अर्थ

एउटा परीक्षणको सिर्जना ठमेल डटकम

असार २४, २०७३

    काठमाडौं : संयुक्त राज्य अमेरिकाबाट स्वदेश फर्केपछि परीक्षणका रुपमा सुरु गरेको ठमेल डटकमले छोटो समयमा यति धेरै सफलता प्राप्त गर्नेमा बालकृष्ण जोशीलाई विश्वास थिएन। 

    विश्वमा इन्टरनेटको बढ्दो प्रयोगसँगै नेपालमा पनि यसको सम्भावना छ कि भनेर सन् २००१ मा परीक्षणका रुपमा सुरु गरिएको ठमेल डटकम आज मुलुकबाहिर बसेका नेपालीलाई विश्वको जुनसुकै कुनाबाट स्वदेशमा सामान पठाउने उपयुक्त र भरपर्दो माध्यम बनेको छ। 

    अमेरिकामा उच्च शिक्षा अध्ययन सकेर स्वदेश फर्केका सहसंस्थापक बालकृष्ण जोशीले केही साथीहरुको सहयोगमा सन् २००१ मा नेपालकै पहिलो विद्युतीय व्यापार (इ–कमर्श) का रुपमा ठमेल डटकम सुरुवात गरेका हुन्।

    ‘क्लक बी बिजिनेस इन्नोभेसन्स’ले आयोजना गरेको कार्यक्रममा सफल उद्यमीका रुपमा आफ्नो सफलताको कथा सुनाउँदै ठमेल डटकमका सहसंस्थापक जोशीले भने– ‘हामीले यो गर्छु भनेर गरेको होइन। यो त परीक्षण गर्दागर्दै सिर्जना भएको हो।‘ 

    उनका अनुसार मुलुक बाहिर बसेका नेपालीले यस कम्पनीको वेबसाइटमा प्रवेश गरेर विश्वको जुनसुकै कुनाबाट स्वदेशमा आफ्ना परिवार र आफन्तलाई सामान पठाउन सक्छन्। 

    कम्पनीले हाल नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएर विदेशबाट इन्टरनेटका माध्यमले छिटो र सस्तो मूल्यमा पैसा पठाउने सुविधासमेत प्रदान गरेको उनले बताए।

    ‘केही सामान आयात गरेर सुरुवात गर्‍यौँ। यो काम हाम्रो समाजमा पूरै नयाँ कुरा भएकाले धेरै उतारचढाव भयो। कारोबार बढैसँगै साझेदार पनि बढाउँदै गयौँ। सोचेको भन्दा ठूलो काम भयो’, उनले भने। 

    कम्पनीले सामान पठाउने काम विश्वभरबाटै गरेको भए पनि पैसा भने केही नीतिगत चुनौतीका कारण हाल संयुक्त राज्य अमेरिका र बेलायत मात्र रहेको तथा निकट भविष्यमै कतारबाट पनि सेवा सुरु गर्ने भएको छ। 

    छोटो प्रक्रिया र इन्टरनेटबाट सिधै सम्पर्क गरी पैसा पठाउने भएकाले अन्य रेमिट्यान्स पठाउने कम्पनीका तुलनामा सस्तो भएको उनको दाबी छ। 

    कम्पनीले विश्वभरबाट सामान पठाउँदा क्रेडिट र डेबिट कार्ड तथा सुइफ्ट नेटवर्कबाट पठाउने गरेको छ। विदेशमा शाखा स्थापना गरेको उक्त कम्पनीले हाल १५० जनालाई रोजगारी दिएको छ। 

    विश्वव्यापीकरण र मानिसको व्यस्त जीवनशैलीले इ–कमर्श बढ्दै गएको बताउँदै जोशी भने– ‘प्रविधिले पैसा पठाउने प्रक्रियालाई सहज, विश्वासिलो र सस्तो बनाइदिएको मात्र होइन बीचमा रहने बिचौलियाको तहसमेत अन्त्य भएको छ।‘ 

    कम्पनीमार्फत मासिक रुपमा झन्डै तीन/चार हजार मानिसले स्वदेश पैसा पठाउने गरेको जानकारी दिँदै उनले सरकारका नीति परिवर्तनसँगै यस काममा चुनौती थपिने गरेको बताए।

    ‘हामीले ग्राहकलाई सिधै पैसा उपलब्ध गराउँदैनौँ तर कतिपयले पैसा खोज्छन्’ – सहसंस्थापक जोशीले भने। नेपालमा नेपालीले बनाएको उक्त कम्पनीलाई आगामी दिनमा विश्वभर फैलाउने योजना रहेको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]