|

अर्घाखाँची : अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी ४ का ५७ वर्षीय यमप्रसाद खनाल रहेको मालारानी गाउँपालिकाका स्वास्थ्य प्रमुख भविश्वर खनालले बताए।

भारतको बम्‍बईबाट जेठ १५ गते आएपछि उनी स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए। एक्कासि हिजो मंगलबार स्वास्थ्यमा समस्या आएपछि सन्धिखर्क उपचार गर्न आएपछि उनलाई बुटवल लुम्बिनी अन्चल अस्पतालमा रिफर गरिएको थियो।

बुटवलबाट उपचार गरी फर्किंदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत विजय विकले बताए। भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। घाँटीको शल्यक्रियासमेत गरेका उनलाई श्वासप्रश्वासमा एक्कासि समस्या आएपछि उपचारका लागि क्वारेन्टाइनबाट निस्केका थिए। फर्कंदै गर्दा गोरूसिंगे सन्धिखर्क सडकखण्डको कोन्द्रे खोलामा मृत्यु भएको मृतकका छोरा प्रकाश खनालले बताए।

जेठ २३ गते उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको छ। तर रिपोर्ट आएको छैन। मृतक खनालसँगै विद्यालयको एउटै कोठामा अन्य ६ जना क्वारेन्टाइनमा बसेका थिए। उनीहरूको पनि सँगै स्वाब पठाइएको थियो। अहिले शवलाई जिल्ला अस्पतालमा लगिँदै छ। शवको व्यवस्थापन कसरी गर्नेबारे जिल्लामा छलफल भइरहेको बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.