फिचर

राजनीति र व्यवसाय सँगसँगै

चैत १३, २०७५

    सल्यान : धेरैजसो राजनीतिककर्मीको पेशा हुँदैन। उनीहरूको नियमित आम्दानीको स्रोत हुँदैन। तर पनि कतिपय नेताहरूको जीवनशैली भने बिलासी हुन्छ। यसले समाजमा नकारात्मक असर पारिरहेको छ। राजनीतिमा लागेका सबै त्यस्ता छैनन्, जसले आफ्नो पेशा व्यवसाय गर्दैनन्। आफ्नो कर्ममा विश्वास राख्नेहरू पनि छन्।

    त्यस्तै, एक पात्र हुन् हरिलाल डिसी। नेकपा सल्यानका नेता उनले राजनीतिमा लागेर पनि आफ्नो पेशा-व्यावसायलाई अघि बढाउँदै आएका छन्। राजनीति गर्दा अन्य पेसा व्यवसाय गर्नु हुँदैन र भ्याउन पनि सकिँदैन भन्ने मान्यतालाई चिर्दै डिसीले फर्निचर उद्योग चलाउँदै आएका छन्। तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका बागचौर नगरपालिका-३ का उनले राजनीति र उद्योगलाई मिलाएर लगिरहेका छन्। 

    डिसीले माओवादीको सशस्त्र युद्धमा २०५३ देखि भूमिगत जीवन बिताएका थिए। २०५९ सालमा जनमुक्ति सेनाको जिम्मेवारीमा पनि थिए। अहिले राजनीति र व्यवसायलाई मिलाएर लगिरहेका छन्। त्यो पनि उद्योग संचालकको रुपमा मात्र होइन, आफैं प्राविधिक र आफैँ मजदुर पनि भएर काम गर्छन्। 

    गाउँघरमा हुने कार्यक्रमदेखि समाजमा देखिएका समस्यामा सुल्झाउन उनी सधैँ तल्लीन हुन्छन्। सामाजिक काम गरेर बचेको समयमा उनी काठ काट्न, रन्ना लगाउनदेखि दार चिर्न व्यस्त हुन्छन्। 

    राजनीति गर्ने मानिसको आफ्नो छुट्टै पेसा व्यवसाय भएमा राजनीतिमा शुद्धता ल्याउन सहज हुने उनको भनाइ छ। राजनीतिलाई कमाई गर्ने माध्यम बनाउँदा मुलुकमा भ्रष्टाचार मौलाएको उनको ठम्याइ छ। 

    मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान नाराले मात्र नहुने उनको बुझाइ छ। उनले भने- 'नाराले देश समृद्ध बन्न सक्दैन। त्यसलाई व्यवहारिक प्रयोग गर्न जरुरी छ, र त्यसको व्यवहारिक प्रयोग राजनीति गर्ने व्यक्तिहरुकाट गर्न जरुरी छ।' 

    राजनीति गर्नेहरू आर्थिक रूपमा परनिर्भर बन्न नहुने धारणा उनको छ। राजनीतिमा लागेका नेता कार्यकर्ता उत्पादनसँग जोडिएर आफ्नो र घरपरिवारको आवश्यकता पूरा गर्ने हो भने मुलुक समृद्धिको बाटोमा अघि बढ्ने उनले बताए। 

    उनले भने- 'तल्लो तहमा होस् वा माथिल्लो जसले राजनीतिलाई मर्यादित बनाउँछु भन्ने सोच्छ उसले राजनीतिसँगै केही न केही व्यवसाय वा पेसा गर्न जरुरी छ।' उनले आर्थिक मामिलामा कमजोर भइदिँदा राजनीति विकृत भएको बताए। 

    मासिक दुई लाख नाफा 

    चार वर्षअघि बागचौरमा फर्निचर उद्योग गरेका डिसीले मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। राजनीतिमा होमिएका तथा अन्य युवा रोजगारीका लागि विदेश पलायन भइरहेको समयमा स्वदेशमै  काम गरे आम्दानी गर्न सकिने उनको अनुभव छ। उनले भने- 'पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने होइन। मान्छेमा एउटा एउटा सिप हुन्छ। त्यही सिपलाई प्रयोगमा ल्याउन सक्ने हो भने स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ।' 

    घर खर्च, छोराछोरीको पालनपोषण तथा पढाइ खर्च र मजदुरलाई पारिश्रमिक दिएर मासिक दुई लाख रुपैयाँसम्म नाफा भइरहेको उनले बताए। आर्थिक हिसाबले समृद्ध बन्न तथा समाजमा नयाँ परिचय स्थापित गर्न युवालाई उनले आग्रह गरे। उनले भने- 'मेहनत गर्नुस्। प्रयास गर्नुस्। सफलता मिल्छ।'

    १२ जनालाई रोजगारी 

    राजनीतिसँगै व्यवसाय गर्दै आइरहेका डिसी आफूमात्रै आत्मनिर्भर छैनन्। उनले १२ जनालाई रोजगारीसमेत दिएका छन्। सिप र जिम्मेवारीअनुसार मासिक आठदेखि २५ हजार रुपैयाँसम्म दिएर उनीहरूलाई राखेका छन्। 

    डिसीले आफ्नै घरका चारजनालाई स्वरोजगार बनाएका छन्। राजनीतिसँगै पेसा व्यवसाय गर्दा त १२ जनालाई रोजगारी दिएको उल्लेख गर्दै उनले विशुद्ध व्यवसाय गर्ने व्यक्तिले झनै धेरै रोजगारी सिर्जना गर्न सक्ने बताए। 

    मुलुकको उन्नतिका लागि सवै नेता/कार्यकर्तालाई पेशा-व्यवसायमा लाग्न उनले सुझावसमेत दिएका छन्।

दीपक शर्मा

शर्मा थाहा खबरका सल्यान समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]