समाज

भेरी नदीमा नौ वर्षदेखि पुलको जग निर्माण भएन

जेठ २३, २०७८

    जाजरकोट : निर्माण सुरू गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुनसकेको छैन। मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो।

    ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो बनेको छ। ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरले ठेक्का लिएको थियो। कम्पनीले १०० मिटरको पुल निर्माण गर्न २०६९ सालमा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रूपैयाँ छुट्याएको छ।

    पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ। व्यापार/व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ। पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुङ्गे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीयवासी नरबहादुर बस्नेतले बताए। पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ। ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरवाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन्।

    पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर होमनाथ पौडेलले बताए। पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउण्डेशन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन। कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ। पुल निर्माण तत्काल अघि बढाउन ताकेता गर्दै यस वर्ष दुईपटक पत्राचार गरिसकेको कार्यालयले जनाएको छ।

    पौडेलले भने, 'पुल निर्माणका लागि सुरूका वर्षमा जग बनाउन समस्या थियो तर अहिले कुनै समस्या नभए पनि ठेकेदारले काममा ढिलाइ गरिरहेको छ, भेरी नदीको बहाव सुरू भइसक्यो, त्यसैले सबस्ट्रक्चरको काम गर्न चुनौती छ।  ठेकेदारले पुल निर्माणमा चासो नदिएकाले ठेक्का तोडेर कारवाही अगाडि बढाउने प्रक्रिया थालेका छौँ।' सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनका प्रोपाइटर श्रेष्ठले बताए। उनले भने‚ 'पुल निर्माण सुरू भएको दुई वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको छ, समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो।'

    बनेन पासागाड पुल

    छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाड खोलाको पुल पनि आठ वर्षदेखि अलपत्र परेको छ। सडक विभागको लापरवाहीका कारण पुल निर्माणको काम अधुरो बनेको हो। छिन्चु–जाजरकोट सडकको अधिकांश खोला र नदीमा पक्की पुल निर्माण भइसकेका छन् तर गलत डिजाइनका कारण ठेक्का सम्झौता भएको आठ वर्ष बित्दासमेत पासागाड खोलाको पुल निर्माण सुरू हुन सकेको छैन। सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीले पुल निर्माण अलपत्र परेको हो।

    कन्सल्टेन्सीले हचुवाका भरमा पुलको डिजाइन गर्दा निर्माण अलपत्र परेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए। पुल निर्माणका लागि आठ वर्षअघि तीन करोड रूपैयाँमा लुम्बिनी/आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको उनले बताए। उनले भने‚ 'सुरूमा पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल मिलेन। पुलको डिजाइन एक र निर्माणस्थलको लोकेशन अर्को हुँदा काम गर्न समस्या भएको हो।'

    आइएमई आरसी कन्सल्टेन्सीले सात लाख रूपैयाँमा पुलको डिजाइन गरेको थियो। कम्पनीले ४६ मिटर लम्बाइको पुलको डिजाइन गरे पनि पासागाडमा पुल बनाउने दूरी २५ मिटरभन्दा बढी छैन। आठ वर्षअघि डिभिजन कार्यालयका प्राविधिकले निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो।

    डिभिजन प्रमुख झाका अनुसार सडक विभागले उक्त डिजाइनलाई रद्द गरी नयाँ डिजाइन गरिसकेको छ। नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दरअनुसार निर्माण गर्न ठेकेदारले नमानेपछि पुलको काम अलपत्र परेको उनले बताए। उनले भने‚ 'पुरानो दरअनुसार लागत घट्दा निर्माण कम्पनीले काम गर्न सक्ने अवस्था छैन।' नयाँ डिजाइनअनुसार करिब तीन करोड रूपैयाँको लगानीमा २५ मिटरको पुल बन्ने लागत उठेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]