राजनीति

बजेटको सूचना चुहाइएको भन्दै कांग्रेसद्वारा तेस्रोपटक संसद बैठक अवरुद्ध

छानबिनको माग

फोटोः दीपक केसी/थाहाखबर
जेठ २१, २०७३

    काठमाडौं : व्यवस्थापिका–संसद्को तेस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण पुनः स्थगित भएको छ। 

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आर्थिक वर्ष २०७३/७४को बजेट सार्वभौम संसद्समक्ष प्रस्तुत हुनुअगावै समाचारपत्रमार्फत अघिल्लै दिन सार्वजनिक भएकामा आपत्ति जनाउँदै त्यसको छानबिनको माग गरेको छ। 

    व्यवस्थापिका–संसद्को सोमबारको बैठकको प्रारम्भमा सदनको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसका सांसद डा. रामशरण महतले सदनमार्फत सार्वजनिक हुनुपर्ने बजेट पत्रिकाबाट आएको र त्यसबाट संसद्को मानहानि हुनुका साथै विशेषाधिकारसमेत हनन भएको बताए।

    एक दिनअघि नै समाचारपत्रमार्फत बजेटका सबै महत्वपूर्ण सूचना एवम् जानकारी चुहाउँदा शेयरबजारमा आएको उछालले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको उनले बताए।

    उनले गोपनीयताका साथ तयार हुने र सदनमा प्रस्तुत केही घन्टाअघिमात्र मन्त्रिपरिषद्लाई जानकारी दिइने गरेको प्रचलित मान्यताविरुद्ध सूचना चुहाइएकामा छानबिनको माग गरे।

    आधा घन्टाका लागि स्थगित भएको सदनको बैठक दोस्रोपटक सुरु भएपछि सभामुख ओनसरी घर्तीले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बोल्न दिएकी थिइन्।

    कांग्रेसका नेता लेखकले बजेटका महत्वपूर्ण जानकारी पत्रपत्रिकामा पुगेका कारण सेयर बजारमा असर परेको भन्दै सो विषय गम्भीर अपराध भएको बताए।  

    व्यवस्थापिका–संसद्को क्षेत्राधिकारको विषय रहेको बजेटअगावै बाहिरिनु संसदीय मर्यादा र गरिमा विपरीतको विषय रहेको भन्दै लेखकले तथ्य र तथ्याङ्क बाहिर जानु न्यूनतम् मर्यादा विपरीतको विषय रहेको उल्लेख गरे।

    यसअघि बजेट चुहिएको विषयमा सदनले नै सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा छानबिन समिति गठन भएको उल्लेख गर्दै उनले भने – “बजेटको सूचना बाहिर जानु गम्भीर विषय भएको प्रतिवेदन उक्त समितिले दिएकाले सो आधारमा पनि सरकारले प्रस्तुत गरेको व्यवहार पनि गलत छ । यसलाई तत्काल सच्याउनु जरुरी छ।” 

    सांसद लेखकले बजेट बाहिर गएको विषयमा छानबिन नहुँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जानकारी गराउनुभएपछि कांग्रेसका सबै सांसद आशनबाट उठेका थिए।

    नेपाली कांग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएकाले गम्भीर प्रकृतिको यो घटनाको छानबिन गर्न सरकारसँग माग गरे।  

    सत्तापक्षसँग मिलेर काम गर्न नेपाली कांग्रेस तयार रहेको तर संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि पुनः हुन नदिन वार्ताको माध्यमबाटै समस्याको निकास खोज्नुपर्ने उनले बताए।

    बजेटका महत्वपूर्ण सूचना चुहुनुका कारणबारे चित्तबुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै उनले बोलेपछि नेपाली कांग्रेसका सबै सांसद आ–आफ्ना आसनबाट उभिए।

    आसनमा बस्न सभामुखले बारम्बार आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएपछि सभामुखले ३ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गरेकी हुन्।

    सोमबारको बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची संसद् सचिवालयले निर्धारण गरेको थियो।

    सामना गर्ने सत्तापक्षको सहमति

    सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको थियो।

    एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रुपमा कुराकानी भएको थियो। 

    सरकारले यही १५ गते नयाँ बजेट सार्वजानिक गरेको थियो। बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकाले यसलाई व्यवस्थापिका–संसद्मा कडा रुपमा विरोध गर्ने जनाएको थियो।

    “प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रुपमा सामना गर्ने विषयमा उहाँहरुबीच कुराकानी भयो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालले भने।

    कांग्रेस बैठकको निर्देशन

    कांग्रेसले सरकारले शनिबार प्रस्तुत गरेको आगामी आवको बजेट वक्तव्यका सम्बन्धमा पार्टीका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको थियो।  

    पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले सोमबार बस्ने सदनको बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पार्टीको तर्फबाट धारणा राख्ने निर्णय गरेको थियो।  

    बजेट वितरणमुखी भन्दै आलोचना गरेको प्रतिपक्षी दल काँग्रेसले पालैपालो पूर्वअर्थमन्त्रीलाई बजेटको नकारात्मक पाटोका बारेमा धारणा राख्ने गरी निर्देशन दिएको सांसद रमेश लेखकले जानकारी दिए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]