|

हो, आज हामी युवाहरू स्वस्फुर्त भेला भएर सरकारलाई विनम्रतापूर्वक आफ्ना कुरा राख्दै सचेत पनि गराएका हौँ। हामी कुनै समुह र पार्टीका कार्यकर्ता होइनौं, हामी देशका युवा सपुत हौँ। देशप्रेम हामीमा पनि छ।

सरकारको कामको फल हामीले पनि महसुस गर्न पाउनुपर्छ। सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्न पाउनु पर्छ । छोटो समयको लागि, हाम्रो दबाबपूर्ण आवाज सरकारले सुनोस् र अबका दिनमा गल्ती नदोहोर्याओस् भन्ने हाम्रो चाहना हो।

हामी सामाजिक दूरी कायम राखेर, मास्क लगाएर, आफ्नो झोलामा स्यानिटाइजर बोकेर भद्र रूपमा जम्मा भएर आफ्ना कुराहरू राख्दा आखिर प्रहरीमार्फत सरकारले हामीलाई बल प्रयोग गरेरै छाड्यो। धेरै संचारमाध्यमले खिचेका भिडियो र तस्विरहरूले बोल्छन् सरकार भन्दा हामी युवाहरू कति सुसंस्कृत, सभ्य र संयम भएर आन्दोलनमा थियौं भन्ने महसुस भयो। किनभने हामी ढुंगामुढा गरेर, अपशब्द बोलेर अभद्र तरिकाले उपस्थित भएका थिएनौं। सरकार यति हतास र आक्रामक हुनु जरुरी थिएन शायद, तर भइदियो । सरकार प्रति दयाको भाव उत्पन्न भयो । हाम्रो सरकार कति कमजोर रहेछ झै लाग्यो । 

सरकारले थोरै समय पनि हाम्रा कुरा सहन गर्न सकेन है ? सरकार प्रतिनिधिसभाको कक्षमा मात्र सीमित हो ? सरकारले के बोल्यो, कस्तो बजेट ल्यायो ? केमा कति खर्च बतायो ? कोरोना परीक्षण र ७८ दिनको लामो लकडाउनमा के रणनीति तयार गर्यो ? आगामी दिनमा के गर्दैछ ? हामी जान्न चाहन्थ्यौं। 

युवाले बुझेका छैनन् र सरकारको कमजोरी, भ्रष्टाचार अनि एकोहोरो अनियमितता ? जे कुरा सरकारले बोल्यो, गर्यो, देखायो र युवालाई ठिक लागेन अनि हामी सडकमा आएका हौँ। हाम्रा कुरा धैर्यपूर्वक सुनेर सम्बोधन गर्नुको सट्टा बल प्रयोग गरेर प्रहरीमार्फत हामीलाई तितरबितर पार्यो। कति साथीलाई समातेर लग्यो। तर, हामी सबैको आवाज थियो –
१    कोरोना परिक्षणको क्रममा आरडीटी परीक्षण मात्र गरेको छ पिसिआर परीक्षण राम्रोसँग सबैतिर भएको छैन त्यसलाई बढाऊ। संक्रमितहरुको संख्या थाहा पाउन आरडिटीले होइन पिसिआर परीक्षण गर्नुपर्छ, जसलाई डब्लुएचओले समेत प्रमाणित गरिसकेको छ।

२   क्वारेन्टाइन र भेन्टिलेटरको उचित व्यवस्था अझै छैन त्यसलाई बढाऊ। क्‍वारेन्टाइनमा बस्नेको हालत सबैले देखेका छौं । तर १० अर्ब खर्च के मा भयो ?
३    खर्चको पारदर्शिता बनाउ।
४    लकडाउन खोल्नु मात्र समाधानको उपाय होइन तर ७८ दिनसम्म जनतालाई घरभित्र राखेर सरकारले के रणनीति अपनायो ? मोडालिटी के बनायो ? सबैलाई बुझाऊ।
५    दैनिक मजदुरी र ज्यालादारी गरेर खानेलाई व्यवस्थापनका साथ लकडाउन खुल्ला गर।
६    स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सेवामा खट्ने व्यक्तिलाई पहिले पिपीई उपलब्ध गराऊ।
७    आप्रवासी नेपालीहरूको उद्दार गर।
८    सरकार तिम्रो बजेटको आफैं मूल्यांकन गर।
९    तिम्रो परिपाटी देखि हामी उदासिन छौं आफ्नो अक्षमताको स्वीकार गर र सुधार गर ।
१०  हाम्रा कुरा सुन, सम्बोधन गर, के नराम्रा कुरा राख्यौं हामीले ? सक्दैनौ त राजीनामा गर।

(बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शनमा उत्रिएका युवाहरुमाथि आज प्रहरीले हस्तक्षेप गरेको थियो । सो जुलुसमा सहभागीको ब्लग बाट)


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.