|

तनहुँ : सरकारले गरेका गतिविधि सुधारको माग गर्दै शुक्रबार दमौलीमा प्रदर्शन गरिएको छ। दमौलीका युवाले कोभिड-१९सँग जुध्नका लागि सरकारले अपनाएको नीति सुधार गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। सदरमुकाम दमौलीमा इनफ इज इनफ ग्रुप ‘अब त अति भयो’ समूहका सदस्यहरूले सफा सडकमा प्लाकार्डसहित विरोध प्रदर्शन गरेका थिए।

बिहान १० बजे सडकमा प्लाकार्डसहित उत्रिएका युवाले सरकारी बजेट अनियमितता भएको, पिसिआर जाँचमा ढिलाइ भएको, लामो समयको बन्दाबन्दीले जीवन असहज भएको, सांसदलाई दिइएको बजेट, फजुल खर्च लगायतको विषयमा विरोध गरेका छन्। करिब एक घण्टा सडकमा प्लाकार्ड र नेपाली झण्डासहित उत्रिएकामा अधिकांश किशोरावस्थाका रहेका थिए।

सरकारले अहिलेको समस्यासँग जुध्न नसकिरहेको अवस्थामा राजधानीबाट सुरु आन्दोलनको हिस्साअन्तर्गत दमौलीमा प्रदर्शन गरिएको एक अगुवा अविनाश अधिकारीले बताए। सरकारलाई शान्तिपूर्ण दबाब दिएर सही बाटोमा लगाउन आन्दोलन गरेको उनको भनाइ छ। आन्दोलनकारीले मौन रुपमा प्रदर्शन गरेका हुन्।

८० दिन लामो समय गरिएको बन्दाबन्दीले सरकारले कोभिडका संक्रमित घट्नुपर्ने हो तर पिसिआर गर्नसमेत सकेको छैन सबैको, छिटो र सहज बनाउन सक्नुपर्छ, सरकारले गम्भीरतापूर्वक नलिदा दबाब दिएको सहभागीहरु बताउँछन्। स्वतः स्फुर्त रूपमा देशैभर प्रदर्शन गरिएकाले दबाब पुग्ने आशा गरिएको उनीहरूको भनाइ छ।

सहभागी अधिकांश युवा सामाजिक सञ्जालमार्फत भेला भएका थिए। छोटो समयको सरसल्लाहबाट नै सबै जम्मा भएर प्रदर्शन गरिएको उनीहरूको भनाइ छ। ‘फेसबुकमार्फत बनेको समूहले कुराकानी गरेर छोटो समयमै हामी जम्मा भएका हौं,’ सहभागी केसिका श्रेष्ठले भनिन्। ट्राफिक चोकबाट सुरु सडक प्रदर्शन सहभागीको संख्या बढेपछि व्यास नगरपालिकाको कार्यालय अगाडिसम्मको सडकका दुवै भागमा युवा विभिन्न नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरेका थिए। उनीहरूले सो क्रममा पञ्जा र मास्क लगाएर दूरी व्यवस्थापन आफैँ गरेका थिए।

नाराबाजी नगरीकन मौन प्रदर्शन गरेका युवाले अन्तिममा राष्ट्रगान पश्चात प्रदर्शन समापन गरेका थिए। अधिकांश नयाँ अनुहार भेटिएको प्रदर्शनमा सहभागी सबैजसो विद्यार्थी थिए। आगामी दिनमा पनि सरकारका नीति परिवर्तन नभएमा फेरि प्रदर्शन मार्फत दबाब दिने उनीहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.