राजनीति

अर्थमन्त्रीको जवाफ : ‘हामी नीति निर्माता हौँ, योजना परेन भनेर रातभरि नसुत्ने हैन’

असार १९, २०७६

    पोखरा : गण्डकी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले दुई तिहाईको दम्भ नदेखाएको प्रष्ट पारेका छन्। प्रदेश सरकारले पेश गरेको विनियोजन विधेयक माथि छलफल गर्ने क्रममा प्रतिपक्षका सांसदहरूले सरकार निरंकुश र तानाशाही बनेको आरोप लगाएपछि बिहीबार मन्त्री गुरुङले संसदमा जवाफ दिँदै यस्तो बताएका हुन्। 

    ‘सरकारले दुई तिहाइको दम्भ देखायो पनि भन्नु भा' छ। हामीले दुई तिहाइको दम्भ देखाएकै छैनौँ’, मन्त्री गुरुङले भने, ‘दुई तिहाइको दम्भ केको लागि देखाउने? हामीलाई निरंकुश हुनु छैन। तानाशाही हुनु छैन। हामीले त यही गण्डकी प्रदेशको विकासलाई अगाडि बढाउने कुरा गरेका हौँ।’ उनले प्रतिपक्षका सांसदहरूलाई रातो किताब हेर्ने कष्ट गर्न पनि आग्रह गरे।

    ‘रातारात केहि गरियो, थपियो भन्ने कुरा शत प्रतिशत झुट हो। बजेट बत्तब्य पढ्ने भन्दा अघिल्लो दिनको राति १२ बजे भित्रै सिस्टम लक हुन्छ त्यसरी गर्नै मिल्दैन। कार्यक्रम थप्नै मिल्दैन। अन्यथा नसोच्दा हुन्छ’, उनले भने। संसदमा केहि सांसदहरूले प्रमुख प्रतिपक्ष दलका सांसदहरूसँग रातारात छलफल गरेर केही योजना थपिएको आरोप प्रत्यारोप पनि चलेको थियो।   

    प्रतिपक्षको आवाज सानै विषयको किन नहोस् बसेर छलफल गर्नुपर्छ भनेर छलफल गरिएको उनको भनाई छ। ‘चोर दुलोबाट कार्यक्रम घुसाइयो भनेर भ्रम सिर्जना गरियो। रातोकिताब पेस गरियो। त्यसमा बजेट प्रणालीमा इन्ट्री भएर प्रशासनमा छुट भएकाहरू पछि आए। बजेट प्रस्तुत गर्दा कुन हाइलाइट गर्ने बजेट प्रस्तुत गर्नेको अधिकार हो। बजेटमा सबै कुराहरु आउनुपर्छ भन्ने हैन।’ उनले विपक्षी सांसदहरूलाई जवाफ फर्काए।

    सात वटा प्रदेशको बजेटमा तुलना गर्दा गण्डकी प्रदेश उत्कृष्ट रहेको उनले दाबी गरे। पुँजीगत खर्च ६२ प्रतिशत गण्डकी प्रदेशको रहेको छ। ‘त्यसैले अरु प्रदेशको भन्दा बजेट राम्रो छ’, उनले भने, ‘कर्णालीको ६२ प्रतिशत रहे पनि ८ प्रतिशत स्थानीय तहलाई दिएको अनुदान पुँजीगत उनीहरूले राखेका छैनन। हामीले राखेका छौँ। त्यसैले गण्डकी प्रदेशको बजेट उत्कृष्ट छ।’ 

    सातवटै प्रदेश मध्ये गण्डकी प्रदेशको बजेट लैंगिक उत्तरदायी बजेट रहेको उनले दाबी गरे। ‘प्रतिपक्षका माननीयहरुलाई भन्न चाहन्छु बजेट बनाउँदा प्रतिपक्ष र सत्ता पक्ष भनेर भनेकै छैनौँ। माननीयहरूले लेखेर दिएका कतिपय कुरा परेका होलान्। कति नपरेका होलान्,’ उनले भने, ‘हामी माननीयहरू नीति निर्माता हौँ। विधायिका हाैं' यसमा हामीले गर्व गर्न सक्नु पर्छ। मैले दिएको योजना पर्‍याे की परेन भनेर रातभरि चाहिँ नसुत्ने गर्नुपर्छ जस्तो मलाई लाग्दैन। मलाई निन्द्रै लागेन भन्ने? तपाइँ त नीति बनाउने हो विधि बनाउने हो। राम्रो नीति विधि बनाउने हो। कानुन बनाउने हो विधान बनाउने हो।’

    सांसदहरुले बनाएको नीतिलाई सरकाले कार्यान्वयनमा लैजाने उनको भनाई छ। प्रतिपक्ष भएकै कारण आफुले भनेअनुसार गरेन भन्ने नसोच्न उनले आग्रह गरे।  केही दिन अघि नेपाली कांग्रेसका सांसद विन्दु थापाले सत्ता पक्षको सांसदको क्षेत्रमा बजेट धेरै परेको र आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै रातभर निन्द्रा समेत नलागेको बताएका थिए। 

    ‘बजेट भनेको सरकारले बनाउने हो। नमिठो नमान्नु होला’, उनले भने, ‘बजेट सरकारकै हो। यसमा प्रष्ट हुन जरुरी छ। सरकारका आफ्ना विभागहरू हुन्छन्, सरकारका आफ्ना कार्यालयहरू हुन्छन्। इकाइहरू हुन्छन्। यसलाई आधार मानेरै बजेट आएको हुन्छ।’ 

    हिजो परेको कुरा आज क्रमागतमा नपर्न पनि सक्ने उनले बताए। ‘सम्बन्धीत मन्त्रालयको सम्बन्धित कार्यालयहरूले हेर्ने कुरा हो। कार्यालयहरूले कार्यक्रम बनाउन नपाउने हो भने कसरी सरकार चल्छ?’ 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई इंकित गर्दै उनले पन्चायतकालीन सोँच बदल्न पनि आग्रह गरे। ‘हिजो पन्चायतकालमा नीति निर्माण दरबारबाट बन्थ्यो। राज्य पञ्चायतका सदस्यहरूले विकासका कामहरू गर्थे। त्यही सोँच र मानसिकता सर्दै हामी आएको हो। पञ्चायतकालको सोँचलाई फाल्नुपर्छ’, उनले भने। 

    आन्तरिक स्रोत परिचालन गरेर बजेट ल्याइएको उनले स्पष्ट पारे। आन्तरिक स्रोतको आधार कर तथा राजस्व संकलनलाई मानिएको छ। चालुतर्फ मितव्ययी हुँदै पुँजीगत खर्चलाई प्राथमिकता दिइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]