समाज

‘धाकधम्की र त्रास देखाएर जग्गा कब्जा गरियो’

असार १८, २०७६

    जनकपुरधाम : धनुषाको धारापानीस्थित माध्यमिक विद्यालयको पर्खाल लागेको ७ कट्ठा जग्गामा विवाद बढ्दै गएको छ। विद्यालय प्रशासनले खरिद गरिसकेको जग्गा स्थानीय पशुपति कुमारी लामाले भू-माफिया र प्रशासनसँग मिलेर कब्जाको प्रयास गरेको आरोप लगाए। तर, लामाले धाकधम्की र त्रास देखाएर आफ्नो जग्गा विद्यालयले जरबजस्ती कब्जा गर्दा अन्यायमा परेको गुनासो गरेकी छन्।

    बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी ७ कट्ठा ९ धुर जग्गा विद्यालयले कब्जा गरेको बताइन्। उनले नापी कार्यालयबाट सर्वेक्षक जग्गा छुट्याएर गाडेको पिलरसमेत केहि उश्रृंखल व्यक्तिले फाल्नुका साथै शिक्षक र विद्यार्थीलाई उक्साएर आन्दोलन गर्न लगाएको उनले गुनासो पोखिन्। लालपुर्जा देखाउँदै उनले भनिन्, ‘जग्गा कब्जा गरेर विद्यालयले आफूमाथि अन्याय गरेको छ।’

    विद्यालयले करनबहादुर स्याग्बोले १ हजारमा ७ कट्ठा जग्गा खरिद गरेको दावी गरेको भर्पाइ नै नक्कली भएको दावीसमेत उनले गरेकी छन्। ‘विद्याललयले किनेको भनिएका व्यक्ति करनबहादुर मेरो कोही होइन्’, उनले भनिन्, ‘मेरो हजुरबुवाको नाम कर्णवीर स्याग्बो हो। निधन अगाडि नै उहाँ मेरी आमा श्याम कुमारीको नाममा जग्गा पास गर्नुभयो। अहिले त्यो जग्गा मेरो नाममा छ।’

    उनका अनुसार जग्गा कब्जा गरेपछि छलफल गर्दा विद्यालयले दुई जनालाई जागिर दिने र यो जग्गाको साटो अन्य ठाउँको जग्गा दिने आश्वासनसमेत दिएको थियो। तर अहिले कब्जा गरिएको जग्गा पनि नदिने र अन्य ठाउँमा समेत नदिने भन्न थालेका छन्। जग्गा कब्जा गरी धाकधम्की समेत देखाउँदा अहिले अशुरक्षित बनेको पनि उनले बताइन्।

    जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म ६ धुरका लागि मुद्दा लडेको बताउँदै उनले त्यो ६ धुर जग्गा विषयमा अदालतले विद्यालयको पक्षमा फैसला गरेको उनले स्वीकार गरिन्। उनले अदालतले फैसला गरेको जग्गा बाहेकका ७ कट्ठा ३ धुर जग्गा पनि कब्जा विद्यालयले गरेर हाल पर्खाल लगाएको बताइन्। उनले कब्जा गरिएको जग्गा उपभोग गर्न दिने वातावरण बनाइदिन सरकारसँग मागसमेत गरिन्।

    यता, विद्यालयले जग्गा विद्यालयले खरिद गरिसकेकोले फिर्ता गर्न नसकिने बताएको छ। विद्यालयका प्रधानाध्यापक प्रदीपकुमार साहले २०३३ सालमै ७ कट्ठा जग्गा १ हजारमा विद्यालयले खरिद गरिसकेको तर पास गराउन नसक्दा अहिले विवाद भएको बताए।

    उनले जग्गा खरिद गरेको भर्पाइ सक्कली भएको दावी गरे। उनले अदालतमा मुद्दा पर्दा त्यही भर्पाइको आधारमा विद्यालयको पक्षमा फैसला भएको भन्दै अहिले जग्गाको भाउ करोडौं भएपछि उनीहरूले आँखा गाडेको बताए।


    सम्बन्धित समाचार

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]