समाज

युवा पलायन रोक्न ‘एग्रो रिसोर्ट’

असार १८, २०७६

    बागलुङ : दिनदिनै बढेको बसाइँसराई र युवा बेरोजगारी हटाउन बडिगाडका युवाले 'एग्रो रिसोर्ट'मार्फत रोजगारी र उत्पादन अभियान थालेका छन्।

    बडिगाड गाउँपालिका ५ ग्वालीचौरका कृष्णबहादुर घिमिरे सहितका युवाले गाउँमै २ करोड लगानी गरेर रिसोर्ट बनाएका हुन्। घिमिरेलाई साथ दिन स्थानीय चार युवा तम्सेका छन्। दिननाथ पौडेल, शिव घिमिरे, शिवलाल घिमिरे र योगेन्द्र खरेलसहित ५ जनाले २ करोड लगानीमा गाउँमै कृषि फर्मसहितको होटल संचालनमा ल्याएका हुन्। २० युवालाई गाउँमै रोजगारी दिने संरचना तयार भइसकेको छ। मध्यपहाडी लोकमार्गको खारबजार नजिकै उनीहरूले ‘फूलवारी एग्रो रिसोर्ट’ संचालनमा ल्याएका हुन्। यो रिसोर्ट होटल मात्र नभई व्यावसायिक कृषि उत्पादनको फर्मसमेत हो।

    नाममै कृषि जोडिएकोले उनीहरूले पशुपालन, तरकारी खेती, माछा कुखुरा लगायतको उत्पादनसहित होटल संचालनमा ल्याएको बताए। ‘राजमार्गमा हिड्नेले यहाँ आएर मौलिक स्वाद पाउने वातावरण बनाएका छौँ’ घिमिरेले भने, ‘कुनै पनि आयात गरिएको खाना दिन नपारोस भनेर काम थाल्यौँ।’ आफ्नो जग्गाबाहेक वार्षिक ५ लाख भाडा तिर्ने गरी उनीहरूले ५० रोपनी जमिन लिएका छन्। त्यहाँ बेमौषमी तरकारी, गाई र भैँसीको गोठ, कुखुरा र बाख्राको खोर पनि बनाएका छन्। दुई वटा पोखरीमा ४ हजार माछा पालेका छन्।

    दैनिक २ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेका उनीहरूले अहिले ५० लिटर खपत भइरहेको छ। ‘तराईबाट किनेर ल्याएको खुवाउन धेरै रेष्टुरेष्ट छन्, त्यसैले हामीले फरक स्वाद र कम्तिमा २० युवा रोजगार दिने लगानी गरेका हौँ’ घिमिरे भन्छन्, ‘गाउँमा युवा पलायन भइसके, अब नरोके रित्तो हुनेछ।’

    मध्यपहाडी लोकमार्गले बुर्तिवाङ हुँदै रुकुमतर्फ कालोपत्रे गरिरहेकोले यो सडकमा दैनिक सयौँ यात्री हिड्न थालेका छन्। यात्रीकै आर्कषक गन्तव्य बनाउ“दा रोजगारी र लगानी बढाउन सकिने उनीहरू बताउँछन्।

    आफ्नो लगानी जस्तै आसपासमा अझै ५ वटा फरक फर्म संचालन भए युवा गाउँमा रोक्न सकिने खरेल बताउँछन्। ‘मलेसिया जाने युवाले घरछेउमै रोजगारी पाउने अवस्था बनाउन सक्नेले लगानी गर्नुपर्छ’ खरेलले भने, ‘कृषि उत्पादनमै जोड दियौँ भने बेसाहा खानु पर्दैन।’

    खानकै लागि करोडौं रकम भारत जाने प्रवृत्ति रोक्न उनीहरूले गाउँमा लगानी बढाउनसमेत पहल गरेको बताए। भारतदेखि आउने तरकारी, गेडागुडी, मासुजन्य पशुपंक्षी गाउँमै उत्पादन गरेर आत्मनिर्भर बन्न गाउँलेलाई सुझाव पनि दिंदैछन्। दूधका परिकारबाट कमाई गर्न घरघरमा पशुपालन गर्न उनीहरूले सिकाउन थालेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]