स्वास्थ्य

अबदेखि ब्लड बैंकको सेवा रेडक्रसको केन्द्रीय कार्यालय सोल्टीमोडबाट

चैत १७, २०७५

    काठमाडौं :  नेपाल रेडक्रस सोसाइटीले ललितपुरको बालकुमारीबाट सञ्चालन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (व्लड बैंक) को सेवा आइतबारदेखि  काठमाडौंको सोल्टीमोड स्थित रेडक्रसको केन्द्रीय कार्यलयबाट सुरु भएको छ।

    रेडक्रसले यसअघि बालकुमारीबाट उपलव्ध हुँदै आएको रक्तसञ्चारसम्बन्धी सम्पूर्ण सेवा आइतबारबाट आफ्नो केन्द्रीय कार्यालय परिसरमा बनाएको नयाँ ब्लड बै‌ंक भवनबाट उपलव्ध गराउने ब्लड बैंकका निर्देशक डा मनिताराज कर्णिकारले बताइन्। २०७२ साल वैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि रेडक्रसले सो सेवा २०७२ पुसदेखि बालकुमारीमा रहेको रक्तसञ्चार आपत्कालीन सेवा केन्द्रबाट उपलव्ध गराउँदै आएको थियो। बालकुमारीमा ब्लड बैंक टाढा भएको धेरै जनगुनासो आएपछि आफूहरूले ब्लड बैंकको सेवा दिने ठाउँ पायक पर्ने ठाउँमा सारेको निर्देशक डा कर्णिकारले बताइन्।

    उनले भनिन्, 'बालकुमारीबाट सेवा दिँदा साँगुरो भएको, धेरै सेवाग्राहीलाई यातायात सेवाको दृष्टिले अपायक परेको गुनासो आइरहेको हुनाले हामीले सबैलाई पायक पर्ने ठाउँमा ब्लड बैंक सारेका हौँ।'

    थाई रेडक्रसको सहायोगमा निर्माण भएको यो नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुनेसमेत उनले बताइन्। त्यसबाहेक रक्तदाता व्यक्ति, संस्थाहरुबाट रक्तसंकलनको समन्वय, रक्तसंकलनको लागि उत्प्रेरणात्मक गतिविधि तथा देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि सोल्टीमोडस्थित नयाँ भवनबाट हुने जानकारी दिए। भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको र सो अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि त्यहीँबाट सेवा सुरु हुनेसमेत उनले बताइन्। २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]