राजनीति

सुदूरपश्चिम प्रदेश : बजेट संशोधन नभएसम्म संसद् अवरोध गर्ने प्रतिपक्षीको अडान

असार १४, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेशका विपक्षी दलका सांदलहरूले सरकारले बजेट संशोधन नगरेसम्म प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट वितरणमुखी र विभेदपूर्ण रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले आफू कडारूपमा प्रस्तुत हुने बताएको छ।

    दुवै दलले शनिबार धनगढीमा संयुक्तरूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले बजेट संशोधन गर्नुपर्ने बताएका हुन्। लगातार चारपटकसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको बताउँदै नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारले बजेट संशोधन नगर्दासम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन्। ‘प्रदेश सरकारले असन्तुलित र अपारदर्शी बजेट प्रस्तुत गरेको छ’ उनले भने, ‘यस्तो बजेटले प्रदेशका नागरिकहरूको भलो गर्दैन।’

    सानातिना योजनालाई प्राथमिकता दिएका कारण भ्रष्टाचर बढिरहेको उनले बताए। उनले भने, ‘बजेट बनाउँदा विधि पद्धति सबै कुल्चिएको छ। साना तिना योजनामा रकम हालेकै कारण भ्रष्टाचार बढिरहेको छ।’

    रावलले प्रदेश सरकारले अर्थ विविध शीर्षकमा साढे छ अर्ब बढी बजेट छुट्ट्याएर कार्यकर्तालाई बाँड्ने योजना बनाएको आरोप लगाए।  ‘प्रदेश सरकारका योजना एक हजार, ५ हजार, २० सम्मका पनि छन् यो त लाजमर्दो कुरा हो’, उनले भने, 'यो कार्यकर्तालाई बाढ्ने योजना हो। सरकार नसच्चिए हामी थप कडा रूपमा प्रस्तुत हुन्छौँ।’

    अवरुद्ध संसद् सुचारु गर्ने विषयमा सरकारसँग तीनपटक वार्ता भए पनि सहमति भने हुन नसकेको उनले बताए। ‘पटकपटकको वार्तामा सरकारले यसलाई गम्भीररूपमा लिएको पाएनौँ। दुईतिहाइको दम्भले पेलेरै जाने मनस्थितिमा सरकार गयो भने परिस्थिति राम्रो हुँदैन’ उनले चेतावनी दिए।

    कांग्रेसकै अर्का सांसद भरतबहादुर खड्काले आफूहरू बाध्य भएर प्रदेशसभा बैठक अवरुद्ध गरेको बताए। ‘बजेटमा नीतिगत भ्रष्टाचार देखिन्छ’ उनले भने, ‘यो बजेटले सुदूरपश्चिम प्रदेका नागरिकको जीवनस्तरमा सुधार ल्याउन सक्दैन। त्यसैका लागि हामीले प्रदेश सभा बैठक अवरुद्ध गरिरहेका हौँ।’

    विशिष्ट प्रकृतिको योजनाको लागि साढे तीन अर्व बजेट विनियोजन गरेको प्रति खड्काले असन्तुष्टि व्यक्त गरे। ‘यो कार्यकर्तालाई आफूखुसी बढ्ने तरिका हो’ उनले भने ‘यत्तिको भ्रष्टाचार मुलुकमा कहिले पनि भएको थिएन। अहिले आर्थिक अनुशासन भङ्ग भएको छ।’

    राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्ण चौधरीले बजेट विनियोजन सन्तुलित ढंगले नभएर स्वेच्छाचारी र विभेदकारी ढंगले भएकाले आफूहरू आन्दोलित हुनुपरेको बताए।

    ‘एक हजारदेखि २० हजारसम्मका पनि योजना छन्।  त्यसको विरोधमा हामीले सदन अवरुद्ध गरेका हौँ’ उनले भने, ‘प्रदेश सरकारले एउटा वडाले जत्ति पनि बजेट ल्याउन सकेको छैन।’ प्रदेश सरकारले पटक पटक वार्ताका लागि आह्वान गरे पनि बर्ता निकर्ष विहीन भइरहेको भन्दै वार्ता सफल नभए सम्म बैठक सञ्चालन गर्न नदिने उनले चेतावनी दिए।

    पत्रकार सम्मेलनमा दुई दलले सुदूरपश्चिम प्रदेशका महत्त्वपूर्ण गौरवका योजना भन्दै १६ योजना  निर्माणको माग गर्दै बजेटसमेत उल्लेख गरेका छन्।

    महाकाली कोरिडोर सडक निर्माण, धनगढी खुटिया कालोपत्रे, खुटिया दिपायल फास्ट ट्रयाक निर्माण, पश्चिम सेती जलविद्युत् परियोजना निर्माण कार्य, अघि बढाउने लगायत महत्त्वपूर्ण गौरवका योजनाहरू निर्माणको मागसमेत गरेका छन्।

    प्रदेश सरकारले ल्याएको रातो किताबलाई जलाएका प्रतिपक्षी दलको अवरोधका कारण यसअघि चारपटकसम्म संसद् अवरुद्ध भइसकेको छ।  प्रदेशसभाको आइतबारको बैठक पनि अनिश्चित बनेको  छ। प्रतिपक्षी दलहरूले सरकारसँग वार्ता सफल नभए सम्म बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]