राजनीति

प्रचण्डको चिन्ता : सोझ्याउँछु भन्दै विप्लव हिँडे, रोहित कसरी मान्लान्, वैद्यलाई कसरी बुझाउनु?

चित्रबहादुर र बाबुरामलाई फकाउने सूत्र खोज्दै

असार २०, २०७६

    काठमाडौं : केन्द्रीय कार्यालयमा धुम्बाराहीमा शुक्रबार बिहान भएको पार्टी प्रवेश कार्यक्रम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गम्भीर देखिए। 

    अर्का अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित कार्यक्रममा बोल्दै उनीमाथि शान्ति प्रक्रियाबारे देशी–विदेशी चासो र नेत्रविक्रम चन्दसहितका अन्य शक्तिहरुको दबाब देख्न सकिन्थ्यो । 

    समाजवादी पार्टीबाट फर्किएकी पूर्वमन्त्री कल्पना धमलासहितलाई स्वागत गरेपछि बोल्ने क्रममा उनले प्रतिक्रियावादी शक्तिका कारण पार्टी एकता अझै दोसाँधमा रहेको टिप्पणी पनि गरे।

    त्यही क्रममा उनले एउटै कम्युनिष्ट पार्टी बनाउने क्रममा पुराना कम्युनिष्ट नेतालाई मनाउन र फकाउन नसकेकोमा चिन्ता जनाए । छोटो मन्तब्य राखेका उनले पुरानो पिँढीका मोहनविक्रम सिंहदेखि नयाँ पिँढीका नेत्रविक्रम चन्दसम्मलाई सम्झिन भ्याए । 

    उनको भनाइको सार थियो, पुराना पिढीका नेतालाई मनाउन सकिएन। ‘पुरानो पिँढीका केही नेताहरुलाई कसरी सम्झाउने चिन्ता लाग्छ’, उनले भने, ‘मोहन विक्रम सिंह र चित्रबहादुर केसीलाई कसरी सम्मान गर्ने, के सम्मान गर्ने? यो राष्ट्रको स्वतन्त्रता र स्वाधनीनताका लागि उहाँहरुलाई के गर्दा सम्मान हुन्छ? त्यसमा हामी कुनै कञ्जुस्याइँ गर्दैनौँ।’

    मन्तब्यका क्रममा आफ्ना कटु आलोचक भक्तपुरका नारायणमान बिजुक्छेलाई पनि प्रचण्डले सम्झिए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेलाई कुरा बुझाउन नसकेकोमा उनले आत्मग्लानी गरे । ‘भक्तपुरमा रहनु भएका रोहितजी पनि कम्युनिष्टको एउटा धारा हो। उहाँ पनि यहाँ हुनुपर्छ’, उनले भने, ‘उहाँलाई सम्झिन्छु, मलाई अनौठो लाग्छ। सबै मिलाएर लान के गर्दा ठीक होला, बडो चिन्ता लागेर आउँछ।’

    प्रचण्डले बोल्ने क्रममा आफूबाट अलग्गिएर गएका मोहन बैद्यलाई पनि सम्झिए। ‘तपाईँहरु मिडियाले भने जस्तै मोहन वैद्य गुरुप्रति हृदयदेखि सम्मान छ’, दाहालले सुनाए, ‘उहाँलाई कसरी बुझाउने होला चिन्ता लाग्छ।’

    अध्यक्ष दाहालले मन्तब्यका क्रममा कुनैबेलाका अर्का सहयोद्धा विप्लवलाई पनि स्मरण गरे। ‘प्रचण्डले बाटो बिरायो, अब सोझयाउँछु भनेर हिँड्नु भएको छ’, दाहालले भने, ‘नहुने बाटोमा गएर सोझिँदैन, विप्लवजी पनि जतिसक्दो चाँडो एउटै कम्युनिष्ट अभियानमा समाहित हुनुपर्छ।’ 

    कम्युनिष्टहरुले सामाजिक न्यायका लागि बल गरेका बेला विप्लवहरुले पनि यहीँ लाग्नुपर्ने उनको जिकिर छ। अध्यक्ष दाहालले सम्बोधनका क्रममा बाबुरामलाई पनि सम्झिए। ‘उहाँहरुले हामीलाई छाडेर आफ्नै नेतृत्वमा नयाँ बनाउँछु भनेर हिँड्नु भएको छ। बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणति दिएको देखिँदैन’, दाहालले थपे, ‘कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ छैन ।’ 

    दाहालले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा केन्द्रित हुने पहल गर्न पनि अपिल गरे। ‘राष्ट्रको समृद्धिका र एकताका लागि एक ठाउँमा जोडिनुपर्छ। घरमा बसिरहेका भन्दा घरबाट बिहान हिँडेर फर्केको मान्छेको माया धेरै लागे जस्तै भएको छ’, उनले थपे, ‘मलाई के लाग्छ भने नेपाल कम्युनिष्ट पार्टी दुइटा धाराबाट बग्दै मिसियौँ एकै ठाउँमा। दुईटा स्कुल मर्ज गरेर एउटै विश्वविद्यालय बनाउन आएका छौँ । वर्षौंदेखिको स्कुलिङको कारणले हामी एक ठाउँमा आउनुपर्छ। बाँकी रहेकालाई छिटो भन्दा छिटो आउन आग्रह गर्दछु।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]