवस्थामा गाउँपालिकाले यस्तै अवस्थामा थेग्न सक्दैन। 

    त्यति मात्र नभएर गाउँपालिकाका स्वास्थ्यकर्मीले एउटै सर्जिकल मास्क ४–५ दिन लगाउन बाध्य छन्।  गाउँपालिकामा नहुँदा बिर्तामोडको सर्जिकल पसलबाट १२ सयवटा मास्क खरिद गरी ल्याएको बताउँदै उनले भने, ‘त्यो पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गर्दा सात दिन पनि पुग्दैन।’

    एन्टिजेन किट, अक्सिजन र स्वास्थ्य सामग्री उपलब्ध गराइदिन संघीय र प्रदेश सरकार लगायत अन्य संघसंस्थासँग गाउँपालिकाले अनुरोध समेत गरेको छ।

पार्थ मण्डल

मण्डल थाहा खबरका झापा (भद्रपुर) समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]