'क्‍वारेन्टाइन अभाव छ, खालि चौरमा पाल बनाएर भए पनि राखेका छाैं'

|

दैलेख : १० वटा जिल्ला रहेको कर्णालीमा अन्य प्रदेशभन्दा केही समयपछि मात्र कोरोनाका बिरामी फेला परे। त्यसमाथि प्रदेशका अन्य जिल्लाभन्दा दैलेखमा बढी मात्रामा संक्रमित भेटिए। 

भारतबाट आउने नागरिकको संख्या बढ्दै गएका बेला जिल्लाको महाबु गाउँपालिकाले ती नागरिक कसरी व्यवस्थापन गरेको छ ? कोरोना महामारीमा विकासका काम कसरी अगाडि बढेका छन् ? रोजगारी गुमाएका युवालाई कसरी व्यवस्थापन गरिँदै छ ? यी विषयमा रहेर महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीसँग थाहाकर्मी उदयराज अधिकारीले गरेको कुराकानीको सम्पादित अंश 

गाउँपालिकाले बाहिरबाट आएका नागरिकलाई कसरी व्यवस्थापन गरेको छ ? 

भारतबाट २२ सय बढी नागरिक महाबु भित्रिएका छन्। उनीहरुको व्यवस्थापन गाह्रो भए भएको छ। पहिले २ सय जना अट्ने आइसोलेसन तयार भए पनि बाहिरबाट आउनेको संख्या वृद्धि भएकाले समस्या भएको छ। 

गाउँपालिकाका सबै विद्यालयलगायत २४ ठाउँमा क्‍वारेन्टाइन निर्माण गरेका छौँ। विद्यालयले मात्र नपुगेका कारण ५० वटा टेन्टमा ४ सय बढीलाई राख्न क्‍वारेन्टाइन बनाएका छौँ। टेण्टमा पनि नपुगेपछि खालि चौरमा पनि पाल बनाएर राखेका छौँ। 

गाउँपालिकाले केही गरी व्यावस्थापन गरेको भएपनि स्वास्थ्य चेकजाँचमा समस्या भएको छ। जिल्लामा स्वास्थ्य जनशक्ति कम भएकाले समस्या हुन सक्छ।गाउँपालिकाले ल्याबका कर्मचारी राखेर चेक जाँचलाई अगाडि बढाएको छ। बाहिरबाट आएकाको स्वाब परीक्षणमा ढिलाइ भएकाले केही समस्या भएको छ। 

पिसिआर पोजेटिभ आएका र आरडिटी पोजेटिभ आएकालाई आइसोलेसनमा छुट्टै राखेका छौँ। स्थानीय सरकार सकिनसकी नागरिकको व्याबस्थापनमा लागेको छ। प्रदेश र केन्द्र सरकारले गर्ने चेकजाँचमा मापडण्ड नमिलेको पनि देखिन्छ। 

कोरोना महामारीका बीच विकासका काम चै कसरी बढेको छ ? 

महाबु गाउँपालिकाले विकास निर्माणका काम लकडाउन हुनुभन्दा अघि ९० प्रतिशत सम्पन्न गरेको छ। प्रदेश र केन्द्रका योजना टेन्डर प्रक्रिया लकडाउनमा सुरु हुने थिए। लकडाउनले केही योजना ओझेलमा परेका छन्। 

कोरोनाका कारण विकासका काममा केही असर परेको भए पनि भौतिक दूरी बनाएर काम भइरहेका छन्। लकडाउनका कारण विकासे कामका लागि सामान नपाउने भएकाले पनि समस्या छ। तर अहिलेको प्राथमिकता भनेको कोरोना महामारी अन्त्य गर्नु हो। 

कोरोना व्यवस्थापनमा कति खर्च भयो ? 

अहिले नै यति खर्च भयो भन्ने पूरा विवरण आइसकेको छैन। यो महामारीमै भएकाले मोटामोटी हिसाब गर्दा दुई करोड जति खर्च भएको अनुमान गरिएको छ। १४ दिन क्‍वारेन्टाइन बसालेको समय हुँदा पनि स्वास्थ्य सामग्री पाउन सकिएन, गाउँपालिकाले आफैं खरिद गर्‍यो। 

स्वास्थ्य क्षेत्रका जनशक्ति नपाएकाले समस्या छ। गाउँपालिकाले १२ सय बढी किट खरिद गरेर परीक्षणको दायरा बढाएको छ। १ हजार किट मगाएका छौँ। अहिलेसम्म महाबुका २२ बढी नागरिकमा कोरोना परीक्षण भएको छ। 

कोरोनाका कारण रोजगारी गुमाएका जनशक्तिलाई कसरी व्यवस्थापन हुँदै छ त ? 

अहिलेको बजेट कृषि व्यावस्थापनमा गर्ने छौँ। स्वास्थ्यका क्षेत्रलाई पनि प्राथमिकतामा राख्ने छौँ। कोरोना छिटै निर्मुल नहुने भएकाले नागरिकलाई पहिले कोरोना जाँचपछि अन्य रोगको जाँच गरिने छ। विकासका काम श्रममा आधारित हुनेछन्। गएको वर्ष कार्यविधि बनाएका छौँ। 

प्रत्येक वडाका बेरोजगार विपन्न युवालाई कृषि पेसामा आबद्ध गर्न विशेष पहल गर्ने योजना छ। केही युवालाई पशुपालन व्यावसायमा लगाएर रोजगारी दिइने छ। जडिबुटी व्यवसायमा पनि युवा जनशक्तिलाई लगाइने छ। 

स्थानीय सरकारहरु कोरोना व्यवस्थापनमा चुकेका छन् भनिन्छ नि ?  

गलत। अहिलेको महामारीमा सहरमा भन्दा गाउँमा मान्छे आएका छन्। व्यवस्थापनमा स्थानीय सरकार रातदिन नभनी लागेका छन्। १० दिन भयो राम्रोसँग सुत्न पनि पाएको छैन। व्यवस्थापनमा जनप्रतिनिधि आफैं खटेका छौँ। तीन तहका सरकारले के काम गर्ने भन्ने बाँडफाँट हुनुपर्छ। प्रदेश सरकारले हजारभन्दा बढी क्‍वारेन्टाइन सुर्खेतमा निर्माण गरेको तर तर नागरिक क्‍वारेन्टाइनमा बसेका छैनन्। 

एक स्थानीय तहले करिब ३२ सय जनालाई व्यवस्थापन गर्ने कुरा सामान्य होइन। स्थानीय सरकार क्षमताले भेट्टाएसम्म काम गर्दै आएका छन्। कोरोना व्यावस्थापनमा स्थानीय सरकारभन्दा पनि प्रदेश सरकार चुकेको हो। 

प्रदेश सरकारले के गर्नुपर्थ्याे त ?

प्रदेश सरकारले भारतबाट आउनेलाई नाकामा कोरोना परीक्षण गरेर पठाएको भए मात्र पनि अहिले कोरोना गाउँ पुग्ने थिएन। नागरिकलाई रातारात गाउँ पठाउनुभन्दा कोरोना पोजेटिभलाई उतै राख्ने र नेगेटिभलाई पठाएमा राम्रो हुन्थ्यो। 

नागरिक पठाउने नाममा विश्व स्वास्थ्य संगठनको सामान्य मापडण्डलाई पूरा नगरेर एकै बसमा १ सय देखि २ सय नागरिक कोचेर पठाइयो, एक जनामा संक्रमण भए पनि धेरैलाई सर्‍यो।

समस्या बढाउनुभन्दा पनि समाधानतिर लागेको भए हुनेथियो। तीनै तहका सरकार मिलेर नेपालमा कोरोना उन्मुलन गर्नतिर लाग्नु पर्ने देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.