राजनीति

प्रदेश २ को बजेट खर्च, सात महिनामा तीन प्रतिशत

फागुन ६, २०७५

    जनकपुरधाम : प्रदेश २ सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको सवा तीन प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म छ वटा मन्त्रालयको चालु र पूँजीगत गरी कुल १८ अर्ब आठ करोड ६७ लाख ८० हजार ९८३ रुपैयाँमा ५६ करोड ९७ लाख ७७ हजार ५३४ मात्रै खर्च भएको छ। यो रकम कुल बजेटको ३.१५ प्रतिशत मात्र हो।

    सरकारले खर्च गरेको प्रतिशत बजेटमा सेवासुविधा, सवारीसाधन खरिद र भौतिक पूर्वाधारको मर्मत सम्भारमा लगानी गरिएको छ। कार्यालयका अनुसार ३० करोड रुपैयाँभन्दा बढी रकम विभिन्न मन्त्रालयका लागि गाडी खरिद गर्न खर्च गरिएको छ। यस्तै, मन्त्रालय रहेका भवनको मर्मत सम्भार, रंगरोगन, फर्निचर खरिद, मेसिनरी उपकरणको खरिदमा खर्च भएको छ।

    प्रदेश लेखा नियन्त्रक कार्यालयको सञ्चित कोषमा पाँच अर्ब ८३ करोड रुपैयाँ सञ्चित रहेको प्रमुख लेखा नियन्त्रक विनोद गेलालले जानकारी दिए। सरकारले हालसम्म पूँजीगततर्फ कुल बजेटको १.२५ प्रतिशत मात्र खर्च गरेको छ। त्यसमा कतिपय मन्त्रालयले पाँच प्रतिशत बजेट पनि खर्च गर्न सकेका छैनन्। 

    प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामचन्द्र मण्डलले मन्त्रीहरुले मन्त्रालयका कामभन्दा विभिन्न कार्यक्रमको अतिथि बन्नमा नै बढी समय दिएको आरोप लगाए । ‘एनजिओको उदघाटन, सहकारी संस्थाको समापनजस्ता कार्यक्रममै अल्झिएकाले बिकासे बजेट खर्च भएको छैन,’ उनले भने, ‘मन्त्रीहरु अझै यस्ता कार्यक्रममै अल्झिरहे प्रदेशको विकास कसरी हुन्छ?

    यसैगरी नेपाली कांग्रेस संसदीय दलका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले सरकारले आफ्नो कार्यकर्ता पोस्ने कार्यक्रम मात्र ल्याएको आरोप लगाउँछन्। ‘प्रदेशको गौरव हुने खालको ठूला–ठूला महत्त्वकांक्षी योजना ल्याउने भिजन नै यो सरकारसँग छैन,’ उनले भने, ‘खुद्रा योजनामा रकम खर्चेर भ्रष्टाचार गर्ने र कमिशन खाने दाउमा मात्र मन्त्रीहरु छन्।’ 

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]