राजनीति

कम्युनिष्टमा नजोडिए बाबुरामको बौद्धिकताको के काम?

शान्ति प्रक्रिया भाँड्न खोज्नेले चिथोर्न थालेको गुनासो

असार २०, २०७६

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा टुंगिएको शान्ति प्रक्रिया भाँड्न अझै प्रतिक्रियावादीहरु लागिरहेको बताएका छन्। 

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकथरीलाई शान्ति प्रक्रिया मन नपरेको बताए। 

    ‘देशदेखि विदेशसम्म केही मान्छे शान्ति प्रक्रिया भाँड्न लागेका छन्। शान्ति प्रक्रियालाई कमाइ खाने भाँडो भयो रे भन्छन्’, उनले भने, ‘परिवर्तनको सुदृढीकरण र जनताको चहानाका लागि यो निकै नै घातक हो। शान्तिप्रक्रिया सफल भएको एकथरीलाई मन परेको छैन।’

    उनले १० वर्ष लामो सशस्त्र संघर्षपछि नेपालमा स्थापित शान्तिलाई कोपरेर फेरि हिंसा मच्चउने खेल भइरहेको उनले बताए। ‘खाटो बसेको घाउलाई कोपरेर, चिथोरेर शान्ति प्रक्रियामा क्यान्सर बनाउन एकथरी लागेका छन्’, उनले भने, ‘सबैखाले प्रतिक्रियावादी षडयन्त्रको पार्टी र सरकारले प्रतिवाद गरेको छ।’ 

    कम्युनिष्टहरुले सामाजिक न्यायका लागि बल गरेका बेला सबै साना शक्तिहरुले पनि यहीँ लाग्नुपर्ने उनको जिकिर छ। अध्यक्ष दाहालले सम्बोधनका क्रममा आफ्ना पूर्वसहयोद्धा बाबुराम भट्टराईलाई पनि सम्झिए।

    ‘उहाँहरुले हामीलाई छाडेर आफ्नै नेतृत्वमा नयाँ बनाउँछु भनेर हिँड्नु भएको छ। बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणति दिएको देखिँदैन’, दाहालले थपे, ‘कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ छैन ।’ 

    पार्टी एकता भत्काउन खोजियो

    अर्का अध्यक्ष केपी ओलीसमेत उपस्थित कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकता टुंगिइसकेको बताउँदै केही काम बाँकी रहेको उल्लेख गरे। ‘नेपालका कम्युनिष्ट एकै ठाउँमा उभिने सम्भावनालाई भत्काउन खोज्ने प्रतिक्रियावदीको प्रयास जारी छ’, उनले भने, ‘प्रतिक्रियावादीहरुको प्रयासका कारण पार्टीएको सबै काम पुरा हुने अझै दोसाँधमा पनि छ।’ 

    अघिल्लो वर्षको चुनावमा साझा उम्मेदवार खडा गरेदेखि नै दुष्प्रचार सुरु गरिएको बताउँदै दाहालले निर्वाचन आएपछि सरकार बनाउन पनि बाधा हालिएको स्मरण गरे।

    ‘पार्टी एकतामा बाधा गर्ने विभिन्न खालका कसरत पनि भएका थिए र भइरहेका छन्’, उनले भने, ‘धेरै साथीहरु नयाँ केही हुन्छ भन्ने ठान्नु भएर पार्टीबाट बाहिरिनुभयो। तर यो अहिले झल्यास्स हुनु भएको छ। अब नहुने रहेछ भनेर आउनुहुँदैछ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]