|

बैतडी : भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीमा हालसम्म ९ हजार ५ सय बढी व्यक्ति क्‍वारेन्टाइनमा बसिसकेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ९ हजार ५ सय २१ जना क्‍वारेन्टाइनमा बसेर फर्केका हुन्।  

जसमध्ये ४ हजार १ सय ५० जना अझै क्‍वारेन्टाइनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए। हाल क्‍वारेन्टाइनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए। 

उनीहरुको कोरोना परीक्षण भइरहेको र परीक्षणपश्चात् घर पठाइने जनाइएको छ।यसैबीच बैतडीमा हालसम्म ६ हजार ९ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा ६ हजार ३ सय ८४ जनाको आरडिटी विधिबाट गरिएको हो भने ५ सय ९३ जनाको स्वाब निकालिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

जसमा आरडिटी गरिएकामध्ये ५ हजार ८ सय ५५ जनाको नेगेटिभ र ५ सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।आरडिटी पोजेटिभ देखिएकाको पिसिआर रिपोर्ट आउन बाँकी छ। 

यस्तै पिसिआर विधिबाट गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको छ। जिल्लाका सबै स्थानीय तहमा गरेर १ सय ९६ स्थानमा ६ हजार २ सय ३९ बेडका क्‍वारेन्टाइन स्थापना गरिएका छन्। 

बैतडीमा गत चैत ११ गतेदेखि क्‍वारेन्टाइनमा राख्न सुरु गरिएको थियो। भारतबाट फर्किनेको क्रम नरोकिँदा तथा समयमै पिसिआर परीक्षण रिपोर्ट नआउँदा क्‍वारेन्टाइन व्यवस्थापनमा चुनौती देखिएको छ।

१४ दिनको क्‍वारेन्टाइन बसाइपछि आरडिटी परीक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ। प्रदेशमा एक मात्र धनगढी प्रयोगशाला पिसिआर परीक्षण गरिने भएकोले समयमै रिपोर्ट नआउँदा क्‍वारेन्टाइन बसाइ लम्बिने गरेको छ।

नमुना पठाएको १ हप्तापछि मात्रै रिपोर्ट आउने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। प्रदेश सरकारले गत चैतमा धनगढीसहित बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। धनगढीमा स्थापना भए पनि बैतडी र डोटीमा भने अझै प्रयोगशाला स्थापना हुन सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.