खोजीमा तीन जिल्लाको प्रहरी, अवस्था अज्ञात

|

भक्तपुर : भक्तपुरको चुनदेवीमा मुसुलधारे वर्षापछि अरनिको राजमार्गमा आएको भेलले एक पुरुषलाई बगाएर बेपत्ता पारेको छ। 

बुधवार साँझ परेको मुसुलधारे वर्षापछि भक्तपुर नगरपालिका–१, चुनदेवीस्थित अरनिको राजमार्गको सर्भिस ट्रयाकमा आएको भेलले एक ट्रक चालकलाई बगाएर बेपत्ता पारेको हो। 

बेपत्ता हुनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ९ हेटौडा औद्योगिक क्षेत्र स्थायी घर भएका ना ६ ख १६१६ नं. का ट्रक चालक ५७ वर्षीय नरबहादुर राउत हुन्।

सल्लाघारीस्थित ख्वप हार्डवेयरमा सिमेन्ट झारी सर्भिस ट्रयाकबाट जाने क्रममा सडक र नालीबाट बगेको पानी सर्भिस ट्रयाकको किनाराबाट भूमिगत ढलमा बगिरहेको देखेपछि हेर्न गएका थिए।

आफूले चलाएको ट्रक उक्त ढलमा फस्छ कि फस्दैन भनेर हेर्न गएका राउत अचानक त्यहीँ खसेर बेपत्ता भएको ट्रकका सहचालक रुपेश सुनारले बताए।

अरनिको राजमार्गको सल्लाघारी–सूर्यविनायक खण्डमा सडकको पानी भूमिगत ढलमार्फत हनुमन्ते खोलामा खस्ने व्यवस्था गरिएको छ।

त्यही ढलमा खसेर ट्रक चालक राउत बेपत्ता भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी)ले जानकारी दिए।

चुनदेवीस्थित ढलमा खसेर मानिस बेपत्ता भएको खबर पाउनासाथ भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सविन प्रधानकै नेतृत्वमा प्रहरी घटनास्थल पुगेर खोजतलास गरिएको प्रहरीले जनाएको छ। 

घटनापछि प्रहरीले सल्लाघारी, राधेराधे, थिमि, गट्ठाघर, कौशलटार हुँदै काठमाडौं, भक्तपुर र ललितपुरको त्रिवेणीस्थल मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित हनुमन्ते मनोहरा दोभानसम्म खोजी गर्दा पनि राउतलाई फेला पार्न नसकेको डिएसपी गिरीले बताए। 

राउतको खोजीमा नेपाली सेना र सशस्त्र प्रहरी बलको दैविक प्रकोप उद्धार टोलीसमेत परिचालन गरिएको छ। उनलाई बगाएर लान सक्ने स्थानमा काठमाण्डौं र ललितपुरका प्रहरी समेत परिचालन गरी खोजतलास जारी रहेको डिएसपी गिरीले जानकारी दिए। 

प्रहरीले ट्रकका सहचालक सुनारसँग घटनाबारे थप सोधपुछ गरी अनुसन्धान कार्य भइरहेको डिएसपी गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.