समाज

दत्तात्रय मन्दिरमा हाेलीकाे उमंग, भिमसेनकाे लिङ्ग दर्शन गर्नेकाे भीड

चैत ६, २०७५

    भक्तपुर :
    भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, 

    बिस्युवाने म्वायक सो झायाला

    नेवारी भाकाको यो गीतको अर्थ 'भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' हो। भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा एक सातादेखि यो गीत गुञ्जिरहदाँ यहाँ भीमसेनको लिङ्ग दर्शन गर्न आउँनेको पनि उत्तिकै भीड लागेको छ। फागु पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो गीत गुञ्जिने गरेको छ।

    होली पर्वका अवसरमा भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाइ गर्दछन्। सात दिनसम्म भक्तपुरमा चल्ने फागु अर्थात होली पर्व हेर्न र सङ्गीतमा रमाउन स्थानीय सधैँ जम्मा भएर यसरी नै होलीको परम्परालाई धान्दै आएका छन्।

    फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, वाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ। यसरी टोलटोलमा ल्याएपछि भीमसेनको लिङ्गका रुपमा दर्शन गर्ने परम्परा छ।

    घर र पसलमा घुमाएको लिङ्गलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दान दक्षिणा दिने गर्दछन्। यद्यपि यस वर्ष भने लिङ्गलाई काँधमा नबोकी सवारी साधनमा राखेर घुमाएका छन्। यसरी घुमाउँदा वर्षौंदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।

    भक्तपुरमा होली पर्व पृथक शैलीमा मनाइन्छ, यहाँको भीमसेन गुठीले परम्परादेखि नै होलीलाई यौन पर्वको रुपमा दाँज्दै आएको छ। गुठीले हरेक वर्षझैं यस वर्ष पनि फागुन शुक्ल अष्टमीका दिनदेखि फागु पूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ। यसलाई पूजा एवम् दर्शन गर्न स्थानीयको सधैँ बिहान आउँने गर्दछन्।

    संस्कृतिकर्मी ओम धौभडेल भन्छन्, ुफागुन शुक्ल अष्टमीका दिन बिहान काठको लिङ्गलाई भक्तपुरको टोल छिमेक, घर, पसलै पिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ। नेवारी परम्परा अनुसार यसलाई चीर स्वायगु भनिन्छ। चीरस्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा रहेको छ।ु

    काठको यो लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिएको छ। भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र यौनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिको रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएको उनी बताउँछन्।

    बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ। झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रौपदीको यौन समागमको रुपमा लिइने संस्कृतकर्मी धौभडेलले बताए।

    साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ। चीर स्वायगु अर्थात् लिङ्ग झुण्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होली भरी भीमसेन मन्दिरमा भव्य मेला लागेको छ।

    जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवानको पालामा पनि थियो र मान्छेको पालामा पनि छ। यौनको आवश्यकता किरा फट्याङ्ग्रादेखि पशुपंक्षीमा समेत छ। यौनविनाको जीवन अधूरो हुन्छ। भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छु, स्थानीय श्यामलाल श्रेष्ठले बताए।

    मन्दिरमा झुण्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न, यसको दर्शन गर्न भक्तपुरका मात्र नभई उपत्यका कै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्तिहरु आउने भीमसेन गुठीयार बताउँछन्। पुरुष मात्र नभई यसको अवलोकन एवम् दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वास कै आधारमा झुण्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन्।

    फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा रहेको स्थानीय कुमार प्रजापतिले जानकारी दिए।

    यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने जन विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिस्पर्धा चल्ने गर्दछ। लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुने गर्दछ।

    भीमसेनको मन्दिरको स्थापना १७औँ शताब्दिमा राजा जगतप्रकाश मल्लले निर्माण गरेको इतिहासमा उल्लेख छ। भक्तपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि भएको अनुमान गरिएको छ।

    मल्लको समयमा नेस ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउँछन्। वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]