समाज

साढे १२ हजार शिक्षक तीन महिनाभित्र पूर्ति गर्ने विभागको तयारी

चैत १६, २०७५

    काठमाडौं : मुलुकमा नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ। वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ। विद्यार्थी विद्यालयका नयाँ कक्षामा जाने बेला आउँदा त्यहाँ पढाउनका लागि हजारौँ शिक्षकको भने अभाव छ।

    शिक्षा विभागका अनुसार मुलुकभरका विद्यालयमा १२ हजार ७३९ शिक्षकको अभाव छ। त्यसको पूर्ति गर्नका लागि शिक्षक सेवा आयोग लागे पनि ती पद कहिले पूर्ति हुने हो निश्चित छैन।

    शिक्षा विभागका निर्देशक नरेन्द्रप्रसाद रेग्मीले नयाँ शिक्षक नियुक्तिका लागि सम्बन्धित निकाय शिक्षक सेवा आयोगलाई निर्देशन दिएको बताए। उनले भने, ‘देशभर १२ हजार शिक्षकको अभाव छ। यसको पूर्तिका लागि हामीले शिक्षक सेवा आयोगलाई निर्देशन दिइसकेका छौँ। त्यसका लागि आयोगले नियुक्ति गरिरहेको जानकारी दिएको छ।’

    किन भएको हो त यति ठूलो संख्यामा शिक्षक अभाव? रेग्मीले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई अवकाश दिने सरकारको निर्णयले १२ हजारभन्दा बढी शिक्षकको तत्काल आवश्यकता परेको बताए।

    शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकका लागि करिब २३ हजार अस्थायी शिक्षकले फारम भरेको बताए। उनले भने, 'फाराम भरेकालाई मात्र हामीले गणना गरेका हौँ।' फाराम नभरेका अस्थायी शिक्षक पनि हुन सक्ने उनको आँकलन थियो।

    यसबीच अस्थायी शिक्षकलाई स्थायी बनाउने पक्रियामा सहभागी भएका २३ हजार मध्येबाट करिब १४ हजार शिक्षक स्थायी बनेका थिए। जसमा प्राथमिक तहका लागि १० हजार ८००, निम्न माध्यमिक तहका लागि दुई हजार र माध्यमिक तहका लागि एक हजार ४०० गरी १४ हजार २०० को हाराहारीमा शिक्षक उत्तीर्ण भएका थिए।

    कुन–कुन तहका लागि कति शिक्षक आवश्यक

    शिक्षक सेवा आयोगमा मा.वि., नि.मा.वि. र प्रा.वि. तहका लागि १२ हजार ७३९ शिक्षकको अभाव रहेको तथ्यांक छ। शिक्षक सेवा आयोगले अभाव शिक्षकको नयाँ भर्नाका लागि खुल्ला विज्ञापन सुरु गरिसकेको जनाएको छ।

    शिक्षक सेवा आयोगले खुल्ला विज्ञापनमा प्राथमिक तहका लागि मात्र नौँ हजार ९९६ शिक्षक माग गरेको थियो। त्यस्तै, निम्न माध्यमिक तहका लागि एक हजार ६३५ र माध्यमिक तहका लागि एक हजार १०८ गरी जम्मा १२ हजार ७३९ शिक्षकको माग राखिएको थियो। जसअनुसार अहिले उनीहरूको उत्तरपुस्तिका जाँचको प्रक्रिया चलिरहेको खकुरेलले बताए।

    खुल्ला विज्ञापनबाट लिएको शिक्षकहरूको लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशनका लागि शिक्षक सेवा आयोग सक्रिय रूपमा खटेको र नतिजा सकेसम्म छिटो निकाल्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ।

    शिक्षा ऐन २०२८ (नवौँ संशोधन) को दफा ११(च) को उपदफा ९ अनुसार  आन्तरिक परीक्षामा असफल भएका अस्थायी शिक्षकहरूलाई सुविधासहित अवकाश दिने प्रक्रिया आरम्भ गरेको छ।

    निर्देशक रेग्मीले शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको र देशभर शिक्षकको अभाव भएको बताए।

    यसरी हुनेछ शिक्षक व्यवस्थापन

    शिक्षक व्यवस्थापनको जिम्मेवारी शिक्षा विभागको हो। शिक्षक व्यवस्थापनमा शिक्षक उत्पादन, शिक्षक तालिम, शिक्षण लाइसेन्स, नियुक्ति, सरुवा बढुवा, अवकाश र अवकाशपछिको सेवा सुविधालाई समेत जोडिएको हुन्छ। शिक्षक सेवा आयोगका सूचना अधिकारी खकुरेलले शिक्षा विभागले तहअनुसार शिक्षकको माग गरेपछि मात्र शिक्षक सेवा आयोगले शिक्षक पूर्तिको काम र व्यवस्थापन गर्ने गरेको बताए।

    शिक्षक व्यवस्थापनमा उल्लेख अवकाश र अवकाशपछिको सुविधा समय हेरेर मात्र दिने गरेको छ। खकुरेलले भने, ‘अवकाश शिक्षकले कति वर्ष काम गरेको हो, कति पटक शिक्षक सेवाका जाँच दिएको हो त्यही हेरेर सुविधा दिने नियम छ।’ उनले आन्तरिक परीक्षामा हुने प्रतिस्पर्धाले गर्दा २० वर्ष काम गरेको दिर्घसेवी अस्थायी शिक्षक खाली हात अवकाश हुनुपर्ने बाध्यता रहेको समेत बताए।

    अहिले अवकाश भएका शिक्षकले भने अनिवार्य रूपमा सेवा सुविधा पाउने व्यवस्था रहेको खकुरेलले बताएका छन्। उनले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकै बेला १२ हजार शिक्षक अवकाश हुँदा र विधालयमा शिक्षकको अभाव हुँदा आपत्ति जनाए। उनी भन्छन्, ‘हामी १२ हजार अभाव शिक्षकको पूर्ति गर्न कटिबद्ध रूपमा लागेका छौँ,पक्रिया नसकिँदा सम्म शिक्षक सेवा आयोगका सम्पूर्ण कर्मचारी लागि नै रहनेछौँ।’

    शैक्षिक सत्र सुरु हुँदा कुनै पनि विद्यालयमा शिक्षकका कारण कक्षाकोठा रित्तो नहोस् भन्ने कुरालाई अघि सार्दै अहिले शिक्षक सेवा आयोग धमाधम शिक्षक नियुक्ति प्रक्रियामा लागि परेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]