|

बिहान ७ बजेतिर हामी गोरखाबाट मनास्लु पदमार्गको लाग्यौँ। केही घण्टा बसको यात्रापछि सोती बजार ओर्लियौँ। त्यहाँबाट  केही मिनेटको यात्रापछि खुर्साने पुगेर खाना खायौँ। बाटोमा साथी दीपकले रमाइलो गफ लगाउँदै  थियो। उसलाई जोक्स र उट्पट्याङ्ग कुराहरु मात्र गर्न आउने। २ बजेतिर लापुबेशी पुग्दा खुट्टाले धेरै नहिँड भन्दै थियो। केहीबेर थकाइ मारी खोलाको किनारैकिनार उत्तरतर्फ लाग्यौँ। अलि तल बूढीगण्डकी बेसुरले बगिरहेको थियो। बेलुकी पख माछाखोलामा पुगेर बास बस्यौँ। 

अर्को दिन बिहानैबाट हाम्रो यात्रा सुरु भयो। करिब २ घन्टा हिँडेपछि खोर्लाबेँशी पुगियो। त्यहाँबाट अर्को केही घण्टामा तातोपानी बजार पुग्न समय लागेन। इन्द्रलाई काँछ लागेर हिँड्न अत्यन्तै गाह्रो भएको थियो। केही फष्टएडको समान भएता पनि त्यसले राम्रोसँग काम गर्न भ्याएको थिएन। खाना खाएर हामीहरू तातोपानीमा केहीबेर नुहायौँ। त्यहाँको तातो पानीमा नुहाँउदा शरीरमा भएका रोग ब्याधाहरु निको हुन्छ भन्ने परम्परागत मान्यता रहदै आएको छ। त्यहाँ जाने अधिकांश पर्यटकहरुले तातोपानीमा नुहाउछन् पनि। 

हामीहरू विस्तारैविस्तारै अर्को २ घण्टामा दोभान पुग्यौँ जहाँ २/४ वटा पसल मात्र थिए। त्यहाँ पुगेर कफी पिउदै गर्दा साथीहरुसंग आजको साँझ त जगतमै पुगेर बस्नुपर्छ भन्ने सल्लाह भयो। यारु बगरमा खाजा खायौँ। क्यान्टीलिभर पुलमा केही थान फोटोहरु खिचेर साँझ हामी जगतमा बास बस्न पुग्यौँ। माछाखोलाबाट माथि मोबाइल फोनको सेवा थिएन। 

हामीहरू जगतमा पुग्दा रात छिपिँदै थियो। धेरै थकान र धेरै रोमाञ्चकबीच जारी हाम्रो यात्रालाई लोकल रक्सी र भेडाको मासुसँग मिलायौँ। मेरो केही वर्ष पुरानोे देखिको चिनजानको साथी विरुपको घर भएकाले पैसा तिर्न परेन। नत्र त त्यहाँ कहाँ छोइसक्नुको मूल्य हुन्छ र? मेरो पुरानो साथी भएकाले मलाई त केही लागेन तर साथीहरु पैसा नलिएकोमा अलि अप्ठेरो मान्दै थिए। अर्को दिन बिहान सल्लेरी, घट्टेखोला हुँदै हामीहरु सिर्दिबास गाउँ पुग्यौँ। साथी सुमनले खानाको बन्दोबस्त मिलाएका थिए। हामीहरु त्यो साँझ न्याक गाँउमा बास बस्न पुग्यौँ।

बूढीगण्डकीको कहिले वारि त कहिले पारी गर्दै जानु पर्ने यात्रामा दुवैपट्टि ठूलाठूला पहाडहरूले चेप्ला जस्तो गरी घुरेर बसेका हुन्थे। लेकको यात्रामा जंगली जनावरको पनि डर हुनाले अलि सजक भएर हिँडनुपर्ने। त्यसैमाथि भीरबाट गाईवस्तुले ढुङ्खा खसाल्न सक्छ। यी सबै कुराले यात्राको रोमाञ्चकतालाई डरले धक्का दिइरहेको थियो।

हिँड्दा खासै गर्मीको महसुस हुँदैन थियो। तर अल्छी गरेर बस्यो भने जाडो भइहाल्ने। पसिना सुकेर होलानी.. जति जति माथि गयो उति उति भाषाको समस्या थियो। त्यहाँको स्थानीयले नेपाली भाषा नबुझ्ने र हामीलाई लोकल भाषा नआउने। बिचबिचमा पर्यटन सम्बन्धि सुचनाहरु साने दाइले राख्नु भएकाले बाटोको मेसो पाइएको थियो।

हामी साँझपख बास बस्नको लागि न्याक गाउँमा पुग्याैं । हामी आउने थाहा पाएर सुर्यले खसी काटिसकेका थिए। गाउँका दिदी बहिनीहरूले रक्सी पार्नु भएको रहेछ। विगतमा मैले त्यस क्षेत्रमा बिभिन्न सामाजिक काम गरेका कारण उनीहरुले मलाई आदार गरे।  पर्यापर्यटनलाई ध्यानमा राखेर सुर्यले ३ वटा घर बनाई होमस्टे बनाएका रहेछन्। उनी गाउँको समाजसेवी, ठेकेदार, ब्यापारी, नेता र आबश्यकता अनुसार उनले विभिन्न किसिमको काममा सहयोग गर्छन्। त्यस कारण पनि उनलाई त्यहाँको गाँउलेले मान्ने गर्छन्। उनी पनि गाँउलेको लागि मरि मेटेर काम गरिरहेका हुन्छन्। 

न्याक गाँउ रुबिनाला ट्रेकिङ्गको बाटो पनि हो। बारपाक भएर रुवीनाला जानेहरु पनि न्याक गाउँमा बास नबसी फर्कने कोही हुँदैनन्। ३०/३५ घरको सानो झुपुक्क परेको गाँउमा धेरै विवाह नगरि वसेका महिलाहरु छन्। उनीहरुको बिबाह गर्ने मन नभएको पनि होइन तर पनि गाँउमा सबै जसो आफ्नै भाइखलक भएको अरु गाँउ त्यहाँबाट धेरै टाढा भएकाले पनि कोही माग्न आएनन्। आएकाहरुसंग पनि उनीहरु सजिलै गएनन्।

उनीहरुले गाउँ छोडी सजिलै भाग्ने आँटै गरेनन्। सबै दिदी बहिनीहरुको उस्तै कथा व्यथा, उस्तै भाका। सगैँ मेलापात अनि सगैं खेतबारीको काम। उनीहरुलाई बिवाह नभएकोमा कुनै पश्चाताप पनि थिएन। उनीहरुले जे भोगिरहेका छन् त्यसलाई कर्मको फलको रुपमा लिएका छन्। त्यही बुझेका छन्। 

बेलुकी दिदि बहिनिहरुले आफ्नो संस्कार अनुसार स्वागत गरे। सेलरोटी र सिमीको अचार बनाईएको रहेछ। खसीको आधा मासुलाई सेकुवा, आन्ध्राभुडीलाई छुट्टै फ्राई गरेको। सूर्य सानैदेखि वजार बसेर पढेका। उनलाई यस्तो काममा राम्रो ज्ञान र सीप थियो। हामी सबैजना उहाँहरुको स्वागतलाई सहर्ष स्वीकार गरि खाजा खाएर नाच्न गाउन थाल्यौं। सूर्यको गितको घ्याम्मो यति ठुलो कि जति रात जति दिन गाए पनि नसकिने। गाउन आउने मानौकी उनीसंग गितको खानी नै छ।

 साथमा मैले बिच्चबीचमा थपिदिएको थिएँ। दिदि बहिनीहरु पनि कोही भन्दा कोही कम थिएनन्। मेरो र कुमारीको दोहोरीले रातको ११ बजायो। त्यत्ति बेलासम्म उत्तमले २ बोतल सकेको रहेछन्। त्यति बेलासम्म कसैले खाना खाएका थिएनन्। 

चेतन र इन्द्र खुब नाचे। दीपकले ताली मात्र बजाएर साथ दिए। गीतमा माया, प्रेम, मिलन, बिछोड, हिमाली भेगको दु:ख अप्ठेराहरु, उकाली ओरालीको अनुभूति झल्कन्थो। हाम्रो लागि न्याकमा आएर त्यो रमाइलो गर्न पाउनु पनि ठुलै अवसर थियो। बेलुकी दिदि बहिनिहरुले ससम्मान हामीहरुलाई खाना खुवाउनु भयो। हामीहरु सबैलाई फेरि भेट्ने बाचासहित बिदावादी भई सुत्नतिर लाग्यौँ।

अर्को दिन हामी न्याकबाट यात्रा सुरु गरि डेङ हुँदै नामरुङ पुग्यौँ। जति माथि गयो त्यति रमणीय वातावरण देख्न सकिन्थ्यो। चेतनलाई अलि अलि लेक लागे जस्तो भएको थियो। उत्तमलाई बेलुकीको ह्याङ्गले छोडेको थिएन तर पनि उसलाई हिड्न चाहीँ खासै गाह्रो भएको थिएन।

हामीले चेतनलाई प्रसस्तै तातोपानी र नुनिलो खानेकुरा खुवायौं। बेलुकी हिमालको हिँउको कारण गाउँ वरपर झलमल उज्यालो देखिन्थ्यो। केही वर्ष पहिले सिङ्गापुरमा देखिएको उज्यालो मैले त्यहाँ बिना पैसा देख्न पाएको थिए। मलाई लाग्यो यो ठाउँमा त बत्तीको लागि विजुली नै नचाहिने रहेछ।

तर, त्यहाँको दुख कसले देख्ने। हामी एक दिन आउनेलाई त खुबै रमाइलो लाग्ने।अर्को दिन बिहानै उठेर हामी ल्हो मा खाना खान पुग्यौं। हिँडाइ र थकाइले होला जति जति माथि गयो उति उति खाना मीठो हुँदै थियो। उकालो ज्यादा हिँड्नुपर्ने भएकोले जिउचाहिँ गलेर फतक्क भएको। तर, पनि हिमाली जनजीवन, लालीगुराँस, वन्यजन्तु, तथा जडीबुटीको मीठो सुगन्धमा हिँड्नुको मज्जा नै बेग्लै। खाना खाएर हामीले त्यो दिन स्याला बजार बास बस्न पुग्ने सोँच बनायौं। ३।४ दिनको थकाइले गलिसेकेको जीउ जहाँ पनि थचक्क बस्न मन गर्थ्यो।

स्यालाबजारवाट मनास्लुको लोभलाग्दो दृश्य देख्न सकिन्थ्यो। प्रशस्त मात्रामा पर्यटकीय होटलहरु भएको स्यालाबजार बनेको खासै धेरै भएको छैन। मनास्लु यात्रामा पर्यटकहरु वढ्न थालेपछि त्यहा होटल बन्न थाले।  दलाई लामाका खम्वाहरु तिब्बतवाट भागेर आएर बसेपछि तत्कानिल शाही नेपाली सेनाले त्यहाँ गई उनीहरुलाई मारेको भन्ने खम्बा विद्रोह पनि प्रख्यात छ।

साँझ हिउ टल्केर मनास्लुमा नाकैमा ठोकिन खोज्दो रहेछ। मनास्लु, श्रृंगी, वौद्ध, हिमचुली, च्यो हिमालको छेउमा बसेर कफीको चुस्की लियौं। मानिसहरु हामीलाई देखेर मुस्कुराएर हिँड्थे.। किन हो थाहा छैन। तर, हामीलाई लाग्थ्यो कि उनीहरु साँच्चै मनका धनि छन। झारल, न्याउर, हिमाली भेडा, डाँफे, मुनाल कस्तुरी, घोरलहरु त हामीलाई नै जिस्क्याउने। फ्या मुसा हाम्रो खुट्टातिर दौडदै थियो। मनास्लु यात्राको रोमाञ्चकता सायदै शब्दबाट बयान गर्न सकिने खालको थिएन। 

हामी बिहान उठेर सामागाउँमा खाना खान पुग्यौं। झण्डै डेढ सय जति घरहरुको बस्ती थियो सामागाँउ तर जनसंख्या एकदमै पातलो। त्यस भन्दा माथि एउटा मात्र बस्ती साम्दो छ। अझ माथि धर्मशाला। त्यो वस्ती भन्दा पनि पर्यटकहरुकोे रुट भएकाले केही होटलहरु मात्र। नत्र बाँकी सबै हिमाल र अझ माथि पुग्दा चाइना भेटिने। बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता भएको सामागाँउमा अत्यन्तै आर्कषक ढंगले गुम्बाहरु बनाइएका थिए। घरहरु सबैजसो एकतलाको थिए  । तल भुइतलामा गाईवस्तु चौरी त माथिल्लो तलामा मान्छे बस्ने। भुकम्पले खासै असर नगरेको सामागाँउमा सबै उस्तै प्रकारका घरहरु र काठले छाएको छाना साच्चै मनमोहक थियो। मलाई लाग्थ्यो संसार त यस्तो पो हुनु जहाँ कोही कसैमा एक अर्काप्रति रिस, राग र प्रतिस्पर्धाको भावना छैन। छ त केबल हार्दिकता, एकता, सामाजिक सामन्जस्यता र हार्दिकता।  

हामी खाना खाएर साम्दोतर्फ लाग्यांै। त्यो साँझ जसरी पनि धर्मशाला पुग्नु पर्ने। तत्र अर्को दिन लार्के पास गर्न सकिदैनथ्यो। अत्याधिक हावा  र चिसोको कारण दिनको १२ बजे पछि लार्के पास गर्नै असंभव नै देखिन्थ्यो। यसमाथि हामीहरुसंग गाइड पनि थिएन। त्यहि बाट लार्के पास नगरी काठमाण्डौ फर्कन मन पनि थिएन। हामी दिउँसो ४ वजे तिर धर्मशाला पुग्यौ बास बस्नलाई। धर्मशालामा अत्याधिक चिसो थियो। त्यो साँझ हावाहुरी अत्याधिक चल्यो। आकाश धुम्म भएन, पानी परेन। हामीलाई मौसमले साथ दियो। साँझ खाना खाएर सबै जना एउटै कोठामा खाट जोडेर सुत्यौं। 

हामी बिहान ३ बजेतिर उठेर चिया खाजा खाएर हामीहरु ड्राइफुुड झोलामा बोकेर लार्केपासतिर अगाडि बढ्यौं। मौसम सोचेअनुरूप नै थियो। भाग्यले पनि साथ दिएको थियो। अघिल्लो दिन बिरामी भएको चेतन पनि सञ्चो भइसकेको थियो। हामी करिब १०ः३० तिर लार्के पास गर्न सफल भयौं। सबै साथीहरुमा एउटा खालको उमंग थियो। चुचुरोमा पुगेपछि केही सेल्फी, केही ग्रुप फोटो, केही सिङ्गल, केही भिडियो र टिकटक समेत बाँकी राखेनन् साथीहरुले। माहोल एकदमै रोमाञ्चित थियो। 

करिब ५१६० मिटर उचाइबाट हामी मनाङतिर लाग्यौँ। मिसन पूरा भएको उपलक्ष्यमा हामीले व्यागमा भएको चकलेट, पानी र चाउचाउ खाँदै भिमथााङतर्फ लाग्यौँ। विस्तारै ओरालो बाटो सुरु भएकाले साथीहरुलाई हिँड्न सजिलो भएको थियो तर पनि भीरबाट लड्यो भने चाही खोज्नै नगए पनि हुन्थ्यो किनकि त्यहाँ भेट्ने सम्‍भावना नै हुँदैनथ्यो। 

त्यहाँ फोन, फेसबुक, इन्टरनेट, इमेल कुनैपनि संञ्चारका माध्यमैले काम नगर्ने भएकाले ४/५ दिनदेखि कसैको फोन आएको थिएन। प्रकृतिसँग रमाउँदै हिँड्नुको तिर्खा युरोप, अमेरिकाले पनि पुरा गर्न सक्दैनथ्यो। हामी दिउँसो ३ बजे तिर भिमथाङ पुग्यौ। त्यहाँ पुगेर खाना खायौं। चामलको भात र सोयाविनको तरकारी खुब मिठो भयो  ।

काठमाडौंमा सोयाविन नखाने मलाई देखेर साथीहरू हाँस्दै थिए। मलाई घर परिवार र गोल्लुको खुब याद आएको थियो  तर पनि कुरा गर्न सम्‍भव थिएन। फेसबुकमा फोटो पोस्ट गर्न मन थियो सम्‍भव भएन। इमेल र नयाँ जानकारी लिन मन थियो मलाई त्यो पनि सम्‍भव भएन। सपना केही दिन देखि बिग्रेकाले मनमा अनेक कुराहरू खेल्दै थिए। साँझ रेडियो नेपालले सरकारले कोरोना भाइरसका कारण २ हप्तालाई लकडाउन भएको कारण कोही कसैलाई हिँडडुल गर्न नदिने घोषणा गर्‍यो। हामी त्यही विचलित भयौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.