स्वास्थ्य

कोरोना खोपले सन्तानोत्पादन क्षमता ह्रास गराउँछ? यस्ता छन् १३ हल्ला र यथार्थ

जेठ २१, २०७८

    कोरोनाको जोखिमबाट बच्नका लागि खोपलाई महत्वपूर्ण सुरक्षा कवच मानिएको छ। प्रयोगमा आएका खोपमध्ये अधिकांश दुई डोजका छन्। पहिलो र दोस्रो डोजबीच निश्चित समयको अन्तर राखिन्छ।

    कोरोनाको जोखिमलाई रोक्न खोपको आविष्कारलाई महत्वपूर्ण मानिए पनि मानिसको मनमा यसबारे विभिन्न आशंका छन्। यसबारे बिबिसी हिन्दीमा प्रकाशित भारतका दुई वरिष्ठ भाइरोलोजिस्ट डाक्टर यतीन मेहता र डाक्टर ईश्वर गिलाडासँगको कुराकानीको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ।

    भ्याक्सिनले सन्तानोत्पादन क्षमता ह्रास गराउँछ ?

    डाक्टर मेहता भन्छन्‚‘यो गलत कुरा हो। भ्याक्सिनले भाइरसलाई इन्फर्टाइल बनाउँछ‚ मान्छेलाई होइन।’

    डाक्टर गिलाडा पनि त्यस्तो हल्लालाई नकार्छन्। उनी भन्छन्‚‘सबै किसिमका भ्याक्सिन आउने बेलामा यस्ता अफवाह फैलन्छन्। त्यस्ता कुरा गलत साबित भएको हामीले देखिसकेका छौं। कोरोना भ्याक्सिनको हकमा पनि त्यही हो‚ बरु अनर्गल हल्ला गर्नेमाथि कारबाही हुनुपर्छ।’

    गर्भपतनको खतरा हुन्छ?

    यसबारे डाक्टर मेहताले भने‚‘भारतमा हालसम्म गर्भवतीलाई भ्याक्सिन लगाउन अनुमति दिइएको छैन। त्यस्ता महिलामाथिको ट्रायल पूरा नभइसकेकाले त्यसो गरिएको हो। यद्यपि‚ भर्खर शिशुलाई जन्म दिएका महिलाले भ्याक्सिन लगाउँदा कुनै समस्या हुँदैन।’

    डाक्टर गिलाडाको विचारमा पनि गर्भवतीले भ्याक्सिन लगाउँदा केही फरक पर्दैन। उनी भन्छन्‚‘अमेरिका‚ बेलायत र चीनमा लगाइराखेकै छन्। तर‚ भ्याक्सिन लगाउनुअघि चिकित्सकसँग परामर्श लिनु जरूरी छ।’

    भ्याक्सिन लगाएपछि पनि संक्रमण हुनसक्छ भने भ्याक्सिनको के अर्थ?

    यसमा डाक्टर मेहता भन्छन्‚‘कतिपय अवस्थामा कोभिड संक्रमणको असर १४ दिन पछिमात्रै थाहा हुन्छ। तपाईंलाई भ्याक्सिन लिनु अगावै संक्रमण भएको पनि हुनसक्छ। त्यस्तो अवस्थामा भ्याक्सिन लगाएपछि पनि संक्रमण देखिन सक्छ। भ्याक्सिन लगाएपछि एन्टिबडी तयार हुन केही समय लाग्छ।’

    ‘भ्याक्सिन लगाएपछि पनि संक्रमण हुनसक्ने खतरा रहन्छ तर भ्याक्सिनपछि हाम्रो शरीरले भाइरससँग राम्ररी जुध्ने क्षमता प्राप्त गर्छ। यो कुरा धेरै हदसम्म व्यक्तिको शारीरिक स्थितिमा पनि निर्भर रहन्छ’‚ उनले भने।

    डाक्टर गिलाडा भने भ्याक्सिनपछि देखिने संक्रमणलाई ‘ब्रेक–थ्रु संक्रमण’ भन्छन्। ‘धेरैजसो केसमा भ्याक्सिन लगाएको व्यक्ति भ्याक्सिनअगावै संक्रमित भएको देखिन्छ’‚ गिलाडा भन्छन्‚‘तर‚ भ्याक्सिनले कोरोनाबाट बचाउँछ। प्रतिरोध क्षमता बलियो हुन्छ। अध्ययनहरूले भ्याक्सिनपछि संक्रमण भए पनि घातक असर नदेखिएको पुष्टि गरेका छन्।’

    के भ्याक्सिनले ब्लड–क्लटिङ गराउँछ वा मुटुसम्बन्धी समस्या उत्पन्न गराउँछ?

    ‘भ्याक्सिन लगाएपछि ब्लड क्लटिङ हुनसक्छ। यूरोपमा वृद्धवृद्धामा त्यस्तो समस्या देखिए पनि भारतमा त्यस्तो केस निकै कम देखिएको छ’‚ मेहता भन्छन्‚‘भारतको स्वास्थ्य मन्त्रालयको अध्ययनले प्रतिदश लाखमध्ये ०.६१ प्रतिशत मानिसमा ब्लड क्लटिङको समस्या उत्पन्न भएको पाइयो।’

    मुटुसम्बन्धी रोगको हकमा अगावैदेखि त्यस्तो समस्या भएकाहरूले चिकित्सकको सल्लाहमा मात्रै भ्याक्सिन लिनुपर्ने उनले बताए।

    डाक्टर गिलाडा भन्छन्‚‘मान्छेको शरीरमा औषधिको रुपमा पानी दिइयो भने पनि साइड–इफेक्ट हुन्छ। भ्याक्सिनले पनि धेरैथोरै साइड–इफेक्टत गर्छ। ब्लड क्लटिङको केस प्रतिदश लाखमा एकभन्दा पनि कम छ। मुटुसम्बन्धी रोगको हकमापहिलेको तुलनामा समस्या देखिने गरेको छ।’

    भ्याक्सिन लगाएपछि माछामासु खान हुन्छ?

    ‘मज्जाले खाए हुन्छ’‚ डाक्टर मेहताले भने।

    ‘मन लागेको कुरा खान सक्नुहुन्छ’‚ गिलाडा पनि सहमत देखिए।

    भ्याक्सिन लगाएपछि अल्कोहल लिन हुन्छ कि हुँदैन ?

    डाक्टर मेहताको राय छ‚‘त्यसका लागि केही समय पर्खिएकै राम्रो। केहीदिन परहेजमा रहनु ठिक हुन्छ।’

    गिलाडा भन्छन्‚‘१२ घण्टापछि लिए हुन्छ। तर‚ भ्याक्सिनपछि आफ्नो शरीरमा देखिएको असरबारे भने विचार गर्नुहोस्। भ्याक्सिन लिएलगत्तै विभिन्न किसिमका असरहरू देखिन सक्छन्। सबैकुरा सामान्य रहेको अवस्थामा भने १२ घण्टापछि लिन सकिन्छ।’

    भ्याक्सिनमा कुनै माइक्रोचिप्स लगाइएको छ ?

    ‘धेरै किसिमका भ्याक्सिनहरू बनेका छन्‚’ डाक्टर मेहता उल्टै सोध्छन्‚‘ती सबै भ्याक्सिनमा चिप्स?’

    ‘तरल पदार्थमा कसरी चिप्स लगाउन सकिन्छ? बेकारको कुरा हो’‚ उनले भने।

    ‘एक त लिक्विड त्यसमाथि मसिनो न मसिनो सिरिन्जको मद्दतले भ्याक्सिन लगाइन्छ’‚ डाक्टर गिलाडा भन्छन्‚‘सिरिन्जबाट कसरी चिप्स छिराउन सकिन्छ?’

    भ्याक्सिन लगाउने बित्तिकै जँचायो भने पोजेटिभ देखिन सक्छ?

    ‘भ्याक्सिनकै कारण संक्रमणको खतरा हुँदैन’‚ डाक्टर मेहताले भने‚‘तर‚ तपाईं पहिल्यै संक्रमित हुनुभएको रहेछ भने टेस्टले समात्ने नै भयो।’

    ‘भ्याक्सिन लगाएका केही मानिसले आफ्नो शरीरमा एन्टिबडी नबनेको गुनासो गरिराखेका छन्। लखनउमा एकजनाले त मुद्दा नै हाले’‚ डाक्टर गिलाडाले भने‚‘हामीले आइएमजी‚ आइएमएम आदि गरी एन्टिबडीका कैयौं प्रकार हुन्छन् भन्ने बुझ्नुपर्छ। अहिले गरिएका धेरैजसो परीक्षण आइएमजीको हो‚ उक्त एन्टिबडी भ्याक्सिनकै कारण पैदा भएको हो वा होइन भनेर भन्न सकिँदैन। आइएमएम परीक्षण चाहिँ महँगो हुन्छ।’

    युवा र बालबालिकाले चाहिँ किन लगाउनु नपर्ने?

    ‘बालबालिकाको हकमा अनुमति प्राप्त भइसकेको छैन। २ वर्षदेखि १८ वर्ष उमेर समूहको हकमा दोस्रो र तेस्रो चरणको ट्रायलका लागि अनुमति दिइएको छ। यो भारतको कुरा भयो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १२ वर्षमाथिकालाई भ्याक्सिनको अनुमति दिएको छ’‚ डाक्टर मेहताले भने‚‘आउँदा दिनमा भारतमा पनि अनुमति प्राप्त हुनेछ।’

    ‘दोस्रो चरणमा युवामा अधिक संक्रमण देखियो। धेरैमा साधारण असर देखिए पनि केही गम्भीर केस पनि देखिए’‚ मेहताले अगाडि थपे‚‘अधिक सक्रिय र कामकाजी उमेर समूह भएकाले युवामार्फत अरू धेरै मानिस संक्रमणको चपेटामा आउन सक्छन्। अन्यलाई सुरक्षित राख्न पनि युवा उमेर समूहकाले भ्याक्सिन लिन आवश्यक हुन्छ।’

    डाक्टर गिलाडा पनि बालबालिकालक्षित खोप कार्यक्रम चाँडै सुरू हुनेमा विश्वस्त छन्। उनले भने‚‘युवालाई त दिन थालिसकियो नै‚ केटाकेटीका लागि पनि छिट्टै अनुमति प्राप्त हुनेछ। कसैले लगाउने कसैले नलगाउने गरियो भने त खतरा जस्ताको तस्तै रहने भयो नि।’

    महिनावारी भएको अवस्थामा भ्याक्सिन लगाउन हुन्छ?

    ‘हुन्छ’‚ डाक्टर मेहताले भने‚‘किनकी भ्याक्सिन पूर्ण सुरक्षित छ।’

    डाक्टर मेहताको कुरामा डाक्टर गिलाडाले पनि सहमति जनाए।

    संक्रमण भइवरी निको भएकाले भ्याक्सिन लिनुपर्दैन भन्ने पनि त छ?

    ‘यो पूरै ठिक कुरा होइन’‚ मेहता भन्छन्‚‘संक्रमण ठिक भएको केही महिनासम्म मात्र एन्टिबडी रहन्छ। त्यसैले‚ भ्याक्सिन लिनैपर्छ। बरु दुई–तिन महिनापछि लिए पनि हुन्छ।’

    ‘संक्रमण ठिक हुनेबित्तिकै लिनुपर्छ भन्ने छैन’‚ डाक्टर गिलाडाको पनि उस्तै राय छ‚‘हामीले मुम्बईमा गरेको अध्ययनले दोहोर्‍याएर संक्रमण भएकाहरूलाई आठ–दश महिनाको अन्तरमा दोस्रो संक्रमण भएको देखायो। केहीलाई पन्ध्र–बीस दिनमै पनि दोहोर्‍याएर भएको देखियो, त्यो पनि गलत होइन।’

    ‘तर‚ संक्रमण भइवरी निको भएकाहरूले भ्याक्सिन कहिले लगाउने भन्नेबारे एकपटक डाक्टरसँग परामर्श गर्नुपर्छ’‚ गिलाडाले थपे।

    फ्लूको भ्याक्सिन लगाए पनि हुँदैन?

    ‘कुनै पनि फ्लू भ्याक्सिनले कोभिडबाट बचाउँदैन’‚ डाक्टर मेहताले भने। डाक्टर गिलाडाले पनि फ्लूको भ्याक्सिन कोरोनाका लागि प्रभावकारी नदेखिएको बताए।

    भ्याक्सिन लगाएपछि पनि मास्क लाउने दूरी कायम गर्ने आदि गरिराख्नुपर्छ र?

    ‘पर्छ’‚ मेहता भन्छन्‚‘भ्याक्सिन लगाएपछि पनि सबै किसिमका सुरक्षा मापदण्ड पालना गर्नु पर्छ‚ ताकि तपाईंबाट अन्यमा संक्रमण नसरोस्।’

    ‘तपाईं स्प्रेडर वा करियर बन्नुहुने छैन भन्ने निश्चित गर्नका लागि पनि सुरक्षा मापदण्ड पालना गर्नैपर्छ’‚ मेहताको रायमा सहमत हुँदै गिलाडाले भने‚‘मापदण्ड पालना गर्नुभएन भने तपाईंले कुनै संक्रमितबाट संक्रमण लिएर तेस्रो व्यक्तिलाई संक्रमित बनाउने सम्भावना रहन्छ। तपाईंलाई त संक्रमण हुँदैन‚ तर वाहक बन्न सक्नुहुन्छ। त्यसमाथि भाइरसका फरक–फरक भेरियन्टहरू देखिएका छन्‚ त्यसैले सतर्कता अपनाएकै राम्रो।’

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]