समाज

‘पहिले कौतुहल, अनि डर र पछि मजा’

फागुन २४, २०७५

    काठमाडौं : ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ।  काठमाडौं उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसंगी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ  हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ। अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको काठमाडौं प्याराग्लाइडिङ एण्ड ह्याण्ड ग्लाइडिङ प्रालिका सञ्चालक नीरज पन्तले बताए।

    विगतमा उडान भए पनि रोकिँदै आएको यहाँ नयाँ व्यवस्थापनले जिम्मा लिएसँगै डिसेम्बर अन्तिम सातादेखि नियमित उडान शुरु भएको उनले बताए। अहिले एक हप्तासम्मका लागि ‘बुक’ हुने गरेको उनको जिकिर छ। साहसिक खेल (प्याराग्लाइडिङ) का पारखी उपत्यकावासीलाई यसको मजा लिन अब पोखरा धाइरहनु पर्दैन। हावाको वेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृंखला र उपत्यका एकै साथ हेर्न पाउँदा खुशी अनुभूति भएको पहिलो पटक प्याराग्लाइडिङको मजा लिएका काठमाडौं असनका सुनिल श्रेष्ठले बताए। गुगलबाट खोज्दा गोदावरीमा प्याराग्लाइडिङ हुन्छ भन्ने थाहा पाएर आएको उनको भनाइ थियो।

    'पहिले कौतुहल थियो, उड्ने बेलामा डर फिलिङस भो, उडेपछि मजा', श्रेष्ठले भनले भने। पत्नी प्रीति राजभण्डारीसँगै गए पनि उनी एक्लै उडे। डेढ दशकअघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ। काठमाडौंबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यसले सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ।

    यहाँ प्याराग्लाइडिङ सञ्चालन गर्न तीन करोड लगानी लागेको सञ्चालक पन्तले बताए। यहाँ जनवरीदेखि अहिलेसम्म ३०० उडान भइसकेको छ। आज मात्रै तीन उडान भएको छ। एउटा उडान उडेकै ठाउँमा अवतरण भएको थियो भने दुई उडान तल रचनटारमा अवतरण भएको थियो।

    सन् २००७ मा राजनीतिकर्मी केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थालेका थिए। सन् २०११ देखि १४ सम्म सञ्चालनमा आए पनि भूकम्पपछि उडान हुन नसकेकाले यहाँ नयाँ व्यवस्थापनमा पुनः सञ्चालन गरिएको हो। कोरियाली च्याङजिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नले यसमा लगानी गरेका छन्। पाइलट विजय चौलागाईंले चापाखर्कको छुट्टै विशेषता रहेको उल्लेख गरे। यहाँको उडान क्षमता दिनमा २५ छ। छ ग्लाइडरले सेवा दिन्छ। शनिबारका पाँच उडानका लागि बुक भएको काठमाडौं प्याराग्लाइडिङ प्रालिले जनाएको छ।

     समुद्र सतहबाट दुई हजार १०० मिटरमाथि गोदावरीको चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर रोकिन्छ। पोखरामा एक हजार ६०० उचाइबाट मात्रै उडान हुने गर्छ।  गोदावरीबाट झण्डै पाँच किमी जंगलको कच्ची बाटो उकालो लागेपछि चापाखर्क पुगिन्छ। यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ। हावाको वेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिने वा कहिले नहुन पनि सक्ने अर्का पाइलट बबी राउतले बताए।

    काठमाडौं आउने–जाने यातायात र फोटो भिडियोसहित आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी छ हजार ५०० मा उडान भइरहेको छ। यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यका, स्वच्छ हावापानी, रोमाञ्चक दृश्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृंखलासँगै गणेश, गौरीशंकरलगायत हिमाल देख्न सक्नु हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]