समाज

निषेधाज्ञा लागेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

जेठ २०, २०७८

    बैतडी : निषेधाज्ञाका कारण बैतडीका सञ्चालन हुने भनिएका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरू प्रभावित भएका छन्। उक्त कार्यक्रम अन्तर्गत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका थिए।

    उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरूमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि प्रवर्द्धन, सिकाई सामाग्री उपलब्धि अभिवृद्धि, विशेष विद्यालय र भौतिक पूर्वाधार विकास लगायत योजना निर्माणको काम हुँदैथियो।

    असार मसान्तसम्ममा नै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएपनि निषेधाज्ञाका कारण कामहरू प्रभावित भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए। 'निषेधाज्ञाका कारण उक्त अवधिमा निर्माण सम्पन्न हुने सम्भावना छैन,' उनले भने, ‘निर्माण सामग्री ढुवानीको समस्या छ, ढिला गरी बजेट विनियोजन भयो, कार्यान्वयनमा समस्या छ।’

    कुनै स्थानीय तहमा रहेका विद्यालयले स्थानीयस्तरमा रहेका स्रोत साधन प्रयोग गरेरै काम अघि बढाएका समन्वय इकाइका प्रमुख अवस्थीको भनाइ छ। उनले भने, ‘निर्माण सामग्रीको अभाव भएकोले अधिकांश विद्यालयमा काम नै शुरू भएको छैन्, तोकिएको समयमा काम सकिने अवस्था छैन।’

    उक्त कार्यक्रम अन्तर्गत आफ्नो विद्यालयमा कक्षाकोठा निर्माण र शिक्षण सामग्री खरिदको योजना परेकोले उक्त कार्य जारी रहेको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक वलदेव नाथले बताए। ‘गाउँपालिकासँग सम्झौता गरेर कक्षाकोठा निर्माणको कार्य जारी राखेका छौँ,’ उनले भने, ‘निषेधाज्ञाले बाहिर जान सकिराखेका छैनौँ, स्थानीय स्रोत साधनको प्रयोग गरेर काम गरिरहेका छौँ, हामी समयमै काम सम्पन्न गर्छौँ।’

    विद्यालयमा छनौट भएका योजनाले शैक्षिक गुणस्तर सुधारका लागि टेवा पुग्ने समेत नाथले बताए। छनौट भएका विद्यालयले स्थानीय तहमार्फत रकम पाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

    उक्त कार्यक्रमका लागि जिल्लाका १० वटै स्थानीय तहका २ सय ८ विद्यालयहरूको आवेदन पेश भएकोमा १ सय ३० विद्यालय मात्रै छनौट भएका थिए । 

    जिल्लाको दुर्गम सिगास गाउँपालिकाका सबैभन्दा बढी २७ वटा विद्यालयहरू छनौट भएका छन्। यस्तै पुर्चौडी नगरपालिकाका १९, मेलौली नगरपालिकाका १७, सुर्नया गाउँपालिकाका १६, पाटन नगरपालिकाका १४, डिलाशैनी गाउँपालिकाका १० र दशरथचन्द नगरपालिकाका ९ वटा विद्यालयहरू छनौट भएका हुन्‌। 

    यस्तै दोगडाकेदार गाउँपालिकाका ७, शिवनाथ गाउँपालिकाका ६ र पञ्चेश्वर गाउँपालिकाका ५ विद्यालयहरू छनौट भएका छन्। विद्यालयले पेश गरेको कार्यक्रमको आधारमा ६ लाख ५० हजार देखि एक करोड रुपैंया सम्म विद्यालयले प्राप्त गर्ने गरी छनौट गरिएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जनाएको छ। 

    केन्द्रका अनुसार दुई कोठे भवन बनाउन १८ लाख, चार कोठे भवन बनाउन ३६ लाख र विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ।

    यस्तै, पुस्तकालय निर्माण गर्न ६ लाख ५० हजार र शैक्षिक सामग्री व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम विद्यालयलाई उपलब्ध गराइने विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]