समाज

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार घिमिरे र जोशीलाई

चैत १६, २०७५

    काठमाडौं : रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार रिपब्लिका अंग्रेजी दैनिकका प्रधान–सम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ।

    राजधानी र मोफसलका वरिष्ठ पत्रकारहरूलाई दिँदै आइरहेको उक्त पुरस्कार यो वर्ष राजधानीतर्फबाट घिमिरेलाई र मोफसलबाट जोशीलाई प्रदान गरिने भएको हो। यो पुरस्कारको राशि एक लाख रहेको छ। घिमिरे र जोशीलाई जनही ५०/५० हजार रुपैयाँ प्रदान गरिने भएको छ।

    शनिबार अपरान्ह क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बसेको पुरस्कार छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो। घिमिरे लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। छोटो समयमा अंग्रेजी पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै घिमिरेले व्यावसायिक पत्रकारिताको संस्थागत विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

    जोशी श्री सार्थक साप्ताहिकका प्रधान–सम्पादक हुन्। उनी तीन दशकभन्दा बढी समयदेखि मोफसलको पत्रकारितामा सक्रिय छन्।

    नेपाली राजनीतिका चर्चित हस्ती, जननेता, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो।

    यो वर्षको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक वरिष्ठ उप–सम्पादक राजेश मिश्रलाई दिने भएको छ। मिश्रलाई प्रदान गरिने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। मिश्र डेढ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्।

    यसैगरि कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ। दाहाल झिल्को डटकममा समेत आवद्ध छन्। उनलाई दिइने उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ। दाहाल लामो समयदेखि पत्रकारितमा सक्रिय छन्।

    यसैगरी, यस वर्षको शहीद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार पत्रकार डिल्ली बसेललाई प्रदान गर्ने निर्णय गरेको छ। बसेल इमेज च्यानल टेलिभिजनका समाचार सम्पादक हुन्। दुई दशकभन्दा बढीदेखि पत्रकारितामा सक्रिय बसेललाई दिइने उक्त पुरस्कारको राशि २५ हजार रहेको छ।

    यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार सन्तोष न्यौपानेलाई प्रदान गरिने भएको छ। नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता र उत्पादकको रूपमा कार्यरत पत्रकार न्यौपानेलाई प्रदान गरिने यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। न्यौपाने लामो समयदेखि पत्रकारितामा सक्रिय छन्।

    यो वर्षको क्रियाशिल युवा पत्रकारिता पुरस्कार–२०७५ राजधानी दैनिकका समाचार सम्पादक ध्रुव लम्साललाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। लम्साल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्।

    त्यसैगरि, यो वर्षको क्रियाशिल महिला पत्रकारिता पुरस्कार पत्रकार उषाकिरण कँडेललाई प्रदान गरिने भएको छ। मोफसलबाट पत्रकारिता यात्राको सुरुवात गरेकी कँडेल हाल नेपाली रेडियो नेटवर्कमा कार्यरत छिन्। उनलाई दिइने उक्त पुरस्कारको राशि १० हजार रहेको छ।

    यी पुरस्कार यही चैत्र १७ गते आइतबार रिपोटर्स क्लब नेपालको २१ औं  वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदान गरिनेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]