समाज

पहिरोको डरले न दिनमा भोक, न रातमा निन्द्रा

साउन १४, २०७३
    • संजय रेग्मी

पर्वत : पर्वतको नाङलीवाङ गाविस वडा नं. ९ फनफनेकी १६ वर्षिया हरि गिरीका आँखा जुन दिन देखि वर्षा सुरु भयो त्यो दिनबाटै ओबाएका छैनन्। घरभन्दा ५० मिटर माथिसम्म आइपुगेको पहिरो अनि घर भन्दा झण्डै ४० मिटर तल उर्लेर सुसाउँदै बगिरहेको कालीगण्डकी नदीले उनलाई न रातको निद्रा न दिनको भोक बनाईदिएको छ।

सानै उमेरमा नै बाबु गुमाएका उनको साथमा १२ वर्षिय भाई अनि बोल्न र कान पनि सुन्न नसक्ने अपांग आमा साथमा छन्। “घरमा बस्न डर छ, यता पहिरो झरिरहेको छ। खोला बढेको छ। खेत पनि सबै पुरिइसकेको छ।”, उनले अगाडि भनिन्, “ममी अपांग बोल्नुहुन्न, कान सुन्नुहुन्न। हामी बोलौं भने साना छौं। हाम्रो वास्ता कसैले गर्दैन। छिमकीले साथ दिएर बाँचिएको छ।" रातीमा वर्षा भयो भने उनीहरुलाई छिमेकीले शरण दिने गरेका छन् तर, जब वर्षा रोकिन्छ फेरी कालै निम्त्याएको जस्तो घरमा फर्किन बाध्य छन् उनीहरू।

यो त फनफने बस्तीको एउटा उदाहरण मात्र हो। उक्त बस्तीमा रहेका १० घरका सबै सदस्य रातभर जाग्राम बस्दै आएका छन्। पहिरो खसेर कतै आफ्नो घरसम्म आइपुग्ने हो कि भन्दै टर्च बालेर हेर्न निस्कन्छन्। दिउँसो पनि पहिरो खस्छ कि भन्ने पीरमा पहिरो हेर्दै दिन बिताउने गरेका छन् उनीहरु। बस्तीको तल्लो भागमा गडगडाउँदै बगिरहेको कालीगण्डकी अनि घरमाथिको पहिरोले उनीहरुको जीवन खतरामा परेको छ।

बजेट सकाउनकै लागि मात्र असार साउनमा मात्र डोजर लगाएर बाटो बिस्तार र सफाई गरेर सरकारले नै पहिरो घरतर्फ सोझाईदिएको उनीहरुको आरोप छ। पहिला सामाजिक कार्यकर्ताको रुपमा काम गरेकी स्थानीय सावित्री खत्रीका अनुसार हरेक वर्ष असार मसान्तमा मात्र बाटो सुधार गर्नका लागि डोजर लगाएर जबरजस्ती भित्तो खन्ने गरेका कारण बस्ती नै जोखिममा परेको छ। पटक-पटक स्थानीय प्रशासन समक्ष हिउँदमा नै बाटो खन्न अनुरोध गरी जाली लगाउन माग गरिएपनि बस्ती जोखिममा पर्दा समेत कसैले वास्ता नगरेको उनको भनाई छ।

फनफने बस्तीको माथिल्लो भागमा विशाल पहाड छन्, दायाँ र बायाँ त्यही अग्लो भीरबाट पहिरो खसिरहेको छ भने तल्लो भागमा कालीगण्डकी नदी कहालीलाग्दो गरी बगिरहेको छ। खसिरहेको पहिरो बस्तीमा छिरे आफूहरू भाग्ने सम्भावना समेत नभएको स्थानीयवासीको गुनासो छ। वर्षाका कारण पहाडबाट विशाल ढुंगा र माटोका ढिस्काहरु लगातार खसिरहेको कारण बस्ती नै पहिरो पुर्न सक्ने जोखिम बढेको छ। पहिरोका कारण म्याग्दी जिल्लामा प्रवेश गर्ने एक मात्र सडक समेत हरेक दिन अवरुद्ध हुँदै आएको छ भने प्रहरी र स्थानीयबासीको सक्रियतामा एकतर्फी रुपमा मात्रै भएपनि खुलाएर यातायात सुचारु गराईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। 

यता पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले भने पहिरो पन्छाउनका लागि प्रहरी र डोजरलाई जुनसुकै बेलामा पनि तयारी अवस्थामा राखिएको जानकारी दिए।

फनफनेका बासिन्दाको जस्तै पीडा पर्वत र बागलुङको सिमाना मालढुंगामा कालीगण्डकी नदीको तीरैमा बसेका माझीहरुको पनि छ। गतवर्ष बस्तीमाथिको ढिस्को नै खसेर बस्ती नै भत्काईदियो। गतवर्षको पहिरोले बस्ती नै पुरेपछि उनीहरुको घाउमा मल्हम लगाउनको लागि न त केही प्रयास नै भएको छ, न त उनीहरुको आर्थिक अवस्था नै बलियो छ। माछा मार्ने, बङगुर पाल्ने र हली बनेर जीवीकोपार्जन गर्दै आएका माझी परिवारहरुले दुःखमा कसैले पनि साथ नदिएको गुनासो गरेका छन्।
 
यस वर्ष मालढुंगामा पहिरो नझरेको भएपनि फनफनेमा झरेको पहिरोले सवारी चालकलाई सास्ती र बस्तीलाई उच्च खतरा भएको छ। म्याग्दी जिल्लामा प्रवेश गर्ने एक मात्र सडक समेत हरेक दिन अवरुद्ध हुँदै आएको छ भने प्रहरी र स्थानीयबासी र डोजरको सहयोगमा हरेक दिन खुल्दै पनि।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]