काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
ताप्लेजुङ : याङवरक गाउँपालिका–१, नाङ्खोल्याङका हरि राई बिहान सबेरै नजिकै रहेको मेवखा (एनकेजीएस) इँटा उद्योगतिर लाग्छन्। उद्योगमा पुग्नासाथ उनलाई भ्याइनभ्याइ हुन्छ। इँटाका लागि माटो खन्नेदेखि इँटा तयार गर्नेसम्मको काममा दिनभर व्यस्त हुन्छन्। उनी दिनमा दुईदेखि ३०० वटा इँटा बनाउँछन्। प्रतिइँटा तीन रुपैयाँ उनले पाउँछन्।
इँटा उद्योगमा काम गरेर उनले दैनिक ६०० देखि बढीमा ९०० रुपैयाँ कमाइ गर्दै आएका छन्। यही कमाइले घर व्यवहार चलाउँदै आएका छन्। त्यही उद्योगमा दुर्गा पौडेल पनि काम गर्छन्। उनको पनि काम र कमाइ राईको जस्तै छ। यो उद्योगमा दैनिक करिब २६ जनाले काम गर्दै आएका छन्।
यस उद्योगबाट स्थानीयलाई रोजगार मिलेको छ। घर नजिकै रोजगार मिलेपछि स्थानीय मजदुरहरु पनि खुसी छन्। ‘सबै युवा पैसा कमाउन घर परिवार छाडेर विदेश जान्छन्, हामीलाई परिवारसँगै घरकै भात खाएर काम गर्न भ्याइनभ्याइ छ,’ उद्योगमा कार्यरत प्रकाश चापागाईँले भने, ‘राम्रै कमाइ हुन्छ, यही कमाइले घर व्यवहार चलाउँदै आएको छु।’
प्रकाशको जस्तै अनुभव जसबहादुर राईको पनि। गाउँमै रोजगार पाउँदा उनी पनि खुसी छन्। उनले भने, ‘यहाँ काम गर्नुअघि थोरै पारिश्रमिकमा खोजीखोजी घर बनाउने लगायतका काम गर्नु पर्ने बाध्यता थियो।’
सात वर्षदेखि सञ्चालनमा आएको यस इँटा उद्योगमा स्थानीयले रोजगार पाउँदै आएका छन्। केही वर्ष परम्परागत भट्टीबाट इँटा उत्पादन गरिए पनि गत वर्षदेखि आधुनिक भट्टी बनाएर उत्पादन थालिएपछि धेरैले रोजगार पाएका छन्। करिब चार रोपनी क्षेत्रफलमा इँटाको लाइन लगाइएको छ। ‘पहिला थोरैले काम पाउँथे। अहिले धेरैले काम पाएका छन्,’ उद्योग सञ्चालक ठाकुरप्रसाद महताराले भने, ‘आठ जना त नियमित काम गर्ने कामदार छन्, उनीहरुलाई मासिक १८ हजार रुपैयाँ दिएर काम लगाएको छु।’
उद्योगबाट मजदुरलाई मात्र होइन सञ्चालकको पनि राम्रै कमाइ छ। दैनिक एक हजार २०० देखि एक हजार ८०० वटासम्म इँटा उत्पादन हुन्छ। उद्योगबाट प्रतिगोटा १८ रुपैयाँमा बिक्री हुँदै आएको सञ्चालक महताराले बताए। उनले भने, ‘सुरु सुरुमा नभए पनि अहिले राम्रै कमाइ छ।’ जहाँ जे सम्भावना छ, त्यहीँ काम गरे सबैलाई फाइदा हुने महतारा बताउँछन्। ‘यहाँ इँटाका लागि उपयुक्त ठाउँ थियो, हामीले इँटा उत्पादनकै काम गर्यौँ,’ उनले भने, ‘यसले केहीलाई रोजगार पनि मिलेको छ, आफुलाई पनि कमाइ भएको छ, सबैले यसरी नै लाग्ने हो भने किन विदेश जानु पर्यो।’
यहाँ उत्पादन भएको इँटा अहिले जिल्लाभित्रै खपत भइरहेको छ। दैनिक दुई तीन गाडी खपत भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।