बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
काठमाडौं : दिउँसो १ बजे। काठमाडौंको एभरेस्ट होटल अगाडिको सडक। प्रहरीहरु दुईवटा गाईलाई घरा हालेर बसिरहेका थिए। एउटा कालो र अर्को माली गाई। महानगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीलाई यी दुई गाई तह लगाउन हम्मेहम्मे परेको देखिन्थ्यो।
केहीबेरमा प्रहरीले दुबै गाईको घाँटी र सिङमा डोरीले बाँधे। सडकमा गाई हेर्नेको भीड जम्मा भैसकेको थियो। एकैछिनमा सडक जाम भयो। गाईलाई चढाउन ट्रक तयार थियो। तर ठाउँ नपुगेपछि उनीहरु अलि फराकिलो ठाउँ खोज्न हिँडे।
ट्रकको बारमा बाँधिएका गाईलाई पछाडि लगाएर प्रहरीहरु खाली ठाउँ खोज्दै नयाँ बानेश्वर चोकतिर लागे। ट्रकमा बाँधेका गाईलाई पछ्याउँदै हिँडेका प्रहरीलाई बटुवाहरु उत्सुक नजरले हेर्दै थिए।
करिब दश मिनेटपछि ट्रक संसद भवनको मूल गेटमा पुग्यो। त्यति नै बेला संसद भवनबाट पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल बाहिरिए। गाई बाँधिएको ट्रकका कारण खनालले केही समय गेटमै पर्खनुपर्यो। एकैछिनमा सुरु भयो गाईलाई ट्रकमा चढाउने काम।
संसद भवनको मूल गेट छेउमा हरियो घाँस भएको अलि अग्लो ठाउँ छ- काँडेतारले बारिएको। गाईलाई त्यही अग्लो ठाउँमा उकालियो र ट्रकको पछिल्लो भाग त्यसैको डिलमा जोडियो। हरियो घाँस देखेपछि गाईहरु खुरुखुरु चर्न थाले।
सुरुमा गाईलाई डोरी तानेर ट्रकमा चढाउन खोजियो तर गाई ट्रकमा चढ्न मानेन्। प्रहरीले गाईको कान समातेर ताने। अहँ गाई ट्रकमा उक्लन मानेनन्।
गाईको कान तान्ने र लठ्ठीले हान्ने गर्दागर्दै करिब आधा घण्टा बित्यो। बल्लबल्ल कालो गाई ट्रकमा उक्ल्यो। त्यसको करिब पाँच मिनेटपछि माली गाई पनि ट्रकमा चढ्यो। बल्ल मिल्यो प्रहरीलाई सफलता। गाईलाई बाँधेका डोरी फलामे बारमा बाँधेर ट्रकको टेकुतिर लाग्यो।
यी गाईलाई महानगर प्रहरीले तीनवर्षदेखि पछ्याइरहेको महानगर प्रहरीका असई राजकुमार चौलागाँईले बताए। ‘यी गाई अरु भन्दा बलिया र अटेरी थिए’, उनले भने, ‘थापागाउँका किसानले छाडा छोडेका हुन्।‘ गाईले दुध दिन छोडेपछि गाई पाल्नेले सडकमा छोड्ने गरेको उनले बताए।
अब यी गाईहरुलाई चार दिन टेकुमा राखिने छ। त्यतिन्जेल गाई धनी दावी गर्न आए एक हजारदेखि पाँच हजारसम्म जरिवाना तिराएर फिर्ता गरिनेछ। कोही दावी गर्न आएनन् भने महानगरपालिका, ट्राफिक प्रहरी, जिविस र महानगर प्रहरीको रोहवरमा लिलामी गरिने चौलागाँईले बताए।
हेर्नुस् फोटोहरु
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।