सबैभन्दा बढी मलेशियामा

|

काठमाडौं : नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा बर्सेनि नेपाली नागरिक वैदेशिक रोजगारको लागि विदेश जाने गरेका छन्। विदेशमा गएका नेपाली कामदारको विप्रेषणबाट नेपालको अर्थतन्त्र धानेको अवस्था छ। वैदेशिक रोजगारमा गएका नेपाली कामदारको मृत्युको ग्राफ पनि उक्लँदो छ। १२ वर्षको अवधिमा आठ हजार बढी नेपाली कामदारले विदेशको भूमिमा ज्यान गुमाएका छन्।

वैदेशिक रोजगारमा जाने कामदार बढेसँगै यस क्षेत्रमा संलग्न निकायहरूको संख्या पनि बढ्दै गएको छ। तर, सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई सुरक्षाको प्रत्याभूत गराउन सकेको छैन। श्रमिकको दुर्घटना जोखिम न्यूनीकरणमा पहलकदमी चालिएको खासै देखिँदैन।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७६/७७ सम्म आइपुग्दा आठ हजार ९६ कामदारको मृत्यु भएको छ। चालु आर्थिक वर्षमा २०७६/०७७ मा ६ सय २४ कामदारको मृत्यु भएको छ।

आर्थिक वर्ष २०६५/६६ मा ७७, आव २०६६/६७ मा ४१९, आव २०६७/६८ मा ५६५, आव २०६८/६९ मा ६४६ र आव २०६९/७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन्। त्यसैगरी, आव २०७०/७१ मा ८७६, आव २०७१/७२ मा एक हजार ७, आव २०७२/७३ मा ८१३, आव २०७३/७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७५३ र २०७६/०७७ ६ सय २४ नेपालीले विभिन्न देशमा ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ।

सबैभन्दा बढी मलेसियामा २ हजार ७ सय २२ युवाले ज्यान गुमाएका छन्। साउदी अरेबियामा २ हजार ९३, कतारमा एक हजार ४ सय ९४, संयुक्त अरब इमिरेट्स् (युएई) मा ६ सय ५९ र अन्य मुलुकमा ७ सय १ जना नेपाली कामदारको मृत्यु भएको छ।

विदेशी भूमिमा कामदारले अनाहकमै ज्यान गुमाउने गरेका छन्। अधिकांश कामदारको सुतेको अवस्थामा मृत्यु हुने गरेको बताइएको छ। हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु हुने गरेको छ।

जोखिमयुक्त काममा नेपाली कामदार बढी

मलेशिया तथा खाडी मुलुकमा जाने अधिकांश कामदार अदक्ष हुने हुँदा अरूको तुलनामा यी मुलुकमा मृत्यु हुनेको संख्या बढी रहेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले बताए। नेपाली श्रमिक विदेशमा जोखिमयुक्त काम गर्न बाध्य हुन्छन् तर, कामअनुसारको सावधानी अपनाउन तथा कामदारलाई काम अनुसारको प्रशिक्षण दिने काम नभएको उनले जानकारी दिए।

‘वैदेशिक रोजगारीको क्षेत्रमा यो गम्भीर चुनौती हो,’ सुवेदीले भने। के कारणले विदेशको भूमिमा  कामदारले ज्यान गुमाइरहेका छन् त्यसको भने अध्ययन गरिनुपर्ने उनको भनाइ छ। ‘मृत्युदर घटाउन अनुसन्धानमार्फत यसको प्रमुख कारक पत्ता लगाउनुपर्छ तर, त्यसका लागि अध्ययन नै सुरु भएको छैन,’ सुवेदीले भने।

नेपाली कामदारलाई सचेतनामूलक कार्यक्रम

वैदेशिक रोजगारको क्रममा धेरै नेपाली कामदारको सामान्य अवस्था, बिरामी र सडक दुर्घटना तथा कार्यस्थलमा पनि बढी हुने गरेको छ। न्यूनीकरणको लागि नेपालमा कामदारलाई सम्बन्धित देशको नियम कानुन र कामसम्बन्धी अभिमुखीकरण दिएर पठाउनलाई वैदेशिक रोजगार बोर्ड र श्रम विभागलाई निर्देशन दिइसकेको श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए।

मृत्यु भएका कामदार अधिकांश बाहिर काम गर्नेहरू रहेका प्रवक्ता घिमिरको भनाइ छ। घिमिरेले भने, 'मृत्यु बढेको कारणले पनि कामदारको सीपमा ध्यान दिएर पठाउने गरिएको छ। विदेशमा रहेका कामदारको लागि अहिले तीन कुरामा ध्यान दिएको छ। सुरक्षित, मर्यादित र व्यवस्थित हुनुपर्ने छ।'

सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले कामदारको सुरक्षाको लागि विभिन्न समयमा तालिम, स्वास्थ्य सचेतनासम्बन्धी पनि काम गरिरहेको उनले बताए।

मृत्युको कारण पहिचान नगरिँदा समस्या

विदेशको भूमिमा नेपाली कामदारको मृत्युको कारण नेपाल सरकारले पत्ता लगाउन नसक्दा सबैभन्दा बढी समस्या भएको वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन्। उनका अनुसार मृत्यु र दुर्घटना न्यूनीकरण होस भन्नका लागि कारण पत्ता लगाउनुपर्छ। त्यसपश्चात नेपाली कामदारलाई श्रम सम्झौता भएकोले नेपाली कामदारको सम्पूर्ण सुरक्षाको व्यवस्था गरिनुपर्छ।

'सरकारले श्रम सम्झौता गर्दा कामदारको मृत्यु भएमा कम्पनीले कामदारको पोष्टमार्टम गरिने सम्झौता गरिनुपर्छ,'डा. गुरुङले भने,' नेपाल सरकारले विदेशमा मृत्यु भएको नेपाली कामदारको सही कारण पत्ता लगाउन सकेको छैन। मृत्युको कारण हृदयघात हो भनेको छ त्यो मात्र होइन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.