फिचर

कलिउडका सुशीलको हलिउड सपना

फागुन ८, २०७५

    धनगढी : ‘अब के छ रहर’ मैले सामान्य प्रश्न गर्दा उनको असामान्य जवाफ आयो। ‘मेरो हलिउको सपना छ।’ ‘कलिउडमा जमिरहेकाहरूलाई बलिउड नै सपना लाग्छ। भर्खर बामे सर्दै गरेको अवस्था हलिउडको सपना देख्नु असामान्य होइन र?’ मैले प्रतिप्रश्न गरें। ‘आजको स्थान पनि कुनै दिन मैले सोचेको थिएँ। तर, त्यो बेला पनि मान्छेहरू मलाई आफूभन्दा ठुलो सपना देख्ने भन्थे’ उनी मुस्कुराए।

    यो कुराकानी हो, कैलालीको धनगढीमा जन्मिएका सुशील सिटौलासँगको। चौराहमा उनकै नामबाट बुवाआमा होटेल चलाइरहनुभएको थियो। सुशील होटेल त्यहाँको सेकुवा कचमली निकै फेमस थियो।

    बुवाआमामा ठूलो सपना थिएन। तर, उनलाई भने संसार जित्नु थियो। सुशील सानैदेखि पृथक स्वभावका थिए। अरूभन्दा केही फरक गर्नुपर्छ र फरक बन्नुपर्छ भन्ने स्वभावले उनलाई यहाँ पुर्‍याएको उनी बताउँछन्।

    कक्षा ८ पढ्दै गर्दा उनी दाजुसँग उनी पहिलो पटक काठमाडौँ आए। काठमाडौँ पुगेपछि सबै रमाइला ठाउँ, नयाँ र सुन्दर ठाउँ हेर्ने धोको हुन्छ तर सुशीलको धोको केही फरक देखियो। त्यो बेला उनलाई नाटक हेर्न मन लाग्यो। उनले दाजुलाई भने ‘दाइ नाटक हेरौंन’। दाइले भने, ‘नाटक त टिभीमा हेरिन्छ त, स्वयम्भु, पशुपति र धरहरा हेर्न हिँड्।’ सुशीलले नाटक हेर्ने ढिपी छोडेनन्। कक्षा ८ मा पढ्ने करिब १३–१४ वर्षको किशोर गुरुकुल छिर्याे। 

    ‘मलाई त्यो नाटकको नाम पनि थाहा छैन।’ त्यो पल सम्झँदै सुशीलले भने ‘त्यो दिन नाटक घर नगएको भए आजसम्म पनि सायद काठमाडौँमा स्वयम्भु, पशुपति र धरहरा हेरेर बसिरहेको हुन्थेँ होला’ लगत्तै फेरि भने, 'ए धरहरा त छैन क्यारे।’

    गुरुकुलमा नाटक हेरिसकेपछि उनलाई कलाकारिताप्रति मोह बढ्यो। उनले त्यो कुरा अभिभावकलाई सुनाएनन्। उनी भन्छन्, ‘मैले त्यो बेला म हिरो बन्छु भनेको भए नाटक घरमा कहिले जान पाउने थिइन। त्यसैले रहरलाई कुन्ठित पारेर राखेँ।’ 

    धनगढीकै ऐश्वर्य विद्या निकेतनबाट प्लटु सकेपछि उनी रहर र सपना पूरा गर्न लागे। फिल्म कोर्स पढ्न दिल्ली गए। दिल्लीको चर्चित मण्डिहाउसको श्रीराम सेन्टरमा काम गर्न थाले। त्यो बेला सुशीलले आठ वटा नाटक खेले। त्यसपछि नेपाल फर्किए। नेपालमा पनि ड्रामामा काम गर्न थाले। 

    एक्टर स्टुडियोबाट एउटा र मन्डला थिएटरबाट तीन वटा नाटक खेलेका सुशील अहिले ठूलो पर्दामा जमेका छन्।

    सुशीलको डेब्यु 

    कोट मार्सल, कथा देश, भेनिसको बुढीलगायतका नाटकमा खेलिसकेका सुशीललाई त्यतिमै सन्तुष्टि भने मिलेन। उनी ठूलो पर्दामा आउन चाहे। ‘नयाँ पुस्ताले सजिलै काम पाइहाल्छन् भन्न पनि सजह छैन’ उनले भने, 'तर म विश्वस्त थिएँ।’ 

    त्यही बेला होस्टेल रिटर्न्सको तयारी भइरहेको सुशीलले थाहा पाए। सुनिल रावलले निर्माण गरेको चलचित्र सादय सफल भइसकेको र होस्टेलले समेत राम्रो व्यापार गरेको थाहा पाएका सुशीललाई यो ब्यानरमा आउन पाए केही गर्छु भन्ने लाग्यो।

    ‘फिल्म खेल्ने मेरो चाहना छ भनेर सुनिल सरलाई म्यासेज गरेँ। उहाँले मलाई कल गर्नुभयो अनि बोलाउनु भयो। अडिसन पनि दिएँ, उहाँलाई मन पर्‍यो’ त्यो पल सम्झँदै सुशीलले भने,‘ म ठूलो पर्दाका लागि छनोट भएको पल त अविस्मरणीय छ।’

    होस्टेल रिटर्न्सपछि सुशीलले पछाडि फर्केर हेर्नु परेन। एकपछि अर्को गर्दै उनलाई चलचित्रको अफर आउन थाले। होस्टेल रिटर्न्सपछि लगत्तै सुन्तलीलाई भगाइ लग्यो झिल्केले चलचित्रमा लिड रोलमा देखिए। त्यसपछि गाजाबाजा र अहिले रणवीरमा मुख्य भूमिका पाएका छन्। फरक–फकर चलचित्रमा फरक–फरक भूमिकामा देखिने सुशील रणवीरमा आक्रामक भूमिका देखिएका छन्। 'म आफूभित्रको पूरै क्षमता रणवीरमा देखाउने प्रयास गरेको छु,' उनले भने, ‘ चकलेटी हिरो पनि एक्सनमा सुहाउँछ र भन्नेहरूको मुख बन्द गरिदिएको छु।’

    होस्टेल रिटर्न्सबाट नाम, रणवीरबाट दाम र काम

    ‘मलाई अहिले पनि होस्टेल रिटर्न्सको हिरो भनेर चिन्छन्,' उनले  भने, 'मलाई त्यो फिल्मले नाम दियो रणवीरले दाम र काम दिइरहेको छ।’ उनले धेरै पटक रणवीरको प्रचारमा निस्कँदा पनि होस्टेल रिटर्न्सको  हिरो भनेर बोलाउने गरेको  सुनाए।

    उनी भन्छन्, ‘मलाई चलचित्र क्षेत्रमा परिचित गराउने चलचित्र होस्टेल रिटर्न्स भएपछि रणवीरले स्थापित गरायो भन्नेमा विश्वस्त छु।’ होस्टेल रिटर्न्सपछि सुशीलको पारिश्रमिक पनि बढ्दै गयो।

    डेब्युको होस्टेल रिटर्न्समा १० हजार पाएका सुशील रणवीरमा चार लाख पारिश्रमिक लिएको बताएका छन्। उनले भने, ‘सुरुमा नामको  लागि काम गरेँ तर अब नामसँगै अन्य कुराहरूमा पनि ध्यान दिन्छु।’

    होस्टेल रिटर्न्समा १० हजार लिएका सुशीलले सुन्तलीलाई भगाइ लग्यो झिल्केलेमा एक लाख २० हजार लिए। गाजाबाजामा एक लाख पारिश्रमिक पाएका उनले पछिल्लो चलचित्र रणवीरमा चार लाख पाएका हुन्।

    हलिउडको सपना

    भारतमै चलचित्र पढेर सिकेर र खेलेर आएका सुशीललाई बलिउडप्रति खासै रुचि छैन। उनी कलिउडबाट हलिउडमा छलाङ मार्ने सोचमा छन्। उनले बलिउडको वार छोड् न यारमा पनि खेलेका छन्। सलमान जोशी र सोहाली खानको मुख्य भूमिका रहेको चलचित्रमा काम गरेका सुशील त्यसबाट आफूमा थप ऊर्जा मिलेको  बताउँछन्।

    ‘त्यो सेटमा मैले धेरै अनुभव गर्न पाएँ’ सुशीलले भने, ‘यहाँ त त्यति उपकरण र खर्च पनि हुँदैन तर, उत्कृष्ट चलचित्र बनिरहेका छन्।’ भारतका आठ वटा ड्रामा गरिसकेका सुशीलको बलिउडभन्दा हलिउड रोजाइ बनेको बताएका हुन्। ‘त्यो होला नहोला तर मेरो चाहना र सपना त्यही हो’ सुशीलले सपना दोहोर्‍याए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]