अर्थ

निर्यातमा प्रतिस्पर्धा चुनौती, प्राथमिकतामा परेका सामग्री कै घट्यो बिक्री

कुन सामानको निर्यात कति घट्यो?

फागुन १४, २०७५

    काठमाडौं : नेपालको १०० रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार गर्दा ९४ रुपैयाँको आयात र छ रुपैयाँको निर्यात भएको छ। गत वर्षको अवधिमा निर्यातमा ११ प्रतिशतले र आयात ३० प्रतिशतले वृद्धि भएको छ। व्यापार असन्तुलन बढ्नुलाई मुख्य समस्याको रुपमा सरकाले लिए पनि सोही अनुसारको काम भने हुन सकेको छैन।

    सरकारले निर्यात प्रवर्द्धनको लागि तयार पारेको नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) को सूचीमै रहेका कतिपय वस्तुको निर्यात निरन्तर घटिरहेको छ। समग्रमा एनटिआइएसमा परेका वस्तुको निर्यात २ प्रतिशले मात्रै बढेको छ। यसले यस्ता वस्तुमा सरकारले दिएको छुटको समेत प्रतिफल उठाउन सकेको छैन।उपयुक्त मूल्य नपाउने र प्रतिष्पर्धा गर्न नसेको कारण एनटिआइएसमा परेका कृर्षिजन्य सामग्रीको निर्यातमा उल्लेख्य कमी देखिएको हो।

    व्यापार तथा निकासी प्रवर्द्धन बोर्डका अनुसार एनटिआइएसमा परेका कृषिजन्य सामग्री अलैची र अदुवाको निर्यातमा उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्षको छ महिनाको अवधिमा अलैचीको निर्यात दुई अर्ब ६९ करोड रुपैयाँको भएको चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ४३ प्रतिशत अर्थात एक अर्ब १६ करोड रुपैयाँ बराबरको निर्यातमा कमी आएको छ। छ महिनामा एक अर्ब ५३ करोड ४१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

    अलैचीको निर्यातमा कमी आउनुमा मुख्य कारण मूल्यमा आएको कमी भएको व्यवसायीको गुनासो छ। अलैची उद्योग संघका अध्यक्ष दीपक नेपालले मूल्य अनपेक्षित कमी आएको कारण निर्यात घटेको हो। ‘गत वर्षको यसै समयमा कृषकले प्रतिकिलो ११/१२०० रुपैयाँ मूल्य पाउने गरेकोमा यसवर्ष ८०० रुपैयाँ पनि पाएका छैनन्’ नेपालले भने,‘भारतले नै न्यूनतम मूल्य ८०० रुपैयाँ तोकी दिएपछि किसान निरुत्साहित भएका छन्।’ त्यस्तै मुख्य निर्यातजन्य कृषि सामग्रीमा रहेको अदुवाको निर्यातमा पनि कमी आएको छ। गत आर्थिक वर्षको छ महिनामा ३५ करोड ७८ लाख रुपैयाँको अदुवा निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा भने तीन करोड ५४ लाख रुपैयाँको निर्यात घटेर ३२ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै भएको छ।

    अदुवाको निर्यात कम हनुमा व्यवासायीहरूले तीनवटा विषय औल्याएका छन्। आन्तरिक बजारमा निकासी कर बढी तिर्ने परेको, भारत सरकाले भारतीय किसानलाई बढी सहुलियत दिदा प्रतिष्पर्धा गर्न समस्या भएको र भन्सारमा ल्यावटेस्ट लगायतका काम गर्दा लागत बढी भएको कारण निर्यात घटेको अदुवा उत्पादक संघका अध्यक्ष नरेन्द्र खड्काले बताए। 'करेनटाइनको कारण लागत बढी भएको छ। 

    भारतीय बजारमा प्रतिष्पर्धा पनि गर्न सकिएको छैन’ खड्काले भने। त्यस्तै एनटिआइएसमा रहेको लेदर उत्पादनको निर्यात गर्त वर्षको तुलनामा ४५ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको छ महिनामा ४५ करोड ६१ रुपैयाँको लेदर निर्यात भएकोमा चालु आर्थिक वर्षमा भने २४ करोड ७९ लाख रुपैयाँको मात्रै भएको छ।त्यस्तै जुत्ताको निर्यात पनि गतवर्षको तुलनामा १३ प्रतिशतले कमी आएको छ। गत वर्षको छ महिनामा ७७ करोड ५४ लाख रुपैयाँको जुत्ता निर्यात भएकोमा यो वर्ष ६७ करोड २९ लाख रुपैयाँको मात्रै निर्यात भएको छ। उल्लेखनीय निर्यात हुने गरेका तर एनटिआइएसमा नपरेका निर्याताजन्य सामग्रीको निर्यात पनि निकै घटेको छ।

    मासु तथा मासुजन्य खाद्य पदार्थमा ५७ प्रतिशतले कमी आएको छ। गत वर्षको छ महिनामा ३४ करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको यो अवधिमा भने ५७ प्रतिशतले कमी आई १४ करोड ४७ लाख रुपैयाँको निर्यात भएको छ। छाला र छालाजन्य सामग्रीको निर्यातमा पनि उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्षको छ महिनामा ४५ करोड ६८ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षमा ४४ प्रतिशतले ह्रास आइ २५ करोड ४६ लाख रुपैयाँको मात्रै निर्यात भएको छ।

    सरकारले एनटिआइएसमा राखेका वा नराखेका केही सामग्रीमा निकासी बढे पनि तुलानात्मक रुपमा एनटिएसमा राखेका सामग्रीको वृद्धिदर दुई प्रतिशत मात्रै छ भने समग्र निर्यातको वृद्धिदर ११ प्रतिशत देखिएको छ। यसरी प्रमुख निर्यात जन्य सामग्रीको बिक्री विदेशी बजारमा घट्दा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सरकारले बनाएको नीतिको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

    सरकारले उचित सहुलियत दिन नसकेको र दिने घोषणा गरेको सहुलियत पनि विभिन्न बाहानामा रोकेको कारण निर्यातमा कमीआएको व्यवसायीहरुको गुनासो छ। विदेशी बजारमा मात्रै हैन नेपाली बजारमा पनि आयातित सामाग्रीसँग प्रतिष्पर्धा गर्न नसेको कारण नेपाली व्यवसायी समस्यामा परेका छन्। तर, व्यापार तथा निकासी प्रवर्द्धन बोर्डले भने निर्यात घट्नुमा स्वदेशी बजारमा खपत बढेको र आयात प्रतिस्थापनमा सहयोग पुगेको बताएको छ। ‘निर्यात घट्यो भन्नु उत्पादन नै घट्यो भन्नु हाेइन, आयात प्रतिस्थापन गर्न सहयोग पुगेको छ', व्यापार तथा निकासी प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक शरदबिक्रम राणाले बताए।

    उनले सहुलियत कार्यविधि पास गरेर नगद अनुदान लगायतका छुट दिन ढिला भए पनि सहुलियतको कारण उत्पादनमा प्रभाव नपरेको दाबी गर्छन्।

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]