राजनीति

'फेसबुक, ट्विटरका कार्यालय अरू देशमा खोल्न हुने नेपालमा नहुने?'

'स्वतन्त्रताको गीत गाउने हक कांग्रेसले मात्रै राख्दैन'

फोटो : नवीन पौडेल, रासस
फागुन १०, २०७५

    काठमाडौं : संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक संजालका कार्यालय नेपालमा दर्ता हुनुपर्ने बताएका छन। सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सामाजिक संजालले नेपालमा कार्यालय स्थापना गर्ने व्यवस्था गर्न लागिएको र त्यसमा कुनै पनि किसिमले तलमाथि नहुने बताएका हुन्।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मन्त्री बाँस्कोटाले नेपालमा सामाजिक संजालका क्रियाशील प्रयोगकर्ता रहेको र ठूलो मात्रामा राजस्‍व बाहिरिइरहेको भन्दै ती सामाजिक संजालका कार्यालय नेपालमा खोल्ने कानुनी व्यवस्था गर्न लागिएको बताए।

    नेपालले चीनमा जस्तो आफ्नै सामाजिक संजाल विकास नभएको भन्दै बाहिरबाट संचालनमा रहेका सामाजिक संजाल नियमन गर्नका लागि यस्तो व्यवस्था गर्नुपरेको मन्त्री बाँस्कोटाको भनाई थियो। उनले भने, 'हामीले चीनले जस्तो आफ्नै सामाजिक संजाल विकास गर्न सकेका छैनौँ। यहाँ राजस्‍वको कुरा होइन, अर्कै हो भन्नुभयो त्यस्तो होइन। आर्थिक कुरा पनि यसमा राखिएको छ। ठूलो धनराशी बाहिरिएको छ। त्यसको नियमन गरिएको छ।' उनले सामाजिक संजालमा गलत कुरा राखिएको २४ घण्टाभित्र हटाउनुपर्ने भए पनि हाल त्यसका लागि नेपाललाई गाह्रो परेको बताए। नेपालमा कार्यालय नभएकाले राष्ट्रिय सुरक्षामाथि खतरा गर्ने कुरा राखिएको भए पनि त्यसलाई हटाउनका लागि उजुरी गर्ने ठाउँ नभएको बताए।

    मन्त्री बाँस्कोटाले भने, 'सामाजिक संजाल कम्पनी नेपालमा दर्ता गर्नै पर्छ। सरकारमा दर्ता गरिएको उजुरी दर्ता गर्ने कम्पनी धेरै देशमा छन। प्रजातान्त्रिक लोकतान्त्रिक देशहरू पनि छन। सत्ताको नियन्त्रणको लागि यो व्यवस्था ल्याइएको होइन भन्ने स्पष्ट पार्न चाहन्छु।'

    बाँस्कोटाले थपे, 'सामाजिक संजाल चलाउने संस्थाले अन्य देशमा कार्यालय खोल्न हुने नेपालमा नहुने भन्ने के छ? स्वतन्त्रताका नाममा जे पनि घुसाएर नभनौँ। स्वाभिमान हाम्रो पनि छ। हाम्रो देश हो, हाम्रा जनता हुन् र हामीले यो व्यवस्था गरेका हौँ।'

    उनले सामाजिक संजालका कार्यालय नेपालमा दर्ता हुनुपर्ने तर ब्लग लगायतका संजाल संचालनका लागि कुनै पनि बन्देज नभएको बताए। उनले अभिव्यक्ति स्वतन्त्रताका विषयलाई अनावश्यक ढंगबाट प्रस्तुत गर्न नहुने बताए।

    नयाँ व्यवस्था अनुसार सामाजिक संजालमा अनावश्यक कुरा राख्नेलाई नियन्त्रणको व्यवस्था पनि भएको बाँस्कोटाले बताए। उनले भने, 'आलोचकहरूलाई दण्डित गर्दैन तर कुनै पशुको ज्यानमा कुनै चिनिएको मान्छेको टाउको राखेर अपमानित गर्ने संस्कार र संस्कृति छुट नदिने नै हो। यसमा चित्त दुखे पनि के हुन्छ?'

    विपक्षी र आलोचकलाई मन्त्रीले विरोधको नयाँ बाटो खोज्न पनि सुझाव दिए। 'जे आएको छ त्यो राम्रै छ, समृद्ध बनाउन स्वागत छ। उल्टो अर्थ लाग्ने गरी व्यक्तिले पनि दर्ता गर्नुपर्छ भनेर उरालिएको, सरकारको विरोध गर्ने अरू तरिका होलान तर सत्य जे हो त्यसलाई मात्रै महत्व दिउँ', उनले भने, 'दिउँसो झलमल्ल घाम लागिरहेको बेला 'लाग्या छैन लाग्या छैन' भनेर के गर्ने? त्यो हुँदैन।'

    कम्युनिस्ट सरकार जनताले चाहेर आएकाले त्यसको पनि धेरै विरोध नगर्न मन्त्री बाँस्कोटाले कांग्रेसलाई सुझाव दिए। उनको सुझाव दियो, 'बारम्बार कम्युनिस्ट-कम्युनिस्ट भन्नु जनताको अपमान हो। जनताले नै दुई तिहाइ कम्युनिस्टको सरकार रोजेपछि त्यसमाथि धावा बोल्ने कुरा त्यति राम्रो होइन।' उनले नेपाली जनताले रोजेको व्यवस्थाभित्र जनता दुई तिहाई कम्युनिस्ट सरकार छनोट भएको बताए। मन्त्री बाँस्कोटाले भने, 'स्वतन्त्रताको गीत गाउने हक कुनै दलले मात्रै राख्दैन।'

    सम्बन्धित समाचार :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]