मनोरञ्जन

'चलचित्रमा जे गर्दा हाँस्छन् त्यही गरिदिन्छन्'

असार १९, २०७३

    काठमाडौं  :  नेपाली चलचित्र र टेलिभिजनमा महिला, जनजाति, दलित र मधेसीलाई कसरी चित्रण गरिएको छ भन्ने बारेमा काठमाडौंमा आइतबार छलफल गरिएको छ। छलफलका वक्ताहरुले नेपाली चलचित्र र टेलिभिजन कार्यक्रमहरुमा महिला, दलित, जनजाति र मधेसीलाई प्रस्तुत गर्दा बदलिएको समाजको चरित्र अनुसार प्रस्तुत गर्ने नगरिएको बताए।

    नेपाली चलचित्र र टेलिभिजन सिरियलमा दलितलाई गरिब, फोहोर र घिनलाग्दो चरित्रमा देखाउने गरेकोमा आहुतीले असन्तुष्टि व्यक्त गरे। उनले टेलिभिजन र चलचित्रमा सिनो खाइरहेको दृश्य देखाउनेले सिनो खान हुन्न भन्ने सन्देश पनि दिनुपर्ने बताए। उनले कलाकार र सर्जकले जुन कुरा गर्दा दर्शक हाँस्छन् र ताली पिट्छन् त्यहीँ कुरा देखाउने गरेको आरोप लगाए। ‘यहाँ त थ्योरी नै भइदियो, जे गर्दा हाँस्छन्, त्यै गरिदिन्छन्’ आहुतीले भने। उनले यस्तो गर्न सर्जकलाई छुट नभएको बताए।

    साहित्यकार धिरेन्द्र प्रेमर्षीले टेलिभिजन र चलचित्रमा मधेस पात्र देखाउँदा वास्तविक चरित्र चित्रण नगर्ने गरिएको बताए। उनले भने ‘जो संलग्न छन् उनीहरुलाई समाजबारे थाहा छैन, जे गरे पनि ताली बजिहाल्छ भनेर काम गरिरहेका छन्।’ उनले कलाकार र सर्जकले समाजप्रतिको दायित्व कत्तिको बहन गरेको छ भन्ने विषयको मापन गर्नुपर्ने बताए।

    नेपाल स्वतन्त्र चलचित्र कलाकार समाज र नेपाल नीति केन्द्रले गरेको कार्यक्रममा चलचित्रकर्मी नबीन सुब्बाले पात्रको चरित्र चित्रण गर्दा सर्जक धेरै सचेत हुनुपर्ने बताए। उनले सर्जकलाई समाजको चित्रण गर्न ‘स्वतन्त्रता दिने, तर थप सचेततापूर्वक प्रस्तुत हुन सचेत गराउनुपर्ने’ बताए। ‘रचनाकार सचेत हुनुपर्‍यो, कस्तो देखाउने, नदेखाउने भन्नेबारे बन्देज लगाउने भन्दा आलोचनाबाट सुधार गरेर अघि बढ्नुपर्छ’ सुब्बाले भने।

    टेलिभिजनमा महिलाको चित्रणबारे अनुसन्धान गरेकी दीपा गौतमले नेपाली चलचित्र र टेलिभिजनमा महिलाको वास्तविक चित्रण हुन नसकेको बताइन्। ‘समाज महिलालाई घरभित्र धोती लगाएर श्रीमानलाई सधै स्वागत गर्नुपर्छ भन्ने मान्यताबाट परिवर्तन भइसकेको तर चलचित्र र टेलिभिजनमा भने त्यो हुन सकेको छैन’ उनले भनिन्। 

    सर्जक वा लेखक सचेत भयो भने अधिकारका कुरा गर्न आवश्यक नपर्ने बताइन्। गौतमले भनिन् 'मुहानमै कन्ट्रोल हुनुपर्छ जसले रचना गर्ने हो त्यो मान्छे नै सचेत हुनुपर्ने हो। जुन भयो भने हामीले अधिकारका कुरा गर्नै पर्दैन।’

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]