समाज : मिडिया

'एक नम्बर भन्नेहरुलाई हाम्रो उपस्थिति चुनौतीपूर्ण'

मिडिया समाजको ऐना हो, ऐना आफै हिरो बन्न मिल्दैन : अजेयराज सुमार्गी

फोटो : दीपक केसी
असार १५, २०७३

    काठमाडौं : थाहा मिडिया ग्रुपका सल्लाहकार एवं उद्योगपति अजेयराज सुमार्गीले मिडियाले समाज जस्तो छ त्यस्तै देखाउनुपर्ने बताएका छन्। थाहाखबर डट कमको औपचारिक शुभारम्भ कार्यक्रममा सुमार्गीले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै ऐना आफैले आफूलाई राम्रो भन्न नमिल्ने बताए।

    'पत्रकारिता र मिडिया समाजको ऐना हो, यसको धर्म नै समाज जस्तो छ पाठकलाई त्यस्तै देखाउनु हो, समाजमा जे भैरहेको छ, जस्ताको तस्तै देखाउने काम मिडियाको हो', सुमार्गीले भने, 'ऐना आफैले आफूलाई हिरो छु भन्न पाउँदैन।'

    मिडियाले आफ्नो नियम आफै बनाउनुपर्ने उल्लेख गर्दै सुमार्गीले महिनौँ तलब नदिएर आफ्नो ब्यानर माथि छ भनेर दाबी गर्ने नेपाली मिडिया उद्योगमा थाहा मिडिया ग्रुपको उपस्थिति पृथक रहेको बताए। ‘पत्रकारितालाई आफ्नो पेशा र मर्यादा बनाउनेहरुका लागि थाहा मिडिया ग्रुप एउटा ढाडस र सहयोगी बन्ने छ’, उनले भने।

    समाजको ऐना बन्नुको सटो नेपाली मिडिया अति पैसामुखी बन्दै गएको उनले बताए। '३५ मिनेट विज्ञापन, पाँच मिनेटको समाचार दिएर कर्पोरेट कन्सेप्टनाम दिइएको छ’, उनले भने, ‘समाज जस्तो छ उस्तै देखाउनु मिडियाको चुनौती हो, यो धर्मबाट यताउता भए हामीलाई पनि पाठकले प्रश्न गर्नुपर्छ।‘

    पत्रकारिताको नाममा ब्ल्याकमेलिङ र बार्गेनिङ गर्नेहरुका लागि थाहा मिडिया ग्रुप चुनौती बनेर आएको उनले बताए। ‘पत्रकारिताको नाममा कोपभाजन गर्नेहरुको लागि, पत्रकारिताको नाममा ब्ल्याकमेलिङ र बार्गेनिङ गर्नेहरुको लागि हामी एउटा चुनौती बन्ने छौँ’, सुमार्गीले भने, ‘हामी दौडमा छौँ। हामी चाहन्छौँ दौड स्वतन्त्र होस्, सबै प्रतिस्पर्धी दौडिन पाउन्’, उनले भने, ‘अर्काको खुट्टा भाँचेर, दौडका अरु प्रतिस्पर्धी नराखेर एक नम्बर भन्नेहरुको लागि हाम्रो उपस्थिति निश्चित च्यालेन्ज हो।‘

    थाहाखबरले समाजका घटना र प्रवृत्तिलाई जस्ताको तस्तै पाठकमाझ प्रस्तुत गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। ‘हामी कसैलाई हराउन वा फुर्क्याउन आएका होइनौँ, हामी समाजजस्तो छ त्यस्तै देखाउन प्रण गर्छौँ’, उनले भने, ‘नागरिकलाई सचेत बनाउने थाहा अभियानका थालनीकर्ताको नाममा स्थापित यो संस्थाले कहिल्यै बैइमानी गर्ने छैन।‘

    राजनीतिमा ठिक निर्णय आउन नसकेका कारण ५० लाख भन्दा बढी नेपाली रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यता आएको उल्लेख गर्दै उनले नेताहरुलाई राजनीतिक स्थायित्वका लागि काम गर्न आग्रह गरे। 'राजनीतिक दलहरुले एक पटक मुटुमा हात राखेर सोच्नुपर्ने आवश्यकता छ।' ‍

    थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले ८ वर्षअघि रेडियो थाहा सञ्चार मार्फत सुरु भएको यात्रा रेडियोको राष्ट्रव्यापी सञ्जाल हुँदै थाहाखबर डटकमसम्म आइपुगेको बताइन्। उनले अनलाइन मार्फत सत्य उजागर गर्नुका साथै देश विदेशमा रहेका नेपालीहरुसँग अन्तर्क्रिया गर्ने जानकारी दिइन्। अनलाइनमा अडियो भिडियो सामग्री पनि समावेश गरी पढ्ने मात्र नभइ सुन्ने र हेर्ने पनि बनाउने अध्यक्ष सुमार्गीले बताइन्।

    थाहाखबर डटकमका प्रधान सम्पादक तीर्थ कोइरालाले अनलाइन सञ्चार माध्यममा थाहाखबर नाम र प्रारम्भको हिसाबले मात्र नभएको बताए। ‘अनलाइन सञ्चार माध्यमहरुको पङ्तिमा हाम्रो नयाँ कदम हो’, उनले भने, ‘हामी नाम र प्रारम्भ मात्र होइन देश र जनताका लागि नयाँ कुरा पस्कन चाहन्छौं।' 

    प्रधान सम्पादक कोइरालाले आफूहरुले नभएको विषयलाई भएको र भएको विषयलाई ढाकछोप नगर्ने बताए। ‘हामी कसैलाई हराउन र तेजोबध गर्न होइन सत्य कुरा दिन आएका हौं’, उनले भने।

    गत असार ७ गते थाहा अभियानका सुरुवातकर्ता रुपचन्द्र बिष्टको १७ औँ स्मृति दिवसको अवसर पारेर सुरु भएको समाचार पोर्टल थाहाखबर डट कम एक हप्ताको प्राविधिक परीक्षण पछि बुधबारबाट औपचारिक शुभारम्भ भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • P.R.Chataut

    आदर्श ,मुल्य र मान्यताको पत्रकारिता आजका दिनमा सम्भव छ जस्तो लाग्दैन । हिजोका डन हरुसंग आजका पत्रकारको तुलना हुन थालेको छ । समाचार लेख्ने हैन बेच्ने परिपाटि विकशित हुदै गएको छ । कुरा सबै आदर्शको गर्छन् तर व्यबहार खै के भन्ने ..... बुझ्नै कठिन छ ? २४ बर्षे पत्रकारिता जिवनमा पछिल्लो अवस्था घत् लाग्दो छ। अब त सार्वजनिक स्थलमा पत्रकार बनेर हिड्दा पनि आत्मग्लानी भए जस्तो लाग्छ । कमसेकम सुदूरपश्चिमको पत्रकारिताको अवस्था त यस्तै छ , अपवाद बाहेक । अब थाहा संचारले चमत्कार गर्न सक्यो भने फेरि कमेण्ट गरौंंला ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]