समाज

धनकुटामा अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु

के गर्नुपर्छ अनलाइन जग्गा पास गर्न?

साउन १९, २०७६

    धनकुटा : मालपोत कार्यालय धनकुटाले आइतबारदेखि अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ। कागजी प्रक्रियाबाट काम गर्दा ढिलो र झण्झटिलो भएको भन्दै अनलाइनमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको कार्यालयले जनाएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि द्वाडीले धनकुटाका कर्णबहादुर तामाङको जग्गा किन्ने लक्ष्मी तामाङलाई डिजिटल मालपोत रजिष्ट्रेशन नम्बर प्रदान गरी अनलाइन सेवा आरम्भ गरेका हुन्।

    भूमिसुधार मन्त्रालयले एकपछि अर्को गर्दै मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजान सुरु गरेको छ। काठमाडौंको कलंकी मालपोत कार्यालयबाट सुरु गरिएको अनलाइन प्रणाली हालसम्म १ सय ३१ मालपोत कार्यालयमध्ये ७८ मालपोत कार्यालयमा सुरु भएको छ। गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाँझी गरि फरकफरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृयामार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको महानिर्देशक द्वाडीले बताए।

    सेवाग्राहीलाई सेवा प्रवाहमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ अनलाईन प्रणाली सञ्चालन गरिएको मालपोत कार्यालय धनकुटाका प्रमुख जितमान जिमीले बताए। अनलाइन प्रणाली सुरु भएपछि आफ्नो जग्गा कति छ भनेर सेवाग्राहीले मोबाइलमार्फत नै विवरण लिन सक्ने जिमीको भनाई छ। अनलाइनका कारण कसैले जालझेल गरि अरुको जग्गा बिक्री वितरण गर्न लागेको अवस्थामा तुरुन्त जग्गावालले जानकारी पाउनेसमेत जीमीको भनाइ थियो।

    कामलाई छिटो छरितो र प्रभावकारी बनाउन सुरु गरिएको अनलाइन प्रणाली पूर्णरूपमा भने सुरु गरिएको छैन। अनलाइन प्रणालीमा जग्गा पास गरेपनि अफलाइन रेकर्ड पनि राख्ने गरिएको छ।

    के के गर्नुपर्छ अनलाइन जग्गा पास गर्न?

    अनलाईन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्था अनुसार नै तमसुकमा लेख्नैपर्छ। त्यसकारण यसलाई पूर्ण रुपमा अनलाईन भने भनिदैन। पूर्णरूपमा अनलाइन भएपछि भने तमसुक(लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण)मा भने  लेख्ने झञ्झट हुँदैन।

    तमसुकमा लेखेपछि त्यसैको आधारमा अनलाइन प्रणालीमा फारम दर्ता गरिन्छ। आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाइनमा इन्ट्री गर्छन्। त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्छन्। मालपोत अधिकृतपछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्छन्।

    त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ। विद्युतीय औँठाछाप पनि लिइन्छ। औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ।

    एकपटक अनलाइनमा रखिएको डाटा अर्को पटक किनबेच गर्दा झनै छिटो हुन्छ। अहिलेको अनलाइन प्रणालीको अफलाइन रेकर्ड पनि राख्ने हुँदा दुई तीन घण्टासम्म समय लाग्छ। अनलाइनमा रखिएको डाटा अर्कोपटक किनबेच गर्दा भने एक घण्टा पनि समय नलाग्ने द्वाडीले बताए।

    अनलाइन प्रणालीमा काम गर्दा जनशक्ति पनि थोरै चाहिने र काम पनि धेरै छिटो हुन्छ। जग्गामा मोही लागेको छ की, हदबन्दी छ की सबै कुरा कम्प्युटरमा हात राख्ने बित्तिकै थाहा पाइन्छ। कसको जग्गा कति छ भन्ने पनि एक क्लिकमा थाहा पाइने उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]