स्वास्थ्य

प्रदेश ३ मा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम

पहिलो वर्ष १० हजारलाई सेवा

चैत १४, २०७५

    हेटौँडा : नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले प्रदेश ३ सरकारले मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्न लागेको छ। 

    गत माघ २४ गतेको मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम हेटौँडा अस्पतालबाट सुरु हुनेछ। चालु आर्थिक वर्षमा पाँच जिल्ला अस्पतालबाट सेवा सुरु गर्ने जनाइएको छ। हेटौँडा अस्पतालबाट चैत १७ गतेदेखि मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु हुने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता सतिश विष्टले जानकारी दिए। यसबाहेक धादिङ अस्पताल, भरतपुर अस्पताल, चौतारा अस्पताल र सिन्धुली अस्पतालमा पनि उक्त कार्यक्रम लागू हुने उनले बताए।  

    चालु आवमा ३० वर्षभन्दा माथिका विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयम्सेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निशुल्क स्वास्थ्य परीक्षण गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिने बताइएको छ। त्यसको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। वडाको सिफारिसको आधारमा लक्षित वर्गका नागरिकले अस्पतालबाट १६ प्रकारको जाँच सेवा निःशुल्क पाउनेछन्। समग्र स्वास्थ्य परीक्षण प्याकेजमा यूएसजी, ईसीजी, फोक्सो, कलेजो, मिर्गौला जाँच, रगत परीक्षणलगायत रहेका छन्। 

    आर्थिक अभावको कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन नसकेकाहरूलाई उनीहरुको समग्र स्वास्थ्य अवस्थाको जानकारी गराउने उद्देश्यले कार्यक्रम ल्याइएको हो। रोगको पहिचान भएपछि सम्बन्धित रोगको उपचार भने बिरामी स्वयंले गर्नुपर्नेछ। चालु आवमा पाँच अस्पतालबाट लक्षित वर्गका करिब १० हजार जनाको स्वास्थ्य परीक्षण गरिने लक्ष्य लिइएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता विष्टले बताए। अस्पताललाई प्रतिव्यक्ति दुई हजार दुई सयका दरले स्वास्थ्य परीक्षण शुल्कबापतकोरकम मन्त्रालयले उपलब्ध गराइसकेको छ।

    आगामी आर्थिक वर्षदेखि लक्षित क्षेत्रबाहेकका अन्य नागरिकले पनि सशुल्क स्वास्थ्य परीक्षण सेवा लिन सक्नेगरी व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।

    लक्षितवर्ग बाहेकका ३० वर्षभन्दा माथिका नागरिकले स्वास्थ्य परीक्षण गर्दा तोकिएको प्याकेजको रकमबाट २५ प्रतिशत छुट दिने व्यवस्था गरिने प्रदेश सरकारले बनाएको कार्यविधिमा उल्लेख छ। मन्त्रालयले हेटौँडाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई कार्यक्रम सञ्चालनबारे अभिमुखीकरण दिइसकेको छ। हेटौँडा अस्पतालमा दैनिक ३० जनासम्मको स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ। वडा कार्यालयले सिफारिस गर्दा स्वास्थ्य परीक्षण गर्ने मितिसमेत तोकेर सिफारिस गर्ने र दैनिक ३० जनासम्मको मात्र परीक्षण गर्ने भएकाले लाइनमा बस्नुपर्ने समस्स्या नहुने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख विष्टको भनाइ छ।

    तोकिएको १६ प्रकारको परीक्षणमध्ये लागि हाल तोकिएको सबै अस्पतालमा जनशक्ति र प्राविधिक उपकरण भने छैनन्। सबै अस्पतालमा युसएसजी, ईसीजी, मृगौला जाँच गर्ने जस्ता उपकरण भने नरहेको मन्त्रालयका प्रवक्ता विष्टको भनाइ छ। आवश्यक उपकरण र जनशक्ति पनि प्रदेश सरकारले सहयोग गर्दै जाने र हाल उपलब्ध सेवा भने सञ्चालन गर्दै जाने बताइएको छ। हेटौँडा अस्पतालमा भने तोकिएका सबै परीक्षण गर्न जनशक्ति र उपकरण रहेको मन्त्रालयले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]